Comments Add Comment
अन्तर्वार्ता :

‘बैङ्क र व्यवसायीबीच दोषारोपण होइन, एकता आवश्यक’

कोरानाले समस्या ल्याएको भन्दै नेपाल राष्ट्र बैङ्कले ऋणीका लागि सहुलियतको प्याकेज अघि सार्‍यो । त्यसबमोजिम चैतको किस्ता र ब्याज असारमा तिर्न सकिने तथा चैतमै तिरे ब्याजमा १० प्रतिशत छुट दिने व्यवस्था भएको छ । राष्ट्र बैङ्कले ल्याएको सहुलियतलाई उद्योगी-व्यवसायीहरूले अपूरो भनिरहेका छन् । तर, एनआइसी एशिया बैङ्कले राष्ट्र बैङ्कको सहुलियतभन्दा पनि अघि बढेर चैत र वैशाखमा सबै प्रकारका कर्जाको साधारण ब्याजमा १० प्रतिशत छुट तथा हर्जनामा शतप्रतिशत छुट दिने घोषणा गरेको छ ।

एनआईसी एसिया देशकै उत्कृष्ट बैङ्कको सुचीमा पर्छ । देशकै सबैभन्दा बढी तीन सय १९ शाखाको सञ्जाल, ग्राहक संख्या २१ लाखभन्दा बढी, ३६ सयभन्दा बढी कर्मचारी, दुई खर्ब ३० अर्बभन्दा बढीको वासलात र अधिकांश वित्तीय परिसूचकहरूमा यो बैङ्क अग्रणी छ ।

एनआइसी एसिया बैङ्क‍को कार्यकारी नेतृत्व अहिले युवा बैङ्कर रोशनकुमार न्यौपानेले गरिरहेका छन् । न्यौपाने नेपालकै कान्छा सीईओसमेत हुन् । विगत १२ वर्षदेखि उनी यही बैङ्कमा छन् । लकडाउनका बेला बैङ्क आएर काममा जुटिरहेका भेटिन्छन् उनी । आइतबार हामी थापाथलीस्थित बैङ्कको प्रधान कार्यालय पुग्दा उनी काममै व्यस्त थिए ।

न्यौपानेसँग हामीले उनको बैङ्क र नेपालको समग्र बैङ्किङ क्षेत्रमा कोरोनाले पारेको प्रभावका विषयमा केही जिज्ञासा राख्यौँ–

लकडाउनपछि अधिकांश आर्थिक गतिविधिहरू ठप्प प्रायः छन्, यो अवस्थालाई कसरी हेर्नुभएको छ ?

कोरोना भाइरसको महामारीले गर्दा नेपालमा मात्रै होइन, विश्वभरि नै संकट उत्पन्न भएको छ । यसले स्वाभाविक रुपमै विश्वभरको अर्थतन्त्रमा प्रतिकूल असर पारेको अवस्था छ । यो असरलाई सन् १९३० को विश्वव्यापी आर्थिक मन्दी (दि ग्रेट डिप्रेसन–१९३०)सँग समेत केही विज्ञहरूले तुलना गरेका छन् । यसको चौतर्फी असर निकै दूरगामी र गहिरो रहन सक्छ ।

कोरोनाको असरले आव २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर १.८ देखि २.५ प्रतिशतमा खुम्चिने विश्व बैङ्कले प्रक्षेपण गरिसकेको छ । महामारी अझै कति समय लम्बिने हो भन्ने आकलन गर्न सकिने अवस्था नभएकोले अहिलेको अझै कति क्षति हुन्छ भन्न सकिँदैन ।

यो संकटले नेपालको बैङ्किङ क्षेत्रलाई चाहिँ कस्तो असर पार्ला ?

पक्कै पनि गम्भीर असर गर्नेछ । बैङ्क वा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको ब्याज वा साँवाको भुक्तानी समयमै नभएमा त्यस्तो कर्जालाई निस्कृय कर्जाका रुपमा वर्गीकरण गर्ने गरिन्छ । हालको अवस्थामा ऋणीहरूले कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न समस्या पर्ने देखिएको छ।

नेपाल राष्ट्र बैङ्कले २०७६ चैत्र मसान्तसम्मको साँवा ब्याज चुक्ता भुक्तान गर्ने समय २०७७ असार मसान्तसम्म बढाइदियो । संकट लम्बिँदै गयो भने बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा असुलीमा मुख्य असर पर्ने देखिन्छ ।

विश्व बैङ्कले भनेको जस्तै मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसायमा ठूलो प्रभाव पर्दा साँवा र ब्याज भुक्तानीमा विकराल समस्या देखिन सक्छ । विप्रेषणमा आएको कमी, सरकारले विकास खर्च पूर्व निर्धारित गर्न नसक्ने अवस्था लगायतका कारणहरूले गर्दा बैङ्किङ क्षेत्रको तरलतामा चाप पर्ने देखिन्छ ।

तपाईंहरूले ऋणीलाई ब्याजमा सहुलियत दिने निर्णय गर्नु भएको छ । कसरी यो निर्णयमा पुग्नुभयो ?

अहिलेको परिस्थितिमा हाम्रा ग्राहक महानुभावहरू निकै ठूलो समस्यामा पर्नुभएको हामीले महसुस गरेका छौँ। अहिलेको विषम परिस्थिति भनेको एक-अर्कालाई परेको पिर-मर्का बुझ्ने एवं आपसी सहयोग मार्फत आफू पनि बाँच्ने र अरूलाई पनि बचाउने हो ।

यसै विषयमा गहन आन्तरिक छलफल गरेपश्चात् हामीले सम्भवत नेपालको बैङ्किङ इतिहासमै पहिलोपटक सबै प्रकारका कर्जाको साधारण ब्याजमा १० प्रतिशत छुट दिने घोषणा गरेका छौँ । यस्तै हर्जनामा शतप्रतिशत छुटको निर्णय गरेका छौँ । निश्चय नै यसले यो विषम परिस्थितिमा मलमपट्टी लगाउने काम गर्छ भन्ने विश्वास लिएको छु ।

यो सहुलियतको विचार चाहिँ तपाईंमा कसरी आयो ?

पहिलो कुरा त यो आइडिया मेरो मात्र होइन । यो बैङ्कको अध्यक्षज्यू, सञ्चालकज्यूहरू, बैङ्कको उच्चपदस्थ पदाधिकारीहरू लगायत सबैसँग सघन छलफल गरी सामूहिक निर्णय गरिएको हो ।

हाम्रो बैङ्कको कर्पोरेट नारा नै ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ हो । ‘बैङ्क अफ फर्स्ट च्वाइस’ बन्ने हाम्रो उद्देश्य हो । जुनसुकै निर्णय गर्दा पनि हामीले बैङ्कको नारा र उद्देश्य चरितार्थ हुने गरी गरेका छौँ ।

यतिबेला बैङ्कले व्यवसायीलाई र व्यवसायीले बैङ्कलाई दोषारोपण गरेर आफू पानी माथिको ओभानो हुन खोज्ने प्रवृत्ति देखिन थालेको छ । यसलाई चिर्न बृहत्तर राष्ट्रिय ऐक्यबद्धता आवश्यक छ । यही मनसायले अभिप्रेरित भएर हामीले कदम चालेका हौँ।

यसले एनआईसी एशिया बैङ्कलाई देशकै सबैभन्दा गतिशील, विश्वसनीय र उत्तरदायी बैङ्क बन्न सहयोग गर्छ भन्ने विश्वास लिएका छौँ ।

बैङ्कले अफर गरेको सहुलियत प्याकेजबारे अझै विस्तृतमा बताइदिनुस न ।

हाम्रा ग्राहकहरूले वैशाख मसान्तसम्ममा बैङ्कलाई भुक्तान गर्नुपर्ने ब्याजमा १० प्रतिशत र हर्जाना ब्याजमा पूर्णरुपमा छुटको व्यवस्था गरेका छौँ । उदाहरणको लागि कुनै ग्राहकले त्रैमासिक रुपमा भुक्तान गर्नु पर्ने ब्याज रकम चैत्रमा उठ्न बाँकी रहेको र वैशाखमा पूर्ण भुक्तान गर्नुभएमा १० प्रतिशतको छुटको व्यवस्था गरेका छौँ ।

त्यस्तै, मासिक रुपमा भुक्तानी गर्ने ग्राहकहरूको हकमा चैैत्र महिनाको उठ्न बाँकी किस्ता रकम र वैशाख महिनाको उठ्नुपर्ने किस्ता रकम वैशाख मसान्तसम्म भुक्तान गर्नुभएमा पनि १० प्रतिशत छुट दिइनेछ । साथै यसमा लाग्ने हर्जना ब्याजको शतप्रतिशत मिनाहा हुने व्यवस्था गरेका छौँ ।

यस्तो ब्याज छुट कोभिड-१९ बाट प्रभावित कर्जाहरूको लागि मात्रै त होइन नि ?

यो सबैका लागि ल्याइएको छुट सुविधा हो । अहिलेको विषम परिस्थितको प्रतिकूल असर सम्पूर्ण व्यवसायलाई नै परिरहेको हुनाले सम्पूर्ण प्रकृति र क्षेत्रका ग्राहकहरूले उपभोग गर्ने गरी ल्याइएको हो । तर, यसरी छुट दिँदा बैङ्कको आधार दर अर्थात् ९.६१ प्रतिशतभन्दा कम चाहिँ नहुने गरी व्यवस्था मिलाएका छौँ ।

ब्याज र हर्जाना छुट वैशाख महिनाको लागि मात्रै हो कि पुरानोको हकमा पनि हो ?

वैशाख महिनामा उठ्नु पर्ने ब्याजमा मात्रै छुट दिने भन्न खोजिएको होइन । उदाहरणको लागि यदि कुनै ग्राहकको श्रावणदेखि नै किस्ता वा ब्याज भुक्तानी गर्नुपर्ने थियो र उसले श्रावणदेखि अहिले वैशाख मसान्तसम्मको बक्यौता चुक्ता भुक्तान गर्न आएमा हर्जना ब्याज छुट तथा ब्याज रकममा १० प्रतिशत छुटको व्यवस्था गरिएको हो ।

हामीले अहिलेको वा पहिलाको हर्जना भनेर वर्गीकृत गरेका छैनौँ, सबै नै छुट हुन्छ । ग्राहकले वैशाख मसान्तसम्ममा आफ्नो बक्यौता रकम भुक्तानी गर्नुपर्छ । हामीले ज्येष्ठको ७ गते भित्रमा छुटको रकम सम्बन्धित ग्राहकका खातामा स्वतः फिर्ता गरिदिने छौँ ।

चैत्र मसान्तमा ब्याज तिरेका ग्राहकहरूलाई चाहिँ के हुन्छ ?

चैत्र मसान्तसम्ममा ब्याज भुक्तानी गरिसकेका ग्राहकले ब्याज छुट प्राप्त गर्न सक्नुहुने छैन । तर, वैशाख महिनाको ब्याज भुक्तानी गर्दा भने छुट हुन्छ ।

यो ब्याज छुटको प्याकेजले बैङ्कलाई कत्तिको आर्थिक भार पर्छ ?

देशका व्यवसायी र आमजनसमुदायलाई कसरी सहयोग गर्न सकिन्छ र अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्न सोचका साथ यो योजना अघि सारिएको हो । बैङ्कलाई ठूलै आर्थिक भार त पर्छ नै । यतिबेला आर्थिक भार खेपेर पनि सहयोग गर्नुपर्छ ।

राष्ट्र बैङ्कले नयाँ प्याकेज ल्याउने तयारी पनि गरिरहेको छ, अब सरकारी स्तरबाट आउने प्याकेज कस्तो हुनुपर्छ ?

आजको यो गम्भीर परिस्थितिले देश र जनतालाई परेको असरबारे नेपाल राष्ट्र बैङ्क तथा नेपाल सरकारले गहन छलफल एवं विश्लेषण गरिरहेको छ । अन्य देशले गरेका अभ्यासलाई समेत हामी रिफ्रेन्सको रुपमा लिन सक्छौँ ।

जस्तै, अमेरिकी सरकारले २.२ ट्रिलियन डलर (जीडीपीको १० प्रतिशत), इटाली सरकारले ७५० विलियन युरो (जीडीपीको ५० प्रतिशत), जापान सरकारले १०८.२ ट्रिलियन येन (जीडीपीको २० प्रतिशत), बंगलादेश सरकारले ८.५ विलियन डलर (जीडीपीको २.५ प्रतिशत), अष्ट्रेलिया सरकारले १९४ विलियन अस्ट्रेलियन डलर (जीडीपीको ९.९ प्रतिशत) बराबरको विशेष प्याकेज ल्याएका छन् । हाम्रै मित्र राष्ट्र भारत तथा चीनले पनि विभिन्न प्रभावकारी वित्तीय प्याकेजहरू कार्यान्वयनमा ल्याइसकेका छन् ।

परिस्थितिको गाम्भीर्यता तथा यसले अर्थतन्त्रमा पारेको बहुआयामिक प्रभावलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैङ्क तथा नेपाल सरकारले सबैसँग छलफलको प्रक्रिया अघि बढाइसकेको छ । छिट्टै नै देशको सर्वाङ्गीण स्थितिलाई मध्यनजर गर्दै सम्भव हुने हदसम्मको उत्कृष्ट र प्रभावकारी, उद्धार हुने खालको विशेष प्याकेज ल्याउने छ भन्नेमा मलाई पूर्ण विश्वास छ ।

निजी क्षेत्रले राखेका विभिन्न मागहरू, जस्तै बैङ्कहरूको आधार दर ५ प्रतिशतमा झार्नु पर्ने, स्प्रेड दर ३ प्रतिशतमा ल्याउनुपर्ने आदिमा तपाईंको प्रतिक्रिया के छ ?

अहिले आवश्यकता भनेको नै समग्र अर्थतन्त्रलाई सुदृढ राखिराख्ने र सबै व्यक्ति, समुदाय, क्षेत्र एवं व्यवसायहरूलाई बचाउने हो। अहिले सबै तहतप्काका व्यक्तिहरूले आफ्नो मात्र हित नहेरी सबैको हितलाई ध्यानमा राखेर अघि बढ्ने बेला हो ।

यसलाइ मनन गर्दै निजी क्षेत्रको आवश्यकता र भावना सम्बोधन हुनेगरी नेपाल राष्ट्र बैङ्क तथा नेपाल सरकारबाट ठोस नीति तथा प्याकेज आउँछ भन्नेमा म पूरा विश्वास गर्छु ।

बैङ्कहरूले सेवा त दिइरहेका छन्, सेवासँगै कोेरोनाविरुद्धको सतर्कतामा कत्तिको ध्यान दिनुभएको छ ?

बैङ्किङ क्षेत्र एक अत्यावश्यक सेवा हो । अहिले जोखिमको अवस्थामा हामीले आवश्यक सबै सावधानीहरू अपनाएर बैङ्किङ सेवाहरु सञ्चालनमा ल्याएका छौँ ।

सरकारले लकडाउनको घोषणा गरेसँगै आफ्ना ग्राहकहरू बैङ्किङ सेवाबाट बञ्चित हुनु नपरोस् भनेर डिजिटल हेल्प डेक्सको स्थापना गरिएको छ । साथै, प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत ग्राहक सहायता केन्द्रको स्थापना गरिएको छ । यस डिजिटल हेल्प डेक्स तथा ग्राहक सहायता केन्द्रबाट ग्राहकहरूको समस्या तत्काल समाधान गर्ने गरी काम भइरहेको छ ।

त्यस्तै, देशैभरिका मुख्य-मुख्य क्षेत्रका शाखा कार्यालयहरू दिनमा दुई घण्टाको दरले खुलाएर बैङ्किङ सेवा दिइरहेका छौँ । यो समयमा वित्तीय समस्या नपरोस् भनेर हामीले आफ्नो डिजिटल बैङ्किङ सेवाहरूलाई एकदम चुस्त बनाउनुका साथै देशैभरिका ४६६ एटिएमहरू समेत २४ सै घण्टा सुचारु राखेका छौँ।

सरकारले लकडाउन गरेकाले बैङ्कको शाखा कार्यालयसम्म आउन पनि समस्या हुने स्थिति छ । त्यसैले डिजिटल बैङ्किङ कारोबार गर्न सबै ग्राहक महानुभावहरूलाई आह्वान गरिरहेका छौँ। त्यसलाई प्रोत्साहन गर्न सम्पूर्ण डिजिटल कारोबारलाई निःशुल्क पनि बनाएका छौँ ।

अनलाइन खाता खोल्न सकिने, बैङ्कको सेवा सुविधाको बारेमा वेवसाइटबाटै पूर्ण जानकारी प्राप्त गर्न सकिने र समग्रमा भन्दा खाता खोल्ने, कर्जा माग गर्ने, युटिलिटी पेमेन्ट गर्ने, रकम ट्रान्सफर गर्ने लगायतका बैङ्कका शाखाबाट प्राप्त गर्न सकिने सबै बैङ्किङ सेवाहरू सहजरुपमा वेबसाइट तथा एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएका छौँ ।

यस्तो विषम परिस्थितिमा ग्राहक वर्गलाई के सल्लाह दिन चाहनुहुन्छ ?

कोभिड-१९ को संक्रमणबाट बच्न सम्पूर्ण सावधानी अपनाई र धैर्यवान रहन म सबैलाई अनुरोध गर्दछु । हामी आफ्ना ग्राहकवर्ग र उहाँहरुको व्यवसाय तथा वित्तीय अवस्थामा पर्न गएको असरलाई अध्ययन तथा विश्लेषण गरिरहेका छौं । उहाँहरुलाई के–कस्तो सहयोग गर्न सकिन्छ भन्नेमा चिन्तनशील छौँ ।

मलाई पूर्ण विश्वास छ कि नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कले समेत परिस्थितिको गाम्भीर्यतालाई मध्यनजर गर्दै राहत, सहुलियत र पुनरुत्थानका ठोस एवं प्रभावकारी प्याकेज ल्याउने नै छन् । त्यसैले हालको विषम परिस्थितिमा सकारात्मक रही आत्मविश्वासलाई दिगो राख्दै धैर्यवान रहन म सबैलाई अनुरोध गर्दछु ।

तपाईंले नेतृत्व गर्नुभएको बैङ्क वासलातको आकारसहित सबै वित्तीय परिसूचकहरूमा उत्कृष्ट बैङ्कमध्येमा पर्छ । धेरैले रोशन न्यौपानेले नेपालको बैङ्किङ क्षेत्रमा क्रान्ति नै ल्याइदियो पनि भन्छन् । धेरै युवाले तपाईंलाई रोल मोडलको रुपमा समेत लिएको पाइन्छ । तपाईको योगदानलाई कदर गर्दै राज्यले समेत तपाईंलाई प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) पदक दिने निर्णय गर्‍यो । यस परिप्रेक्ष्यमा तपाईंको अनुभव के-कस्तो रह्यो बताइदिनुस् न ।

म विगत १२ वर्षदेखि यही बैङ्कमा नै कार्यरत छु । यो बैङ्कलाई मैले जरैदेखि बुझेको छु र बैङ्कको सबै सरोकारवालाहरूको हरेक आयामसँग म पूर्णरुपमा परिचित छु । त्यसैले मलाई देशकै सबैभन्दा बढी ३१९ शाखाको सञ्जाल भएको, ग्राहक संख्या २१ लाख भन्दा बढी भएको, ३६ सयभन्दा बढी कर्मचारी भएको, दुई खर्ब ३० अर्बभन्दा बढीको वासलातको आकार भएको र अधिकांश वित्तीय परिसूचकहरूमा देशकै अग्रणी बैङ्क बन्न सफल यस एनआईसी एशिया बैङ्कको नेतृत्व गर्न कुनै समस्या भएन ।

जहाँसम्म विगत तीन वर्षको अवधिमा यस बैङ्कले चामत्कारिक फड्को मारेको विषय छ त्यो चाहिँ मेरो एकल प्रयासले भएको होइन यसमा बैङ्कका अध्यक्षज्यू, सञ्चालकज्यूहरू, बैङ्कको उच्च पदस्थ कर्मचारी साथीहरू लगायत बैङ्क परिवारको हरेक सदस्यको सामूहिक एकताबद्ध र अनुकरणीय प्रयास र सबैले दिनरात सजिलो अफ्ठ्यारो केही नभनीकन गरेको अथक पारिश्रमको मुख्य भूमिका र योगदान छ।

त्यसैले बैङ्कको यस सफलताको श्रेय म बैङ्क परिवारको हरेक सदस्यलाई दिन चाहन्छु । बाहिरबाट झट्ट हेर्दा सीईओलाई देखिने भए तापनि बैङ्कले हासिल गरेको यस प्रकारको ऐतिहासिक उपलब्धिको पर्दा पछाडि सम्पूर्ण बैङ्क परिवारको एउटै सोच, एउटै उद्देश्य र एउटै गन्तव्यको शक्ति भएको कारणले मात्र यो सबै असम्भव लाग्ने उपलब्धिहरू हासिल गर्न सम्भव भयो भन्ने मलाई लाग्छ । तर, पनि म के भन्न चाहन्छु भने हामीले जति गर्न सक्छौँ भन्ने सोचेका छौँ त्यसको तुलनामा हामीले गर्न बाँकी धेरै विषयहरू छन् ।

अन्त्यमा, के भन्न चाहन्छु भने नेपालको बैङ्किङ क्षेत्रले र समग्र अर्थतन्त्रले नै एक्काइसौँ शताब्दी सुहाउँदो एउटा युगान्तकारी परिवर्तन खोजिरहेको छ र हामी सबैले नेपालको बैङ्किङ एन्ड फाइनान्सियल सिस्टमको सबलीकरण, सुदृढीकरण र आधुनिकीकरणमा अझ धेरै माइल्स्टोनहरू थप गर्नेतर्फ मन, वचन र कर्मले सम्पूर्ण रुपमा आफूलाई केन्द्रित गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment