Comments Add Comment

दूध बिक्री नभएपछि ट्याङ्करबाटै निःशुल्क बाँड्न थालियो

८ वैशाख, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण उद्योग, व्यवसाय बन्द हुँदा बजारमा कतिपय उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।

आपूर्ति कम भएपछि वस्तुको मूल्य पनि बढेको छ । तर, दूधको हकमा भने अवस्था उल्टो छ । दूधको बढी खपत हुने चिया पसल, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, स्कुल बन्द भएपछि बिक्री ७० प्रतिशतले घटेको छ । उत्पादित दूध बिक्री नभएपछि किसान र डेरी उद्योगहरूलाई के गर्ने भन्ने पिरलो छ ।

रुपन्देहीको एक दुग्ध सहकारीले भने लकडाउन सुरु भएदेखि नै निःशुल्क दूध बाँड्दै आएको छ ।

सैनामैना नगरपालिका–१० सालझण्डी स्थित सालझण्डी दुग्ध उत्पादक सहकारीले किसानबाट खरिद गरेको दूध बिक्री नभएपछि सर्वसाधारणदेखि प्रदेशका मुख्यमन्त्री र मन्त्रीसम्मलाई निःशुल्क बाँडेको छ । डेरीले साढे पाँच सय किसानबाट दैनिक चारहजार पाँच सय लिटरदेखि पाँचहजार लिटरसम्म दूध संकलन गर्छ ।

‘किसानको दूध खरिद नगर्ने कुरा भएन, खरिद गरेको दूध आधा मात्रै बिक्री हुन्छ’ डेरीका अध्यक्ष तिलकराम घिमिरेले भने, ‘खेर फाल्नुभन्दा घाटा सहेरै नबिकेको दूधको क्रिम निकाल्छौँ र निःशुल्क बाँड्छौँ ।’

सुरुका एक दुई दिन सहकारीबाटै दूध बाँडेको भए पनि भिड थाम्न नसकेपछि सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्की र वडा अध्यक्षहरूलाई फोन सम्पर्क गरेर वडा कार्यालय मार्फत बाँड्न थालेको घिमिरेले बताए । दैनिक सरदर दुईहजार लिटरका दरले दूध बाँडिने गरेको छ । सहकारीले आइतबार मुख्यमन्त्री शंकर पोखरेलको निवासमै र अन्य मन्त्रालयको प्राङ्गणमै ट्याङ्कर पुर्‍याएर दूध बाँड्यो ।

‘कहिले नगरपालिकामा, कहिले क्वारेन्टाइनमा त कहिले वडावडामा ट्यांकर पुर्‍याएर बाँड्यौं’– अध्यक्ष घिमिरेले भने । कृषिमन्त्री र भौतिक पूर्वाधारमन्त्रीले यसरी निःशुल्क दूध बाँडेकोमा खुसी व्यक्त गरेका छन् ।

उनीहरूले लकडाउनको अन्त्य भएपछि सरकारको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिएको सहकारीका अध्यक्ष घिमिरेले सुनाए ।

किसानबाट औसत ६५ रुपैयाँ प्रतिलिटरका दरले खरिद गरेको दूध निःशुल्क बाँड्दा सहकारीलाई दैनिक ५० हजार रुपैयाँ घाटा भइरहेको सहकारीका व्यवस्थापक चिरन्जीवी पौडेलले बताए । ‘कोरोनाको जोखिमले देशभरि विषम परिस्थिति छ, यस्तो अवस्थामा दूध सडकमा पोखेर विरोध गर्नुको पनि अर्थ छैन’ व्यवस्थापक पौडेलले भने, ‘अहिले भएको घाटा सहकारीले भविष्यमा गर्ने नाफाबाट पूर्ति गर्छौँ ।’ लकडाउन कायम रहँदासम्म यसरी नै सहकारीले निःशुल्क दूध बाँड्ने उनले स्पष्ट पारे ।

५५१ जना पशुपालक किसान सदस्य रहेको सालझण्डी दुग्ध उत्पादक सहकारी रुपन्देहीकै अग्रणी दुग्ध सहकारी हो । २१ जनालाई प्रत्यक्ष रोजगारी दिएको सहकारीले यसैवर्षदेखि दूध प्रशोधन (पास्चराइजेसन र प्याकेजिङ ), घिउ, खुवा (कुराउनी), पनिर लगायतका परिकार उत्पादन गर्न थालेको छ ।

सहकारीले प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ‘नवीनतम सोच’ शीर्षकमा दूध बोक्ने ट्याङ्कर खरिदमा ५० प्रतिशत अनुदान पाएको छ भने सैनामैना नगरपालिकाबाट जेनेरेटर खरिदमा पाँचलाख रुपैयाँ पाएको छ ।

लुम्बिनी एग्रो एण्ड रिसर्च सेन्टर तिलोत्तमा, रुपन्देहीका सञ्चालक शशि पौडेलले पनि लकडाउनका कारण दूध बिक्री नभएपछि गाईलाई नै खुवाउने गरेको बताउँछन् । ‘६० देखि ७० प्रतिशत बिक्री घटेको छ’ उनले भने, ‘१० प्रतिशत मात्रै कच्चा दूध बिकेको छ, दूध नबिक्दा केही दूध गाईलाई नै खुवाउने गरेको छु ।’ कोरोना भाइरस संक्रमणको जोखिमका कारण गरिएको लकडाउनकाले दुग्ध क्षेत्र मारमा परेको भन्दै उनले नोक्सान अनुसार अनुदान, बैङ्क ब्याजमा छुट, स्टक सामान राहत प्याकेजमा समावेश, कर, भ्याट छुटको घोषणा सरकारबाट तत्काल गरिनुपर्ने माग गरेका छन् । ।

टोल–टोलमा अवरोधले सास्ती

लकडाउनका नाममा वडाका जनप्रतिनिधि र दलका कार्यकर्ताले सडकमा बाँस तेस्र्याएर टोल–टोलमा अवरोध पुर्‍याउँदा पनि दूध बजारसम्म पुर्‍याएर बेच्न समस्या भएको अगुवा किसान पौडेलले गुनासो गरे ।

‘लकडाउनको अर्थ नबुझी टोलटोलमा छुट्टै राज्य जस्तो गरेर जनप्रतिनिधिले सास्ती दिएर समयमै दूध बजारमा पुर्‍याउन अवरोध भएको छ’ पौडेलले भने ।

लकडाउन लम्बिँदै जाँदा दाना अभाव भएको समेत बताए । लकडाउनका कारण देशभर हालसम्म दुई अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको दूध बिक्री नभएर नोक्सान भएको र पाँच अर्ब रुपैयाँभन्दा बढी मूल्यको दुग्धजन्य सामान स्टक रहेको एसोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा बताउँछन् ।

दुग्ध क्षेत्रमा देशभर पाँच लाख कृषक परिवार आवद्ध छन् । २५ अर्बभन्दा बढी लगानी उद्योगस्तरमा रहेको र ३० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको डेरी एसोसिएसनको तथ्यांक छ । नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुने गरेको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment