Comments Add Comment

वाग्मती किनारमा रोकिएका मजदुरको दुखेसो-सबैले घर हिँड्नेको मात्र पीडा देख्छन्

७ वैशाख, काठमाडौं । काठमाडौंमा दिनहुँ पानी पर्न थालेको छ । वाग्मती खोला किनारको छाप्रोमा बसेका जाजरकोटका यज्ञबहादुर सिंहलाई आकाश कालोनीलो हुनेबित्तिकै रात कसरी बिताउने भन्ने चिन्ता हुन्छ । बिहीबार बिहान असिना पर्दा उनले छानो हालेको त्रिपालमा प्वाल परेको छ ।

यो छाप्रोमा उनीसँगै रुकुम र जाजरकोटका ७ जना बस्छन् । लकडाउनका कारण काम गर्न नपाउँदा खल्तीमा पैसा छैन । खानेकुरा किन्न पैसा नहुँदा भोकै पर्ने चिन्ता छ । त्यसमाथि दिनदिनको हावाहुरी र वर्षाले थप पीडा दिएको छ ।

वाग्मती सुन्दर बनाउने काम गर्न यज्ञबहादुर र उनका साथीहरू चैत ७ गते काठमाडौं आइपुगेका थिए । रात दिन काम गर्नुपर्ने भएकाले वाग्मती नदी किनारमै ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले छाप्रो बनाइदिएको थियो, उनीहरू यहीँ बसे ।

उनीहरू वाग्मती सौन्दर्यीकरण अन्तर्गत पुल बनाउने काममा सहभागी थिए । चैत ८ देखि काम सुरु गरे । काम सुरु गरेको दुई दिनमै लकडाउन सुरु भइहाल्यो ।

यज्ञबहादुरलाई लागेको थियो, दुई/चार दिनमा लकडाउन खुल्छ र फेरि काम अनि काम सुरु हुन्छ । हेर्दाहेर्दै लकडाउन भएको पनि २७ दिन बितिसक्यो । दुई दिन काम गरेको पैसा पाए पनि केही दिनको खर्च टर्ने आशा थियो उनीहरूको तर ठेकदारले दिएको छैन ।

सँगै काम गर्ने दुई जना कोठा भाडामा लिएर बसेकाले कोठामै गए । यो सहरमा अपरिचित भएकाले उनीहरू यही छाप्रोमा रोकिए, यही छाप्रो पनि छाडे बेवारिसे हुने पक्का छ ।

यज्ञबहादुरलाई लकडाउनअघि नै घर नगएकामा अहिले पछुतो लागेको छ । दोलखामा काम गर्ने उनका गाउँका साथीहरू घर पुगिसके। उनले अलि समय काम गरेर पैसा कमाएपछि जाने सोचाइ बनाएका थिए ।

‘साथीहरू घर पुगे । आफू यता बेकाम भएर बस्नुपरेको छ,’ उनले आफनो व्यथा सुनाए ।

यज्ञबहादुरलाई पनि घर जाने सोचाई नआएका होइन । तर, उनको घर जान गाडी चढेर जाँदा पनि चार दिन लाग्छ । हिँडेर जाने त कल्पनै गर्न सकेनन् । उता परिवारले चिन्ता गरिरहेको छ । यता आफू निरास छन् ।

‘म घर पुगेमात्रै पनि छोराछोरी खुसी हुन्छन् । अहिले त कमाइभन्दा नि छोराछोरीले मेरो बा बाँचेर आए भन्थे । पैसा त बाँचे फेरि कमाएर लान्छु’ उनी भन्छन् ।

यज्ञको छेउमै टुसुक्क बसेका जाजरकोटका गोपालबहादुर बस्नेत लकडाउन खोल्नेबित्तिकै घर जाने सोचाइमा छन् । लकडाउन नभएको भए उनी यतिबेला मलेसिया पुगेर काम गरिरहेका हुन्थे ।

उनको फ्लाइट फागुन २५ गतेको थियो । तर, काठमाडौं आएको दुई दिनपछि थाहा भयो कि मलेसिया जाने फ्लाइट क्यान्सिल भयो ।

‘विदेश जाने टुंगो नभएपछि गाउँ फर्कनुभन्दा यतै दुई चार दिन काम गर्छु भनेर आएँ, आएदेखि अड्केर बसेको छु’ गोपालले भने । अहिलेसम्म उनीहरूले खान त जसोतसो पाएका छन् । बास राम्रो छैन । दुईवटा छाप्रोमा सात जनालाई सुत्न पुग्दैन ।

लकडाउन भएकाले बाहिर निस्कन पाइँदैन । दिनभरिको चर्को घाममा टहरोमा बस्न सक्दैनन् उनीहरू । राति पानी पर्दा चिसो भुइँमा सुत्न सक्दैनन् ।

लकडाउनभरि अलि भरपर्दो बस्ने ठाउँ र खानेकुरा पाए हुन्थ्यो उनीहरूलाई । लकडाउन खुलेपछि त घर जाने सोचाइमा छन् ।

वाग्मती सौन्दर्यीकरण परियोजना अन्तर्गत कालिका कन्स्ट्रक्सनको जिम्मा लिएको काममा सहभागी मजदुर बस्न सुरुमा १० वटा छाप्रो बनाइएको थियो । धेरै छाप्रोका मजदुर ठेकेदारले नै उद्धार गरेर घर पठाइदिएको छ । अहिले क्याम्प शून्य, क्याम्प ६ र ७ मा बस्ने कामदार मात्र बाँकी छन् ।

‘अरु क्याम्पमा बसेकाहरूलाई लकडाउनको अघिल्लो दिन रातरात घर जाने व्यवस्था गरिदिए । हामी रुकुम जाजरकोटको मान्छेलाई टाढा भनेर वास्ता गरेन’ गोपालले दुखेसो गरे ।

‘हामीलाई न काम गरेको पैसा दिएको छ । यस्तो महिनाजस्तो (लामो) दिनमा कसरी बसेको छ भनेर न ठेकेदारले सोध्छ, न कम्पनीले । हामी विकट ठाउँको भनेर सबैले हेपेको होला’ गोपाल आक्रोशित भए ।

वाग्मती किनारमा लकडाउनपछिका २६ दिन कटाएका उनीहरूले अझै कति दिन यसैगरी बिताउनुपर्ने हो कुनै टुंगो छैन । ‘सबैले घर हिँडेकाहरूको मात्रै पीडा देख्छन् हाम्रो पीडा देख्दैनन्,’ भैरहवाका हिरा पुनले भने ।

उनीहरुले अहिलेसम्म त जसोतसो खाएकै छन् । लकडाउनअघि ठेकेदारले किनेर ल्याइदिएको खाद्यान्न सकिएको छ । त्यसपछि एक पटक राहत बोकेको गाडी छाप्रोसम्म आयो, त्यही राहत अहिलेसम्म खाँदै छन् । ठेकेदारले खानेकुरा सकिए अब वडा कार्यालयमा सम्पर्क गर्नु भनेको छ ।

काठमाडौंका लागि बिरानो उनीहरूले वडा कार्यालय कहाँ छ देखेका छैनन् । अहिलेसम्म खानेपानी उधारोमा ल्याएर खाइरहेका छन् । व्यापारीले कति दिनसम्म दिन्छ भन्ने थाहा छैन । ‘टहरोमा बनाएर खाम भने चियापत्तिसम्म छैन’ हिरा पुनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment