Comments Add Comment

हिमाली भेगका १४ जिल्लालाई चीनले दिने भनेको निर्माण उपकरण रोकियो

७ वैशाख, काठमाडौं । चीन सरकारले नेपालका चीनसँग सीमाना जोडिएका १४ जिल्लाका स्थानीय तहलाई सडक निर्माणका लागि उपलब्ध गराउने भनेको निर्माण उपकरण चालु आर्थिक वर्षका लागि रोकिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार तिब्बत परराष्ट्र कार्यालयका महानिर्देशक र तिब्बतस्थित नेपाली महावाणिज्यदूतबीचको वार्तामा चीन सरकारले यसवर्ष निर्माण उपकरण उपलब्ध गराउन नसक्ने जानकारी गराएको छ । सोहीअनुसार १४ जिल्लालाई निर्माण सामग्री प्राप्त नहुने भएको हो ।

तिब्बत सरकारले चीनसँग सीमाना जोडिएका १४ जिल्लालाई सडक निर्माणको प्रयोजनका लागि एक/एक वटा एस्काभेटर उपलब्ध गराउने सम्झौता भएको थियो ।

तर, कोभिड-१९ का कारण चीन सरकारको वैदेशिक सहयोगका प्राथमिकता नै परिवर्तन गर्नुपरेका कारण सहयोग रोक्नु परेको जानकारी तिब्बत सरकारले गराएको छ ।

सबै आयोजनाबाट अब सहयोग कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुनुपर्ने भएकाले उत्तरी जिल्लालाई निर्माण सामग्री सहयोग नआउने भएको हो ।

चीन सरकारले ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका, संखुवासभाको सभापोखरी र दोलखाको बिगु गाउँपालिकालाई निर्माण सामग्री दिने सम्झौता भएको थियो ।

यसैगरी, सिन्धुपाल्चोकको जुगल गाउँपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका, धादिङको रुवीभ्याली गाउँपालिका र गोरखाको चुमनुब्री गाउँपालिकाले समेत उपकरण प्राप्त गर्ने सहमति थियो ।

मनाङको नार्पाभूमि, मुस्ताङको लोमन्थाङ, बझाङको तालकोट गाउँपालिका पनि यो सूचीमा थियो। डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका, मुगुको मुगुम कार्मारोङ गाउँपालिका र हुम्लाको नाम्खा गाउँपालिकाले पाउने भनेका सहयोग समेत रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment