Comments Add Comment

कोरोना भाइरसबारे प्रधानमन्त्री नै भ्रममा !

विज्ञ भन्छन्– मुखपछि नाक हो, डाक्टरले बोल्ने कुरा प्रधानमन्त्रीको मुखबाट आयो

७ वैशाख, काठमाडौं । कोरोना भाइरसबारे भ्रामक प्रचार नगर्न सरकारले आग्रह गर्दै आइरहेको छ ।

विश्व स्वास्थ संगठन लगायतका आधिकारिक संस्थाका सूचनामा मात्र भर पर्न सरकारले सचेतना जगाउँदै आएको छ । तर, स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले नै कोरोना भाइरस संक्रमणबारे ‘भ्रम’मा परेको पाइएको छ ।

प्रधानमन्त्री ओलीले चैत २९ गते सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो बैठक गरेका थिए । कोरोना महामारीविरुद्ध प्रदेशहरूमा भइरहेका काम र भोग्नुपरेका समस्याबारे प्रधानमन्त्रीले ब्रिफिङ लिएका थिए ।

मुख्यमन्त्रीहरूसँगको आन्तरिक बैठकको भिडियो सार्वजनिक भयो, जहाँ प्रधानमन्त्री ओलीले कोरोना भाइरस सर्ने विषयमा केही अर्धसत्य एवं भ्रमपूर्ण धारणा राखेका छन् ।

मुख्यमन्त्रीहरूसँगको बैठकमा प्रधानमन्त्रीले भाइरसको विशेषताबारे बताएका थिए । भाइरस कसरी सर्न सक्छ भन्ने प्राविधिक विषयमा समेत उनले चर्चा गरे । भाइरसबाट जोगिनका लागि मास्क मात्र लगाएर नपुग्ने, चस्मा पनि लगाउनुपर्ने प्रधानमन्त्रीले सुझाव दिएका थिए ।

प्रधानमन्त्रीले भिडियो बैठकमा भनेका थिए, ‘म साथीहरूलाई भन्न चाहन्छु– मास्क मात्रै लगाएर पर्याप्त हुँदैन । मास्कसँगै चस्मा पनि लगाउनोस् ।’

भाइरसबारेमा प्रधानमन्त्री ओलीको भनाइ यस्तो थियो –

त्यो भाइरस भनेको निर्जीव तत्व हो । यो निर्जीव तत्वमा त्यो जुन बोसीय, बोसोजस्तो जुन फ्याटीय तत्व हुन्छ, त्यसले त्यस (भाइरस) लाई एउटा जीवित तत्वका रुपमा सक्रिय गराइदिन्छ ।

त्यसकारण तातोपानीको बाफ लिने, तातोपानी खाने, चिसोमा बढी जोड नदिने, आइसक्रिमजस्ता कुरा नखाने विधि ठूलो कुरा हो ।

हात धुँदाखेरि, सकिन्छ भने तातोपानीले धुने । मुख धुँदा अलिकति तातोपानी, मनतातो पानीले । यो ठूलो विधि हो । जहाँ भाइरस छ भने पनि तातोपानीले हात धुने बित्तिकै त्यो भाइरसको, त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, समाप्त हुन्छ त्यहीँ ।

मर्ने होइन, त्यसको जुन जीवतत्वको रुपमा त्यो बाहिरी लेयरको बोसीय तत्वले जे उपद्रो मच्चाउन सक्थ्यो, त्यो समाप्त हुन्छ ।

भाइसर किन मार्न सकिँदैनभन्दा निर्जीव तत्व हो, त्यसकारण । निर्जीव तत्वको, अब यो गीता ज्ञानतिर जानुपर्ने खतरा हुन्छ । यो निर्जीव तत्व हो, त्यसकारण यो निर्जीव तत्वलाई मार्न सकिँदैन । जसको जीवन छैन, त्यसलाई कसरी मार्ने ? त्यसकारण यो मर्दैन, यसलाई जीवित तत्वका रुपमा सक्रिय गर्ने इलिमेन्टहरू छन् । ती इलिमेन्टहरूबाट हामी मुक्त हुने हो ।

म साथीहरूलाई भन्न चाहन्छु– मास्क मात्रै लगाएर पर्याप्त हुँदैन । मास्कसँगै चस्मा पनि लगाउनोस् ।

सबभन्दा बढी छिटो सर्ने मुखबाट, त्यसपछि दोस्रो आँखाबाट सर्छ । त्यसपछि मात्रै नाकबाट सर्छ । आँखाबाट झन् छिटो सर्छ । त्यसकारण चस्मा भरसक लगाउनु वाञ्छनीय हुन्छ । अरु कुराहरु मैले धेरै भनिरहनुपर्ला जस्तो लाग्दैन ।

विज्ञ भन्छन्– मुखपछि जोखिम भनेको नाकबाटै हो

प्रधानमन्त्री ओलीको भनाइमा तथ्यगत त्रुटि रहेको विज्ञहरू बताउँछन् । मुखपछिको जोखिम प्रधानमन्त्रीले भनेजस्तो आँखा नभएर नाकबाट हुने जनस्वास्थ्य विज्ञको मत छ ।

जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित विज्ञहरूको परामर्श वा आधिकारिक जर्नल उल्लेख गरेर बोल्न प्रधानमन्त्रीलाई सुझाव दिन्छन् । डा. दीक्षित भन्छन्, ‘उहाँले बोल्नुभएको कुराले धेरैलाई प्रभाव पर्छ, त्यसकारण प्राविधिक विषयमा धारणा राख्दा सम्बन्धित विज्ञको सल्लाह लिनु उचित हुन्छ ।’

प्रधानमन्त्री ओलीको दाबी र डा. समीरमणि दीक्षितको प्रष्टीकरण यस्तो छ–

प्रधानमन्त्री : भाइरस भनेको निर्जीव तत्व हो ।

डा. दीक्षित : भाइरस निर्जीव हो कि सजीव भन्ने विवादित र बहसको विषय हो । यसमा सय वर्षदेखि बहस हुँदै आएको छ । मेरो विचारमा यो जीवित तत्व हो । यसले आफ्नो अस्तित्व जोगाउन ‘जिन’ लाई निरन्तरता दिन्छ ।

प्रधानमन्त्री : भाइरसलाई बोसीय, फ्याटीय तत्वले सक्रिय गराउँछ ।

डा. दीक्षित : बोसीय होइन, प्रोटिन हुन्छ । प्रोटिनको लेयर हुन्छ ।

प्रधानमन्त्री : तातोपानी खाने, चिसोमा बढी जोड नदिने, आइसक्रिम जस्ता कुरा नखाने, हात धुँदा तातोपानीले धुने गर्नुपर्छ । मुख धुँदा अलिकति तातोपानी, मनतातो पानीले । यो ठूलो विधि हो ।

डा. दीक्षित : हात धुनु भनेको एकदमै राम्रो कुरा हो । तर, साबुन भन्ने पनि नछुटाउनु भएको भए अझै राम्रो हुने थियो । आइसक्रिम खाँदा भाइरस सर्छ भन्ने मैले अहिलेसम्म पढेको छैन ।

प्रधानमन्त्री : भाइरस किन मार्न सकिँदैनभन्दा त्यो निर्जीव तत्व हो । जसको जीवन छैन त्यसलाई कसरी मार्ने ?

डा. दीक्षित : रसायनको सहायताबाट नष्ट गर्न सकिन्छ ।

प्रधानमन्त्री : मास्क पर्याप्त छैन । म साथीहरूलाई मास्कसँगै चस्मा लगाउन पनि सल्लाह दिन्छु । किनभने भाइरस मुखपछि आँखा र त्यसपछि मात्रै नाकबाट सर्छ ।

डा. दीक्षित : मास्क, चस्मा लगाउने सल्लाह गलत होइन । तर, श्वास-प्रश्वाससँग सम्बन्धित भएकाले मुखपछि जोखिम भनेको नाकबाटै हो ।

‘डाक्टरले बोल्ने कुरा प्रधानमन्त्रीको मुखबाट आयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरूसँग प्रदेशका समस्याबारे बैठकको आयोजना गरेको बताउँदै त्यस्तो बैठकमा डाक्टरबाट बोल्नुपर्ने कुरा प्रधानमन्त्रीबाट आउनु उचित नभएको प्रदेश २ सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको प्रतिक्रिया छ ।

साथै, मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले गरेको बैठकको भिडियो जसले सार्वजनिक गरेको भए तापनि त्यो ‘अनइथिकल’ भएको झाले अनलाइनखबरलाई बताए ।

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग गरेको भिडियो सम्वाद कस्तो हो भन्ने अनलाइनखबरको प्रश्नमा कानुनविद् झाको प्रतिक्रिया यस्तो छ–

प्रथमतः मुख्यमन्त्रीज्यूहरूसँग प्रधानमन्त्रीज्यूले त्यो बैठक कोरोनाको सन्दर्भमा के-कस्तो तयारी छ, प्रदेशमा कुन खालको सहयोग चाहिन्छ र कस्तो खालको रणनीति चाहिन्छ भन्ने विषयमा गरिएको बैठक थियो ।

सम्माननीय प्रधानमन्त्रीज्यूले त्यो बैठकमा डब्लुएचओको प्रमुखले भन्ने कुरा अथवा निश्चित विज्ञ डाक्टरले भन्ने कुराहरू बोल्नुभयो ।

अहिलेको लकडाउनको बेला एकै ठाउँमा भौतिक रुपमा भेला हुन नसकिएको हुनाले भिडियो बैठक गरिएको हो । भौतिक रुपमा भेला भइएको भए त्यो बैठक रणनीतिक रुपमा गोप्य बैठक हुन्थ्यो ।

तर, सार्वजनिक सरोकारको विषय भए तापनि कतिपय संवेदनशील रणनीतिक कुराहरू राज्यको आफ्नो हुन्छ । त्यसकारणले जसले गरेको भए पनि त्यो भिडियो बाहिर ल्याउनु नै ‘अनइथिकल’ हो भन्ने मलाई लाग्छ । अनइथिकल मात्रै होइन, हामीसँग भइरहेको मौजुदा कानुनको विपरीत पनि हो ।

दोस्रो कुरा– सम्माननीय प्रधानमन्त्रीज्यूले त्यो बैठकमा डब्लुएचओको प्रमुखले भन्ने कुरा अथवा निश्चित विज्ञ डाक्टरले भन्ने कुराहरू बोल्नुभयो ।

तातोपानीले धोएर कोराना भाइरस जान्छ कि जाँदैन, आँखाबाट सर्छ कि सर्दैन, त्यो कुराचाहिँ टेक्निकल्ली हेल्थ मिनिस्ट्रीको हेड अफ डिपार्टमेन्टले अथवा त्यो विज्ञले, भाइरोलोजिस्टले भन्ने कुरा हो । त्यो कुरा सही नै भए पनि विज्ञको मुखबाट आउनुपर्थ्यो। राज्यको मेकानिजमले काम गरेको कुरा अनि बल्ल देखिन्थ्यो । यो कुरा सम्मानीय प्रधानमन्त्रीज्यूको मुखबाट त्यसरी फर्मल बैठकमा भन्ने कुरो होइन जस्तो मलाई लाग्छ ।

प्रधानमन्त्रीले जुन कुराहरू भन्नुभयो, त्यो सही छ कि छैन, मेडिकल्ली भन्ने कुरा हो, हामीले भन्ने कुरा होइन । कुनै सामान्य एमडी डाक्टरले पनि भन्न सक्दैन । त्यो विषयमा भाइरोलोजीको सन्दर्भमै अध्ययन गरेको व्यक्तिले आधिकारिक हिसाबले भन्नुपर्छ । नत्र भने यो कुरा डब्लुएचओले राखेको मापदण्डभन्दा फरक हुन सक्छ । त्यसैले यो त रिसर्चबाट प्रमाणित गरेर, वैज्ञानिक पुष्टिका आधारमा भन्ने कुरा हो।

कोरोनाले प्रधानमन्त्री, मुख्यमन्त्री चिन्दैन : ओली

यस्तोबेलामा मानिसहरू डिप्रेसनमा जाने खतरा हुनसक्छ । मानसिक अवस्था कमजोर हुने, खलबलिने, चिन्ताग्रस्त हुने खतरा हुन्छ । त्रास र भयले थिचेर मान्छेलाई असहज स्थितमा पुर्‍याउन सक्छ । भोक, निन्द्रा नलाग्ने, काममा मन नलाग्ने, केही गर्न नसक्ने दिग्दारीको स्थिति आउन सक्छ ।

उपचार गर्दा स्वाब परीक्षण मात्रै गरेर पुग्दैन । मनोचिकित्सकहरूको पनि मद्दत लिनुपर्छ । उनीहरूबाट हामीले काउन्सिलिङको विधि पनि सिक्नुपर्छ । यस्तोबेलामा रोगविरुद्ध लड्न सकिन्छ, कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने भावनाको विकास गराउन सक्नुपर्छ ।

हाम्रो ध्यान उपचारतर्फ त गएको छ । तर, मनोवैज्ञानिक कुरामा जान सकेको छैन । एउटा उपचारका लागि र अर्को नआत्तिनका लागि । स्थिति भयावह छ । कहाँ कोसँग सर्छ, टुंगो हुँदैन । यसबाट सर्तक हुन काउन्सिलिङ पनि गर्नु जरुरी छ ।

चीनले सफलता पाइसक्यो । छिटफुट मात्रै केस छन् । जहाँबाट कोरोना भयावह रुपमा फैलिएको थियो, त्यो वुहान खुलिसकेको छ । जहाँ–जहाँ लापरवाही भएको छ, त्यहीँ भयावह भएको देखिन्छ ।

अमेरिकाले सुरुदेखि नै व्यवहारिक र सही कदम चालेर गएको भए यो स्थिति आउने थिएन । महाशक्तिको पनि केहीलाग्दो रहेनछ भन्ने यसबाट देखियो ।

अमेरिकाले सुरुदेखि नै व्यवहारिक र सही कदम चालेर गएको भए यो स्थिति आउने थिएन । महाशक्तिको पनि केहीलाग्दो रहेनछ भन्ने यसबाट देखियो ।

सबै साथीहरूलाई सुरक्षित हुन आग्रह गर्दछु । यसले मुख्यमन्त्री यताउता भन्ने चिन्दैन । धेरै देशका राजकुमार चिनेन, धेरै देशका प्रधानमन्त्री चिनेन । हाम्रो प्रधानमन्त्री पनि चिन्दैन, मुख्यमन्त्री पनि चिन्दैन, मन्त्री पनि चिन्दैन ।

यो (भाइरस) निस्फ्रिकी छ । मरौँला भन्ने पिर पनि छैन । किनभने, यो जीवतत्व नै होइन । यो भाइरस लामखुट्टेजस्तो पनि होइन । उडुसजस्तो लुक्ने, उपियाँजस्तो फटक्क फड्किने पनि होइन । यसलाई कुनै डर हुँदैन । ढुंगाजस्तै हो । यसले समभाव राखेर आक्रमण गर्छ । त्यसकारण आफू पनि सतर्क बनौँ ।

यो भिडियो कन्फ्रेन्सकै बसाइँ पनि ठिक छैन । सामाजिक दुरीको हिसाबले कुनै पनि प्रदेशको बसाइँ ठिक छैन । मन्त्रिपरिषद् बैठक बस्दा हामी कम्तीमा तीन मिटर टाढा बस्छौँ। अहिले मैले मास्क किन खोलेको छु भने दुवैतिरकाले लगाउनुभएको छ । म अगाडि फर्किएको छु । सामाजिक दुरी कायम गरेका छौँ।

अर्को, काम भएन, यहाँ भएन त्यहाँ भएन भनेर बाहिर जाने छ, त्यसलाई पनि रोक्छौँ। त्यस्तोखालको हुनुहुँदैन । प्रशासन प्रहरी र स्थानीय तहका जनप्रतिनिधिहरू सजग हुनुपर्छ ।

हाम्रा निम्ति यो आर्थिक हिसाबले पनि गम्भीर धक्काका रुपमा आएको छ । भविष्यमा सचेत हुनुपर्ने विषय आएको छ । उत्पादन वृद्धिमा ह्रास ल्याउँछ । रेमिट्यान्स स्वात्तै घट्छ ।

रेमिट्यान्स पनि नआउने, उत्पादन पनि नहुने, विदेश गएका जनशक्ति विभिन्न देशमा हाय तोबाको स्थितिमा छन् । विभिन्न देशलाई त्यहाँ बसेका नेपालीहरूको राम्रो होस् भनेका छौँ ।

भारतसँग त्यहाँका प्रधानमन्त्रीसँगै कुरा गरेको छु । भारतमा सबैभन्दा बढी असहज स्थितिमा छन् । भारत सहयोग गर्न तयारै छ ।

आपूर्ति व्यवस्थामा पनि तलमाथि पर्दैन । आपूर्ति व्यवस्था मिलाउने क्रममा पनि संक्रमण नहोस् भनेर हामीले ध्यान दिएका छौँ।

आधारभूत रुपमा हामी ढुक्क रहन र समस्या समाधान गर्न सक्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । व्यवहारिक, ठोस कदम चाल्ने र त्यसमा दृढता राख्ने गर्नुपर्दछ । सिंगो समाजलाई एकजुट बनाएर अगाडि बढाउनुपर्छ ।

(मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्रीद्वारा व्यक्त विचार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमै हट वर्षा

Advertisment