Comments Add Comment

धक खोलेर हाँस्नु : एक ओखती

तपाईं आफैँले अनुभव गर्ने कुरा हो कि, धक खोलेर हाँस्दा तपाईंमा के कस्ता परिवर्तन पाउनुहुन्छ ? मन चंगा हुन्छ । फुरुंग हुन्छ । ज्यान हल्का भएको अनुभव हुन्छ ।

अंग्रेजीमा एउटा भनाइ छ, ‘लाफ्टर इज द बेस्ट मेडिसिन ।’

जब हामी मस्तसँग हाँस्छौँ, शरीर आफैँ लाभान्वित हुन्छ । जस्तो कि यसले हाम्रो मनलाई खुसी तुल्याउनेदेखि फोक्सोको व्यायाम हुनेसम्मको काम गर्छ । त्यसैले त भनिन्छ, जसले हाँस्न जानेको, उसैले बाँच्न जानेको छ ।

हाँस्नु एक मानवीय स्वभाव हो । यसलाई हामीले कतै खरिद गर्नु पर्दैन, सापटी लिनु पर्दैन । हामी आफैँभित्रबाट स्वतस्फूर्त प्रकट हुन्छ । तर, दुःखलाग्दो कुरा के छ भने हामी हाँस्नमा निकै कन्जुस गर्छौँ ।

कसैले ठट्टा गरेमा वा कुनै हाँस उठ्दो प्रसंग सुनाएमा हाँस्छौँ । त्यस्तै दृश्य देखेमा, पढेमा हाँस्छौँ। वा परिस्थिति नै हाँस्ने भएमा मात्र हाम्रो ओठबाट हाँसो फुत्किन्छ । अरुबेला हामी गम्भीर मुद्रामा बस्छौँ । हाँस्दैनौँ ।

कतिपयको भने स्वभाव नै हाँस्ने हुन्छ । स-साना कुरामा पनि गजबले हाँस्छन् । उनीहरू जतिबेला पनि फुरुंग र दंग देखिन्छ ।

हामीले पनि हाँस्ने अभ्यास गर्न सकिन्छ । स–साना कुरामा रमाएर हाँस्ने बानी विकास गर्न सकिन्छ । यो आफैँमा फाइदाजनक छ भनेपछि हाँस्नमा किन कन्जुस्याइँ गर्ने त ?

जब हामी हाँस्छौँ, हाम्रो आसपासको माहोल पनि रमाइलो बन्छ । आफ्ना अगाडि व्यक्ति पनि हाँस्छन् ।

हाँस्दा हाम्रो स्वास्थ्य मात्रै होइन अनुहार पनि राम्रो हुन्छ । हाँसोले हाम्रो शरीरको मांसपेशीहरू, आँखा तथा अन्तरहृदयलाई आराम दिन्छ ।

हट्नेछ तनाव

हाँसोमा तनाव, दुख, झगडा आदि समाप्त गर्ने गजबको शक्ति हुन्छ । तपाईंको दिमाग र शरीरमाथि हाँसोले जुन प्रभाव पार्न सक्छ, दुनियाँको कुनै औषधिले पार्न सक्दैन ।

विशेषज्ञहरूका अनुसार हाँस्नु यसकारण पनि आवश्यक छ कि यसबाट तपाईं बढी सामाजिक बन्नुहुन्छ र मानिसहरूसँग चाँडै घुलमिल हुन सक्नुहुन्छ । यसले तपाईंलाई डिप्रेसनको सम्भावनाबाट टाढा राख्छ ।

प्रतिरक्षा प्रणाली बलियो

एक अनुसन्धान अनुसार अक्सिजनको उपस्थितिमा क्यान्सरवाला कोषिकाहरू तथा थुप्रै अन्य प्रकारका हानिकारक ब्याक्टेरिया एवं भाइरस नष्ट हुन्छन् । र, हाँस्दा हामीलाई बढी मात्रामा अक्सिजन प्राप्त हुन्छ र यसले शरीरको प्रतिरक्षातन्त्र मजबुत बनाउँछ ।

यति मात्र होइन एक अर्को शोधका अनुसार हाँस्ने क्रममा हामी गहिरो सास लिने र छोड्ने अभ्यास गर्छौँ । यसबाट शरीरमा अक्सिजनको सञ्चार राम्रोसँग हुन्छ । यसले गर्दा हामी लामो समयसम्म ताजा तथा उर्जायुक्त रहन सक्छौँ।

सकारात्मक उर्जा

हाँसीमजाकले आफ्नो मन र मस्तिष्कको बोझ हल्का मात्रै गर्न सक्नुहुन्न, आफूभित्र सकारात्मक उर्जाको सञ्चार पनि गर्न सकिन्छ । सकारात्मक रहेको अवस्थामा जुनसुकै काम गर्दा त्यसमा अझै राम्रो ध्यान केन्द्रित गर्न सकिन्छ । केही  समय खुलेर हाँस्दा मांसपेशीहरूमा कमसेकम ४५ मिनेटसम्म रिल्याक्स महसुस हुन्छ । यसका अलावा हाँस्नुले तपाईंको रोग प्रतिरोधक क्षमता पनि बढ्छ । भनिन्छ, एक सकारात्मक व्यक्तिले आफ्नो वरिपरि खुसी र आनन्दको सञ्चार गर्न सक्छ ।

मुटु बलियो बनाउँछ

हाँस्दा हृदयको एक्सरसाइज पनि हुन्छ । रक्तसञ्चार राम्रो हुन्छ । हाँस्दा शरीरबाट एन्डोर्फिन नामक रसायन निस्किन्छ । जसले हृदयलाई मजबुत बनाउँछ । नियमित हाँस्नाले हार्ट अट्याकको सम्भावना पनि घट्ने विभिन्न अनुसन्धानबाट पाइएको छ ।

रोगहरूबाट बचाउँछ

यदि हरेक बिहान हास्य ध्यान योगा गर्ने हो भने दिनभरि तपाईंमा प्रशन्नता तथा स्फूर्ति छाउँछ । यदि रातमा यो योग गर्ने हो भने मीठो निद्रा पर्छ । हास्य योगले हाम्रो शरीरमा केही हर्मोन्सको क्षय हुन्छ जसले मधुमेह, पिठ्युँको दुखाइ तथा तनावबाट पीडित व्यक्तिहरूलाई फाइदा मिल्छ ।

चाउरी रोक्छ

जोडदार हाँसोले अनुहारका मांशपेशीहरूको एक्सरसाइज हुन्छ । यसले गर्दा अनुहार चाँडै चाउरी पर्दैन । त्यसैले यसलाई नेचुरल कस्मेटिक पनि भन्न सकिन्छ । किनकी यसले अनुहारलाई सुन्दर बनाउँछ । धेरै हाँस्ने व्यक्तिहरू लामो समयसम्म युवा देखिने विशेषज्ञहरू बताउँछन् ।

रक्तसञ्चारमा सुधार

युनिभर्सिटी अफ मेरिल्यान्डको एक सोधअनुसार हाँस्नुको सम्बन्ध शरीरको रक्तसञ्चारसँग हुन्छ । यस अध्ययनमा सहभागीहरूलाई दुई समूहमा राखिएको थियो । पहिलो समूहलाई कमेडी कार्यक्रम देखाइयो र दोस्रोलाई ड्रामा । अध्ययनमा पाइयो कि कमेडी कार्यक्रम हेर्दै खुलेर हाँसिरहेका सहभागीहरूको रक्तसञ्चार अर्को समूहका सहभागीकोभन्दा निकै राम्रो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment