
१७ असार, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थाका लागि सरकारले विनियोजन गरेको १ करोड रुपैयाँ अस्वीकार गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सेजनसहितका आर्थिक पत्रकारितासँग सम्बन्धित तीन वटा संस्थालाई १/१ करोडका दरले अनुदान विनियोजन गरेको थियो । यसमध्ये सेजनले सो अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ ।
सेजनको मंगलबार बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको हो । आर्थिक पत्रकारको छाता संगठनलाई सरकारले विश्वास गरेर देखाएको सदासयताप्रति भने सेजनले धन्यवाद समेत भनेको छ ।
सेजनले सञ्चार मन्त्रालयसँग कुनै पनि प्रकारको अनुदान माग नगरेको स्पष्ट पारेको छ । साथै सो मन्त्रालयबाट हालसम्म कुनै पनि निःशर्त अनुदान स्वीकार समेत नगरेको बताएको छ ।
सेजन र यसका सदस्यले बजेट अनुशासन तथा वित्तीय स्रोत उपयोगको प्रभावकारीताबारे सरकार र यसका निकायमाथि निरन्तर खबरदारी गर्दै आएको भन्दै सेजनले सो एक करोड रुपैयाँको अनुदान स्वीकार गर्नु आफ्नै विरासत र संस्थागत मौलिकताको समेत विपरीत हुने सेजनको निष्कर्ष छ ।
वित्तीय स्रोतको अभाव झेलिरहेको नेपाल सरकारका लागि नागरिकको आधारभूत आवश्यकता र जीवन रक्षामा ठूलो लगानी गर्नुपर्ने आवश्यकता रहेको सेजनले बताएको छ ।
जनताको करबाट प्राप्त स्रोत नागरिक हितमा अधिकतम उपयोग गर्न सक्ने विकल्प छाडेर जिम्मेवार पत्रकारहरूको छाता संस्थाले बजेट उपयोग गर्नु पेशागत धर्म र मर्यादा विपरीत हुने निष्कर्ष समेत सेजनले निकालेको छ ।
प्रतिक्रिया 4