Comments Add Comment

कृषि विश्वविद्यालयले उत्पादन गर्‍यो तितेपाती मिसाइएको स्यानिटाइजर

कृषि तथा वनविज्ञान विश्वविद्यालयले तितेपाती मिसाएर बनाएको स्यानिटाइजर तरकारी बिक्रेतालाई वितरण गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायत ।

९ बैशाख, चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयले तितेपातीको तेल मिसाएर स्यानिटाइजर उत्पादन गरेको छ ।

विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लीसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रण रहेको विश्वविद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिए ।

तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग हो । सो स्यानिटाइजर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयार पारिएको सापकोटाको दावी छ । केन्द्रले पहिलो चरणमा १८० लिटर स्यानिटाइजर उत्पादन गरेको र २० एमएलको बोतलमा प्याकिङ गरेको छ ।

किसान र उपभोक्ताबीच कृषि उपज उत्पादन तथा उपभोगका क्रममा हुने सक्ने कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्ने उद्देश्यले सो स्यानिटाइजर सोमबार नारायणगढमा ठेलामा तरकारी बेच्नेहरुलाई वितरण गरिएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहाल, विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलिया र विश्वविद्यालयको जैविक प्रविधि केन्द्रका निर्देशक डा. इश्वरी कडरियाले ठेलामा तरकारी बेच्नेहरुलाई स्यानिटाइजर हस्तान्तरण गरे ।

विश्वविद्यालयकी उपकुलपति प्रा.डा. शारदा थपलियाले जोखिम मोलेर कृषि, फलफूल, तरकारी, माछा, मासु, दूध जस्ता खाद्यबस्तु उत्पादन गर्ने, बेच्ने र उपभोक्ताबीच हुनसक्ने जोखिमलाई कम गराउन स्यानिटाइजर उत्पादन गरिएको बताइन् ।

भरतपुर महानगरप्रमुख रेनु दाहालले बजारमा स्यानिटाइजरको अभाव रहेको बेला विश्वविद्यालयले किसान, विक्रेता र उपभोक्ता लक्षित गरी उत्पादन सुरु गरेकोमा खुसी व्यक्त गर्दै सो स्यानिटाइजर वितरणका लागि महानगरले सहजीकरण गर्ने बताइन् ।

बजारमा स्यानिटाइजर उत्पादनका लागि आवश्यक रासायनिक पदार्थको अभाव रहेकाले महानगरपालिकाले सहजीकरण गरेर सहयोग गरिदिन केन्द्रका निर्देशक डा. कडरियाले अनुरोध गरे । कडरियाका अनुसार बजारमा अहिले इथानोलको अभाव छ । अल्कोहलका कारणले छाला जाने र किसानहरुलाई समेत समस्या भएकाले विश्वविद्यालयले उत्पादन गरेको स्यानिटाइजरमा तितेपाती मिसाइएको डा. कडरियाले बताए ।

यसैबीच, विश्वविद्यालयले नवलपुरको गैंडाकोटमा पनि तरकारी तथा फलफूल व्यवसायी र किसानहरुलाई निःशुल्क स्यानिटाइजर वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment