Comments Add Comment

डा. शेरबहादुर पुन ‘होस्टाइल’ भएकै हुन् ?

अघिल्लो दिनसम्म आफूलाई ‘भिक्टिम’ बताउने डाक्टरको वयान फेरियो

७ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुनबीच आइतबार भेटवार्ता भएपछि स्पष्टीकरण प्रकरण तत्काललाई टुंगिएको छ । तर डा. पुन ‘होस्टाइल’ भएका त होइनन् भन्ने प्रश्न उठेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध ‘फ्रन्टलाइन’मा खटिएका डा. पुनलाई स्पष्टीकरण सोध्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्र काटेको थियो । स्पष्टीकरणको सूचना शनिबार चुहिएपछि सरकारको आलोचना मात्र भएन, स्वास्थ्य सामग्री आपूर्ति प्रकरणमा जस्तै मन्त्रालयले अर्को बद्नामी कमायो । डा. पुनलाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोधेको समाचार गलत थिएन । पत्र काटिएकै हो । मन्त्रालयका सचिवस्तरको निर्णयबाट डा. पुनलाई मन्त्रालयमा उपस्थित हुन पत्र नै काटिएको थियो–

डा. पुन आइतबार मन्त्रालयमा पनि हाजिर भए । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटे ।

र, यो प्रक्रियालाई ‘आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रिया’ का रुपमा लिएर नियमित काममा क्रियाशील रहिरहने भन्दै उनले वक्तव्यमा भनेका छन् । ‘अतः यस सम्बन्धमा माननीय मन्त्रीज्यू र मन्त्रालयसँग जोडी अनर्गल प्रचारहरू नगरिदिन र विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को मारबाट मुलुकलाई बचाउन एकताबद्ध भइदिनहुन सम्बद्ध सबैमा अनुरोध गर्दछु ।’

डा. पुन तिनै हुन्, जसले मन्त्रालयले स्पष्टीकरण सोधेको विषयमा भनेका थिए, ‘तपाईंमाथि केही आरोप छ, स्पष्टीकरण दिन मन्त्रालय आउनू भनेका थिए । भ्याएपछि जान्छु भन्दाभन्दै पत्र आएको जानकारीमा आयो । तर, पत्रको व्यहोरा हेर्न पाएको छैन ।’

यो पनि पढ्नुहोस डाक्टरको ‘मुख थुन्ने’ सरकारी प्रयास, शेरबहादुर पुनमाथि सोधपुछ

उनले यो पनि भनेका थिए, ‘मलाई कारबाही गर्ने कुरा नौलो होइन, वर्षौंदेखि यस्तो भोग्दै आएको छु ।’

अर्थात, उनले बारम्बार खप्की खाइरहेका थिए । कोरोना भाइरसको संक्रमण देखिएपछि सञ्चारमाध्यमहरूमा आएको विषयलाई लिएर प्रश्न गरिएको थियो र नबोल्न दबाब आइरहेको थियो । र, पत्र नै लेखेर स्पष्टीकरण दिन मन्त्रालय बोलाएकाले कारबाहीसम्म गर्न सक्छन् भन्ने पूर्वमानुमान उनी स्वयंले लगाएका थिए ।

आइतबार केही सम्पादकहरुसँग भएको भिडियो कुराकानीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि डा. पुनको व्यवहारसँग सरकार रुष्ट रहेको ‘इसारा’ गरेका थिए । डा. पुनलाई स्पष्टीकरण सोधिएको विषय सम्पादकहरूले उठाएपछि मन्त्री ज्ञवालीले यसको कूटनीतिक पाराले जवाफ दिए । मन्त्री ज्ञवालीले संकटको घडीमा सबैले विधि र कानुनको पालना गर्नुपर्ने बताए ।

कोरोना संक्रमितहरुको नाम बिरामीको अनुमतिविना सार्वजनिक गर्न नपाइने अवस्थामा बिरामीको बेडबाटै विदेशी मिडियाले अन्तर्वार्ता लिएको बताउँदै मन्त्री ज्ञवालीले भने, ‘यसबारे धेरै भनिरहनुपर्दैन, इसारा नै काफी छ ।’

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पनि डा. पुनलाई सचेत गराउन बोलाइएको स्वीकार गरेका छन् । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘अस्पताल प्रशासनले डाक्टरसा’ब कम बोल्नुस् भन्दै आएको थियो । अहिले त स्वास्थ्य मन्त्रालयले नै दैनिक पत्रकार सम्मेलन गरिरहेकै छ, प्रवक्ताले बोलिरहनुभएकै छ । त्यसैले अब तपाईं नबोल्नुस् भनेर सचेत गराउन बोलाएकै हो ।’

डा. पुन र मन्त्रालय दुवैैले आइतबार मन्त्री र डा. पुनबीच के-के कुराकानी भयो भन्ने खुलाएका छैनन् । तर, डा. पुनलाई नबोल्नुस् भनेर नै पठाइएको एक कर्मचारीले बताए ।

डा. पुनको विज्ञप्ति

भेटपछि डा. पुन भने हातमा आधा पृष्ठको विज्ञप्ति बोकेर सञ्चारकर्मीसामु उपस्थित भए।

विज्ञप्तिमा आफूलाई अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड-१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्‍याउने कामका लागि मन्त्रालय उपस्थित हुनु भएकाले उपस्थित भएर अधिकारीहरुसँग सम्पर्क गरेको बताएका छन् । साथै, उनले यसलाई सामान्य प्रक्रियाका रुपमा लिएको भन्दै मन्त्री र मन्त्रालयसँग जोडी अनर्गल प्रचार नगरिदिन आग्रह गरेका छन् ।

जसरी विभिन्न घटनामा पीडितलाई होस्टाइल गराएर आरोपितको पक्षमा बयान दिन लगाइन्छ, त्यसरी नै डा. पुनलाई ‘होस्टाइल’ गरेर स्वास्थ्यमन्त्रीको बचाऊ गर्दै विज्ञप्ति जारी गर्न लगाएको त होइन ? प्रश्न उब्जेको छ । कुनै पीडित व्यक्तिको बयान फेरियो/फेराइयो भने त्यसलाई फौजदारी न्याय संहितामा पीडित पक्ष ‘होस्टाइल’ भएको भनिन्छ ।

कसरी सुरु भयो विवाद ?

स्वास्थ्य मन्त्रालयले माघ १० गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको घोषणा गर्‍यो । तर, त्यसबेला चीनबाट आएका ती विद्यार्थी अस्पतालबाट घर फर्किसकेका थिए । उनको कन्ट्याक ट्रेसिङ पनि राम्रोसँग भएको थिएन ।

नेपालमा संक्रमित भेटिएको खबरसँगै कोरोना भाइरसबारे अनेक भ्रमहरू पनि फैलिए । स्वयं बिरामीलाई हेर्ने दृष्टिकोण पनि गलत थियो । धेरैले संक्रमितलाई घृणा गर्थे । चीनको वुहानबाट विद्यार्थीहरूलाई उद्धार गरेर ल्याउन बेलामा भक्तपुरको खरिपाटी क्षेत्रमा देखिएको विरोध त्यसकै एउटा नमुना थियो ।

त्यहीबेला सञ्चारमाध्यमहरूबाट धेरै फोन आएको र आफू आजित भएको भनेर पहिलो संक्रमितले टेकु अस्पतालमा गुनासो गरे । बिरामीको नम्बर सञ्चारकर्मीसम्म पुग्नुमा अस्पताल प्रशासनले मिडियाफ्रेन्डली डा. पुनमाथि नै शंका गरे ।

डा. पुनले विज्ञका रुपमा कोरोना, यसको रोकथामका लागि भइरहेको प्रयास र गर्नुपर्ने कामबारे लेखिरहे । त्यसबेला स्वास्थ्य सचिव यादव कोइरालाले ‘जान्ने भएर बोले टेकु अस्पतालका कर्मचारीलाई कारबाही गर्ने’ चेतावनी दिएको चर्चा पनि चलेको थियो। त्यसपछि डा. पुन पनि चुपचाप बसेका थिए ।

पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढेसँगै डा. पुनले फेरि आफ्ना रायहरु दिन थाले । कोरोना संक्रमितले अस्पतालको आइसोलेन वार्डबाटै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा भिडियोवार्ता दिएको खबर पनि पुग्यो ।

त्यहीबेला अस्पताल प्रशासनले पहिलो संक्रमितको नम्बर पनि डा. पुनले नै दिएको हुन सक्ने दाबी गर्दै स्रोतले भन्यो, ‘त्यसपछि सचिव यादव कोइराला रन्किएर डा. पुनलाई मन्त्रालय बोलाइयो ।’

तर, समय गलत पर्‍यो ।

स्वास्थ मन्त्रालयका सचिवका कारण पनि यस्ता घटना हुने गरेको एक कर्मचारीले बताए । ‘मन्त्री एकातिर, कर्मचारी एकातिर अनि सचिव अर्कोतिर हुँदा पनि मन्त्रालयमा तालमेल मिलेको छैन’, नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारी भन्छन् ।

प्रकरणको पटाक्षेप

टेकु अस्पतालका पनि अन्य चिकित्सकभन्दा डा. पुन लोकप्रिय छन् । उनी सरुवा रोगबारे वस्तुगत विश्लेषण गर्न सक्छन् र हाकिम वा सरकारले के भन्ला भन्ने डरले सूचना लुकाउँदैनन् । यही कारण उनी सबैको तारो बनेको अस्पतालका एक कर्मचारी बताउँछन् ।

उनी भन्छन्, ‘अस्पतालका कुनै न कुनै डाक्टर पुनविरुद्ध बोलिरहेका हुन्छन् ।’ उनका अनुसार जापानमा पीएचडी गरेका पुनलाई टेकु अस्पतालबाटै हटाउने प्रयाससमेत नयाँ होइन ।

भन्छन्, ‘यो अहिलेको लफडा होइन, पहिलादेखि उनलाई पन्छाउन खोजिएको थियो ।’

पुन अहिले आएर चर्चित भएका डाक्टर होइनन् । सन् २००२ मा मेडिकल अफिसरका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काम सुरु गर्दा नै डा. पुनले रिसर्च युनिट खोल्नुपर्ने माग गरेका थिए । धेरैपछि रिसर्च युनिट खोल्न अनुमति पाए । उनको टिम पहिलो पटक दिसाको कल्चर परीक्षणमा सफल भयो । उनले नै हैजाको जीवाणुबारे विस्तृत जानकारी बाहिर ल्याएका थिए ।

नेपाली सेनाको कारण हाइटीमा हैजा फैलिएर १० हजार ७५ जनाको ज्यान गएको भन्दै २०६७ सालमा ठूलो विरोध भएको थियो । नेपाली सेनाले हाइटी छाड्न माग गर्दै त्यहाँ प्रदर्शन पनि भएको थियो ।

त्यो समयमा फ्रान्सेली वैज्ञानिकहरूले लगाएको आरोपको खण्डन गर्दै डा. पुनले अमेरिकाको रोग नियन्त्रण तथा रोगथाम केन्द्र (सीडीसी) को जर्नलमा लेख छपाए । अमेरिकी सोसाईटी फर माइक्रोवायोलोजीमा आफ्नो दाबी पुष्टि गर्ने अनुसन्धान रिपोर्ट पठाए।

डा. पुनको तर्कले अन्तर्राष्ट्रिय मान्यता पायो । र, संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव वान कि मुनले राष्ट्रसंघको विशेष महासभामा पेश गरेको १६ पृष्ठको प्रतिवेदनमा हाइटीको हैजा फैलाएको आरोपबाट शान्ति मिसनमा खटिएको नेपाली सेनाले मुक्ति पाएको थियो ।

तिनै पुनलाई कोरोनाबारे बोलेकै आधारमा स्पष्टीकरण सोधेपछि सरकार आलोचित भएको छ । यद्यपि आइतबार मन्त्रालयमा उपस्थित भएका उनलाई मन्त्रीको बचाउमा विज्ञप्ति जारी गर्न लगाएर सेफल्याण्डिङ गर्न खोजिएको छ ।

डा. पुनले मन्त्रालयसम्वद्व अधिकारीहरूसँग कुराकानी भएको जनाउँदै कोभिड-१९ महामारीविरुद्व सरकारले चालेको कदममा सबै लाग्न अपिल गरेका छन् । अब डा. पुन मन्त्रालयले बोलाउँदा आफ्नो राय दिन आउने गरी नियमित काममा फर्किएका छन् ।

तर, स्पष्टीकरण प्रकरणका केही प्रश्न अनुत्तरित छन्, जसको जवाफ भोलिका दिनमा या मन्त्रालयको निर्णयहरुले दिनेछ वा डा. पुन आफैँले बताउँनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment