Comments Add Comment

चुलो निभ्यो ? चिन्ता नगर्नुस्, घरमै आउँछ खाना !

८ वैशाख, पोखरा । ‘सर नमस्ते ! राहत बाँड्दै हुनुहुन्छ भन्ने सुनेँ । हाम्रो त बिजोगै हुन लाग्यो सर,’ दीपक श्रेष्ठले पौरखी स्वयंसेवी समूहले उपलब्ध गराएको नम्बरमा फोन गर्दै भने, ‘केही सहयोग गर्नुपर्‍यो । भोकै मर्न लाग्यौँ ।’

हेटौंडा घर भई हाल पोखरामा डकर्मी काम गर्दै आएका श्रेष्ठको लकडाउन अघिसम्म केही आम्दानी थियो । त्यसैले गुजारा चलाउँथे, केही रकम घरमा पनि पठाउँथे ।

११ चैतबाट लकडाउन लागु भयो । दीपकसँग न काम रह्यो न आम्दानी नै । लकडाउन लम्बिएपछि कोठामा रहेका सबै खाद्यान्न सकियो । पापी पेटले खाली बस्न के मान्थ्यो र ? कसैले सुनाइदिए, ‘ पौरखी समूहले राहत दिन्छ । फोन गर् ।’

नभन्दै पौरखी समूहलाई फोन गरेको केही समयमै उनी भएको ठाउँमा केही मानिस पुगे । वास्तविक अवस्था बुझे । पौरखी समूहका श्रेष्ठको अवस्थाबारे ‘रिपोर्टिङ’ गरे । र, केहीबेरमा त्यहाँ प्याकेटमा खाना लिएर गाडी आइपुग्यो ।

खाना पाएपछि खुसी हुँदै उनले भने, ‘मजदुरी गर्ने हो हजुर । मैले काम गरेरै बुढीको उपचार र चुलो बल्ने हो । कामै नभएपछि खाना पनि बन्द हुन थालेको थियो ।’

दीपकले त खाद्यान्न आए हुन्थ्यो भन्ने चाहेका थिए । तर, फोन खाना बाँड्ने समूहलाई गरेकाले खाना नै आयो । जे होस्, लकडाउन अवधिभर श्रेष्ठको भोक टर्ने निश्चित भयो । खुसी हुँदै भने, ‘ठेकेदारसँग केही पैसा ल्याउन बाँकी थियो । तर बैङ्क बन्द छ भनेर दिनै मानेन । उपाय नलागेपछि के गर्नु त ?’

रामबजार बस्ने हेम मगर पनि घरमा चुलो  निभेपछि के गर्ने गर्ने अवस्थामा थिए । हिँडेरै गाउँ जाउँभन्दा पनि श्रीमती युरिक एसिडको बिरामी छिन् । हिँडडुल गर्न गाह्रै हुन्छ । तनावमा रहेका बेला निःशुल्क खाना दिने सुनेर फोन गरे । केही समयपछि खाना आइपुग्यो । खाना पाएपछि खुसी हुँदै उनले भने, ‘मजदुरी गर्ने हो हजुर । मैले काम गरेरै बुढीको उपचार र चुलो बल्ने हो । कामै नभएपछि खाना पनि बन्द हुन थालेको थियो ।’

विश्वव्यापी महामारीका रुप लिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनको अवधि बढ्दै जाँदा दैनिकी मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुर तथा विपन्न वर्गमा समस्या थपिँदै गएको छ ।

उनीहरुको रोजीरोटीमा समस्या नआओस् भनेर पोखरा महानगरपालिकाले पहिलो चरणमा राहत वितरण परेको थियो। तर, २० हजार परिवारलाई खाद्यान्न उपलब्ध गराउँदा उल्टो विवादमा फस्यो । त्यसपछि महानगरले ‘क्विक रेस्पोन्स टिम’ बनाएको छ, जसलाई चुलो बाल्नै सकस परेका व्यक्तिले आफैँ सम्पर्क गर्छन् र उनीहरूको घरमै पुगेर वास्तविकता बुझेर राहत दिइन्छ ।

‘पहिलो चरणमा बाँडेका राहत हुनेखानेले पनि पाएको भन्ने गुनासो धेरै सुनियो । राहत वितरणको प्रक्रियालाई केही फरक बनाउँदै हामीले क्विक रेस्पोन्स टिम खडा गरेका हौँ,’ मेयर मानबहादुर जिसीले अनलाइनखबरसँग भने, ‘यसमा जसको घरमा चुलो निभ्छ उहाँहरू आफैँ सम्पर्क गर्नुहुन्छ र हामी घरमै पुग्छौँ ।’

खाद्यान्न आवश्यक पर्ने परिवारलाई महानगरले आफैँ राहत उपलब्ध गराउँदै आएको छ । अशक्त, अपांग, वृद्धवृद्धा लगायतलाई भने तयारी खाना नै पुर्‍याइनेछ । निःशुल्क खाना खुवाउन खटिएका छन्, याक तिब्बतीयन रेस्टुरेन्ट र पौरखी स्वयंसेवी समूह ।

पौरखी समूहले तीन दिनमा आठ सय प्याकेट खाना विपन्न र समस्यामा परेकालाई खुवाएको छ भने तिब्बतीयन रेस्टुरेन्टले चार सय प्याकेट बाँडेको छ। ‘सामाजिक सञ्जाल, सञ्चारमाध्यममा फोन नम्बर उपलब्ध गराएका छौँ । त्यसैका आधारमा उनीहरू फोन गर्छन्,’ पौरखी स्वयंसेवी समूहका विष्णुप्रसाद बरालले भने, ‘यसमा भेरिफाइ गर्न सम्बन्धित ठाउँका जनप्रतिनिधिलाई समन्वय गर्न भनेका छौँ । उहाँहरूले नै वास्तविक स्थितिबारे हामीलाई जानकारी दिएपछि बल्ल खाना लिएर पुग्छौँ ।’

यस्तै याक तिब्बतीयन रेस्टुरेन्टले भने आफ्नै पहलमा समस्यामा परेकाहरूलाई खाना खुवाउने गरेको छ । ‘पहिलो दिन त म आफैँ खोज्न हिँडेको थिएँ, दोस्रो दिनदेखि ठाउँठाउँमा मान्छे राखेर अभियान चलाइरहेका छौँ,’ रेस्टुरेन्ट सञ्चालक हरिशरण थपलियाले भने, ‘प्रहरी चौकी, नाकालगायत सबै ठाउँमा सम्पर्क नम्बर र व्यक्ति राखेका छौँ । उहाँहरूले सम्पर्क गरेपछि खाना लिएर जान्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment