Comments Add Comment
लकडाउनमा प्रसूति :

प्रसूति अस्पतालका निर्देशक भन्छन्– सुत्केरीको संख्या घट्यो

८ वैशाख, काठमाडौं । जन्म र मृत्यु समस्त प्राणी जगतको नियमित प्रक्रिया हो । सरकारले लकडाउन घोषणा गरेको छ भन्दैमा गर्भमा रहेको शिशुले प्रकृतिको नियम उल्लङ्घन गर्न सक्दैन । सुरक्षित जन्मन पाउनु शिशुको नैसर्गिक अधिकार हो ।

तथापि, सरकारले घोषणा गरेको लकडाउनको मारमा गर्भवती आमाहरू पर्ने नै भए । सहजरुपमा सवारी साधन/एम्बुलेन्स उपलब्ध नहुने भएकाले गर्भवतीलाई अस्पतालसम्म पुग्न अप्ठ्यारो परेको छ ।

काठमाडौंमा सुत्केरी गराउने अस्पतालमध्ये परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल सबैभन्दा ठूलो र पुरानो मानिन्छ । यस अस्पतालमा लकडाउनपछि कम्तीमा दैनिक १० जना सुत्केरी हुन आउनेहरूको संख्या घटेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक प्रा.डा. जागेश्वर गौतमका अनुसार लकडाउनका बेला सुत्केरी गराउन आउनेहरूको संख्या औसतमा दैनिक १० जना घटेका छन् ।

प्रा.डा. गौतम भाइरोलोजिस्ट होइनन् । तथापि अनलाइनखबरसँगको अन्तर्वार्तामा उनले गर्भवती र सुत्केरी महिलामा हुने कोरोनाको जोखिमका सम्बन्धमा पनि केही जानकारी दिए । सुरक्षित रुपमा आमाले दूध चुसाउँदा शिशुमा कोरोना संक्रमण नहुने डा. गौतमले दाबी गरे ।

प्रस्तुत छ प्रा.डा. गौतमसँग अनलाइनखबरका लागि विश्वास खड्काथोकीले गरेको कुराकानीको सम्पादित अंश–

लकडाउनका बेला प्रसूतिगृहमा सुत्केरी गराउन आउनेहरूको संख्या कस्तो छ ?

हाम्रो त ओपीडी पनि बन्द गर्न मिल्दैन । त्यसैले अत्यावश्यक ओपीडी सेवा खुला गरेका छौँ । नियमित जाँचका लागि दैनिक आठ सय बिरामी हाम्रो अस्पतालमा आउँथे । तर, अहिले औसतमा ६०/७० जना आउने गरेका छन् । दैनिक ९० जनासम्मको डेलिभरी गराउँथ्यौँ, अहिले आएर ५० को हाराहारीमा आएका छन् । यो लकडाउनमा हाम्रो कामको चाप घटेको छ ।

लकडाउनमा सुत्केरी गराउन अस्पताल आउनेहरू किन घटे ? तपाईंसमक्ष यसबारे के सूचना आएको छ ?

दैनिक ६०/७० जना सुत्केरी हुने ठाउँमा ५० जनाको औसतमा भएको छ। सुत्केरी हुने महिलाको संख्या कम्तीमा १० जना घटेको छ । उनीहरूले कोहीले कि त घरैमा डेलिभरी गरे, या कोही अस्पतालसम्म आइपुग्न सकेनन् । तर, यो संख्या केही दिनमा बढ्नेवाला छ ।

किनकी, काठमाडौंमा कोभिड पोजेटिभको संख्या बढ्ने बित्तिकै पाटन र टिचिङ अस्पतालमा सुत्केरी हुनेहरू सबै यहीँ आउँछन्। कोरोनाकोको उपचार हुने भनेपछि त्यहाँ बिरामी जाँदैनन् । डेलिभरीको अन्तिम गन्तव्य यहीँ हो ।

प्रसुति गृह भनेको डेलिभरीको उपयुक्त ठाउँ हो । २५ वर्ष पहिले पनि वर्षमा १८ हजार आमाको डेलिभरी हुने अस्पताल हो यो । यो अस्पताल २४ घण्टा खुला हुन्छ । सस्तो छ । अप्रेसन गर्दा पनि पैसा लाग्दैन र फर्किँदा गर्भवती आमाले दुई हजार रुपैयाँ बाटो खर्च पनि लिएर जान पाउँछिन् । हामीले जस्तोसुकै अवस्थामा पनि अहिलेसम्म अस्पताल बन्द गरेका छैनौँ । हामीले सुरक्षित साथ नै सुत्केरी गराउँछौँ ।

अहिले कोरानाको त्रास र लकडाउनका बेला परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले कसरी काम गरिरहेको छ ?

हामीले सामान्यतया तीन चरणको सावधानी अपनाएका छौँ । पहिलो– सोसल डिस्टान्सिङ । एक मान्छेदेखि अर्को मानिसको दुरी कम्तीमा एक मिटर हुनुपर्छ । ताकि संक्रमितबाट थुकको छिटा अर्को मान्छेमा डाइरेक्ट कन्ट्रयाक्ट नभएर भुइँमा झरोस् । र, दोस्रो– धात धुने । अहिले हामीले दुईमध्ये एउटा मात्र गेट सञ्चालनमा ल्याएका छौँ । गेटबाट छिर्ने बित्तिकै दुईवटा धारा र साबुनको व्यवस्था गरेका छौँ । भाइरस भनेको फ्याटी पार्टीकल हो, जुन साबुनपानीले मात्र जाने गर्छ । या, डिटरजेन्ट नै चाहिन्छ । एउटा बिरामीलाई छोएपछि तत्कालै अर्को बिरामीसम्म पुग्नुपर्छ । त्यस्तो अवस्थामा साबुनपानीने हात धुने सम्भावना नभएको अवस्थामा सेनिटाइजरको प्रयोग गर्छौँ । सेनिटाइजर हामीले आफैँ उत्पादन गरिरहेका छौँ । बिरामीलाई पनि सेनिटाइजर दिने गरेका छौँ ।

हामीले चिकित्सिक, नर्सहरूलाई पनि नडराउनका लागि विभिन्न उपाय अपनाएका छौँ । त्यसका लागि स्टाफहरूलाई तालिम दिइरहेका छौँ । मास्क र सेनिटाइजर प्रयोगमा प्रोत्साहित गरिरहेका छौँ । ज्वरो आएका बिरामीको उपचार गर्नु परेमा वाटरप्रुफ ड्रेसको व्यवस्था गरेका छौँ । सुत्केरीका लागि देशकै सबैभन्दा ठूलो अस्पताल यही हो । भोलि आवश्यक पर्‍यो भने यहाँ कोरोना संक्रमित गर्भवतीलाई सुत्केरी गराउने व्यवस्था छ कि छैन ?

गर्भवतीमा कुनै पनि जटिलता आएमा हामीकहाँ नै आउने हो । काठमाडौंमा फटाफट कोभिड पोजेटिभ देखिन थाल्यो भने सुत्केरी हुने अस्पताल यही हो । जहाँ कोभिडका लागि भनेर बनाइएको अस्पताल छन् त्यहाँ डेलिभरी हुँदैन । र, त्यो सम्भव पनि छैन । त्यसैले त हाम्रो केन्द्रीय अस्पताल हो ।

संसारका सबैभन्दा बढी सुत्केरी हुनेमध्ये पाँचौं स्थानमा यो अस्पताल पर्छ । यत्रो ठूलो अस्पतालमा कोभिडको डेलिभरी नहुने त कुरै भएन । त्यसका लागि हामीले तीन हप्ताअगाडि नै छुट्टै अस्पताल र लेभर रुम तयार पारिसकेका छौँ । यहाँ अप्रेसन गर्न चाहिने लाइट, पीपीई(पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट), हात धुने व्यवस्था, अप्रेसनपछि बाहिर निस्कनुअघि नुहाउने व्यवस्था गरेका छौँ ।

कोभिड पोजेटिभ भएको बिरामी पनि हामीकहाँ सुत्केरी गराउन आउन सक्नुहुन्छ । यद्यपि अहिलेसम्म कोभिड पोजेटिभको एउटा पनि प्यासेन्ट आउनुभएको छैन ।

कोरोना संक्रमित कति जनासम्मको सुत्केरी गराउन सक्ने गरी तयारी गर्नुभएको छ ?

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपस्थित सेवाग्राही

कुन दिन कोभिड पोजेटिभको केस आउँछ भन्ने थाहा हुँदैन । त्यसैले हामीले तीन हप्ताअघि नै यसको तयारी गरेको थियौँ । हामीले तीन वटा बेड तयार गरेका छौँ । डेलिभरीपछि जब आमा हिँडडुल गर्न सक्ने हुन्छिन्, त्यसपछि उनलाई घर पठाउनुको सट्टा कोरोनाको उपचार हुने अस्पतालमा पुर्‍याउँछौँ ।

संक्रमित आमाको गर्भमा रहेको बच्चा वा नवजात शिशुलाई कत्तिको जोखिम हुन्छ ?

कोभिड पोजेटिभ भएकी आमाले बच्चा पाएमा बच्चालाई छुनुअघि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ वा सेनिटाइजर प्रयोग गर्नुपर्छ । मास्क लगाउनुपर्छ । तर, आमाले दूध चुसाउन सक्नुहुन्छ । किनकी आमाको दूधबाट कोरोना सर्दैन । मुख्यतया कोरोना श्वास-प्रश्वासबाट सर्ने गर्छ । आमाले स्याहार गर्नुअघि सेनिटाइजर प्रयोग गर्ने, मास्क लगाउने गरेमा बच्चामा सर्दैन ।

गर्भमा रहेको बच्चामा पनि कोरोना सर्ने जोखिम हुँदैन । किनकी भाइरस सालनालबाट पास हुँदैन । गर्भमा रहेको बच्चामा आमाको रगत जाने पनि होइन । सालको माध्यमबाट पोषण मात्र जाने गर्छ ।

आमाहरूमा चाहिँ कोरोना संक्रमणको डर कत्तिको हुन्छ ?

पहिलो कुरा पुरुषमाभन्दा महिलामा रोग कम लाग्छ । पुरुषको तुलनामा महिलामा कोरोनाको इन्फेक्सन पनि तुलनात्मक रुपमा कम हुन्छ । हो, मानिसलाई लाग्न सक्छ कि गर्भवतीमा कोरोना संक्रमणको सम्भावना बढी हुन्छ ।

अहिलेसम्मको आँकडा हेर्दा पनि दुईजना पुरुषलाई कोरोना संक्रमण हुँदा एकजनामात्र महिलामा लागेको देखिन्छ । यसको एउटा कारण भनेको महिलामा एक्स-एक्स क्रोमोजोम हुन्छ । रोगसँग लड्ने क्षमता अत्यधिक हुन्छ । अर्को कुरा, महिलाले मदिरापान, धुम्रपान पुरुषको तुलनामा कम गर्छन् । उनीहरूमा मधुमेह, हाइपर टेन्सन हुने चान्स कम हुन्छ ।

कोरोनाबाट अरू मानिस जति जोखिममा हुन्छन्, गर्भवती पनि त्यक्तिकै खोखिममा हुने हो । गर्भवती भएकै कारण अतिरिक्त जोखिम चाहिँ हुँदैन ।

संक्रमितलाई सुत्केरी गराउँदा चिकित्सकको टोली त सावधान हुनुपर्ला नि ?

प्रसुति कक्षभित्र जानुअघि चिकित्सको टोलीले अस्पतालको ड्रेस लगाउँछन् । त्यसमाथि पीपीई पहिरिन्छन् । मास्क, टोपी, चस्मा, बुट सबै लगाएपछिमात्र भित्र जान्छन् । अनि बिरामीको डेलिभरी गर्छन् । त्यसपछि भित्रै नुहाउँछन् र आफ्नो कपडा पहिरिएर फर्किन्छन् । र, पीपीई डिस्पोज गर्छौँ । किनकी पीपीई एक पटकभन्दा बढी प्रयोग गर्न मिल्दैन ।

तर, हामीले अहिल्यै त्यस्तो कोकोहोलो गर्नुपर्ने अवस्था छैन । किनकी हामीले अरू सरुवा रोगको बिरामीको अप्रेसन गर्दा पनि यस्तै सावधानी अपनाएर गर्नुपर्छ । हेपाटाइटिस बी, एचआईभीका बिरामीबाट डेलिभरी गराउँदा पनि यस्तै सावधानी अपनाउँदै आएका हौँ । त्यसैले कोभिड १९ का लागि छुुट्टै त्यस्तो केही चाहिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment