Comments Add Comment

कोरोना भाइरस : भाइरसलाई हराउन तपाईले के खानुपर्छ ?

८ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण उत्पन्न महामारी कुन औषधिले ठीक पार्न सक्छ ? यस प्रश्नको जवाफ खोज्नका लागि विश्वभरका अनुसन्धानकर्ताहरुले कडा परिश्रम गरिरहेका छन् ।

हालसम्म केवल एउटा मात्र कुरा स्पष्ट भएको छ, जुन मानिसको रोग प्रतिरोधात्मक क्षमता बलियो छ उनीहरुका लागि कोभिड १९ को आक्रमण घातक हुँदैन । यही कुराले गर्दा अहिले रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा धेरै उपाय तथा सुझावहरु आइरहेका छन् ।

यस्तो खालको हल्ला पहिलो पटक आएको भने होइन, हरेक महामारीको समयमा आइरहन्छ । सन् १९१८ मा स्पेनिस फ्लू फैलिँदा पनि यस्तै कुराहरु सार्वजनिक भएका थिए । तर यही कुरा सन् २०२० मा पनि भइरहेको छ । जबकी, यो दुई सय वर्षका बीच चिकित्सा विज्ञानमा मानिसले धेरै ठूलो सफलता हासिल गरिसकेको छ ।

केही दिनदेखि सामाजिक सञ्जालमा विभिन्न अफवाह भाइरल भइरहेको छ । त्यसमध्ये एउटा हो – धेरै हस्तमैथुनले रक्तकोष बढाउन मद्धत गर्छ ।

यसका साथै भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा भएको फलफूल खान पनि सुझावहरु दिइएको छ । धेरै मानिसहरूले प्रो–बायोटिक औषधि लिनसमेत सल्लाह दिइरहेका छन् । कतिपयले यस्तो पनि भनेका छन् कि – कोभिड १९ लाई ग्रिन टी र रातो खुर्सानीले कमजोर पार्न सक्छ ।

अनुसन्धानले के भन्छ ?

सुपर फूडबारे बजारमा फैलाइएको हल्ला मिथ्या भएको अनुसन्धानले देखाएको छ । वैज्ञानिक अनुसन्धानले सुपर फुडले रोग प्रतिरोधात्मक क्षमता बढाएको पुष्टि गर्दैन ।

संयुक्त राज्य अमेरिकाको येल युनिभर्सिटीका इम्युनोलोजिस्ट अकीको इवासाकी भन्छन्, ‘रोग प्रतिरोधात्मक क्षमताको तीन भाग हुन्छ– छाला, श्वासप्रश्वास मार्ग र म्युकस झिल्ली । यी तीनवटैले हाम्रो शरीरमा हुने कुनै पनि संक्रमणलाई रोक्न मद्धत पुर्‍याउँछ । यदि भाइरसले यी तीन अवरोधकलाई तोडेर शरीरमा प्रवेश गरेमा कोषहरूले द्रुत गतिमा सतर्कता बढाउँछन् र भाइरससँग लड्न सुरु गर्छन् ।

यदि यसले पनि काम गर्न सकेन भने, तब एडप्टिभ इम्यून सिस्टमले काम गर्न सुरु गर्छ । जसमा कोष, प्रोटिन कोष र एन्टिबडीहरु समावेश छन् । शरीरमा रोगको प्रतिरोधात्मक क्षमता बढाउन केही दिन वा एक हप्ता समय लाग्न सक्दछ । एडप्टिव इम्यून सिस्टम केवल केही प्रकारका भाइरसहरूसँग मात्र लड्न सक्दछ ।

हल्का रुघाखोकी, ज्वरो, टाउको दुख्ने लक्षण कुनै भाइरसको कारणले हुँदैन । बरु, ती हाम्रो शरीरको प्रतिरोधको भाग हुन् जुन हामीले जन्मदेखि पाउँछौं । शरीरमा भाइरसलाई बढ्नबाट रोक्नको लागि ज्वरोले वातावरण सिर्जना गर्दछ । यस्तो अवस्थामा, प्रतिरक्षा क्षमता बढाउने चीज खाँदा पनि फाइदा हुने छैन ।

प्रतिरोधात्मक क्षमता बढाउनका लागि मानिसहरुले अक्सर गरेर मल्टिभिटामिनहरु सेवन गर्ने गर्दछन् । अनुसन्धानका अनुसार पूर्ण रूपले स्वस्थ मानिसलाई यस्ता चिजको आवश्यकता हुँदैन ।

थप अतिरिक्त खुराक लिने बानीको शिकार सामान्य मानिसहरु मात्रै हुँदैनन् । शिक्षित मानिसहरू पनि यो पासोमा फस्छन् । उदाहरणका लागि, दुई पटक नोबल पुरस्कार विजेता लाइनस पालिङले पनि रुघाखोकीबाट बच्नका लागि प्रतिदिन १८ हजार मिलिग्राम भिटामिन सी सेवन गरेका थिए । यो मात्रा शरीरको आवश्यक भन्दा तीन सय गुणा बढी थियो ।
भिटामिन सीले सामान्य रुघाखोकीसँग लड्नका लागि थोरै मद्धत पुर्‍याउँदछ ।

यसको बारेमा बजार हल्लाहरु धेरै छन् । विज्ञहरु भन्छन्, ‘विकसित देशमा जो मानिसहरु सन्तुलित भोजन खान्छन्, उनीहरुलाई खानाबाटै शरीरलाई चाहिने भिटामिन सी प्राप्त हुन्छ । त्यही भिटामिन सीको अत्यधिक सेवनले मिर्गौलाको पत्थरी निम्त्याउन सक्छ ।

विज्ञहरूका अनुसार शरीरमा कुनै पनि भिटामिनको कमी छैन भने भिटामिनको रुपमा सेवन गरिने कुनै पनि किसिमको पूरक वस्तु (सप्लिमेन्ट) हानिकारक हुन सक्छ । भिटामिन ‘डी’ को पूरक मात्रै शरीरका लागि लाभदायक साबित हुन सक्छ ।

अकीका इवासाकीका अनुसार धेरै अध्ययनहरूले भिटामिन ‘डी’को अभावले श्वासप्रश्वाससम्बन्धी रोग बढाउने सम्भावना हुन्छ ।

मानिसमा भिटामिन ‘डी’को कमी हुने समस्या गरीब देशहरूमा मात्र होइन, धनी देशहरूमा पनि गम्भीर छ । एउटा अध्ययनकाअनुसार २०१२ सम्म विश्वमा करिब १० लाख मानिस भिटामिन ‘डी’को अभावमा थिए । घाम भन्दा टाढा घरभित्रै बस्ने मानिसमा भिटामिन ‘डी’को अभाव हुन्छ ।

यसैगरी एन्टी अक्सिडेन्ट खानुपर्ने पनि कुनै आवश्यकता छैन ।

विषाक्त अक्सिजन पदार्थ शरीरको सेता रक्तकोषबाट बाहिर निस्कन्छन्, जसले दुई धारको तरवारले जस्तै काम गर्छ । एकातिर शरीरमा कुनै ब्याक्टेरिया वा भाइरस बढ्नबाट रोक्दछ भने अर्कोतर्फ स्वस्थ कोषहरूलाई नष्ट गर्दछन् र प्रतिरोधात्मक क्षमता कमजोर बनाउँदछ ।

त्यसकारण सबै कोषहरूलाई स्वस्थ र सुरक्षित राख्न एन्टी अक्सिडेन्टको आवश्यकता पर्छ । हामीले यी एन्टी अक्सिडेन्टहरू फल र तरकारीबाट धेरै मात्रामा पाउँछौं । यसको लागि पूरक माध्यमबाट लिनु आवश्यक छैन ।

एन्टीअक्सिडेन्टले प्रतिरोधात्मक क्षमता बढाउनमा कति मद्धत गर्दछ भन्नेबारे अहिले पनि अनुसन्धान जारी नै छ । तर, यो अनुसन्धान अझै ठोस परिणाममा पुगेको छैन ।

केही ब्याक्टेरिया यस्ता हुन्छन् जुन शरीरका साथी हुन् र यो हाम्रो स्वास्थ्यको लागि धेरै आवश्यक पर्छ । कहिलेकाहीँ यस्ता ब्याक्टेरिया शरीरमा कमी हुन्छन् । यसैले पूरकको रुपमा प्रोबायोटिक्स बजारबाट लिनुपर्छ । संकटको यो घडीमा केही वेबसाइटहरूले प्रोबायोटिक्स कोभिड १९ विरुद्ध लड्न सहयोगी रहेको दाबी गरिरहेका छन् । त्यस्ता सबै दावी गलत छन् ।

अब प्रश्न उठ्न सक्छ कोभिड १९ बाट कसरी बच्न सकिन्छ ? यसका लागि सामाजिक दुरी कायम राख्नु र व्यक्तिगत सरसफाइमा ध्यान दिनु नै महत्वपूर्ण हुन्छ । यसका साथसाथै सन्तुलित भोजन लिनु, नियमित शारीरिक व्यायाम गर्नु महत्वपूर्ण हुन्छ । बहकाउमा आएर आफैं स्वस्थ्य विज्ञ बन्ने चेष्टा नगर्नुहोला । यदि तपाईंमा स्वास्थ्य समस्या देखिए तुरुन्त चिकित्सकको सल्लाह लिनुहोला ।

स्रोत : बीबीसी हिन्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment