Comments Add Comment

लकडाउनकै बीच प्रदेश १ मा ठूला आयोजनाको काम सुरु

८ वैशाख, विराटनगर । प्रदेश १ सरकारले लकडाउनको समयमा पनि प्रदेश गौरवमा आयोजनासहित एक दर्जन ठूला आयोजनाको काम सञ्चालन गरेको छ ।

बर्खाअघिनै सम्पन्न गर्नुपर्ने अवस्थाका र अति आवश्यक सेवासंग जोडिएका पुल पुलेसा र सडक निर्माण अघि बढाएको प्रदेश सरकारले जनाएको छ । प्रदेशको गौरवका आयोजनासहितका विकास निर्माणको काम अघि बढाइएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

प्रदेश सरकारले ५ वैशाखमा गौरवको आयोजना घिनाघाट–विराटचोक सडकसहित अन्य बहुबर्षीय आयोजनाहरुको काम अघि बढाउने निर्णय गरेको थियो ।

मन्त्री आङ्बोले कतिपय पुल निर्माणका आयोजना बर्खाअघि नै सम्पन्न नभए पुनः शून्यबाट शुरु गर्नुपर्ने अवस्था भएको र केही आयोजना अत्यावश्यक सेवासँग पनि जोडिएकाले सुरक्षात्मक उपाय अपनाएर निर्माण अघि बढाएको जानकारी दिए ।

‘यी यस्ता नगरी नहुने पुल पुलेसादेखि सडक कालोपत्रेको काम सञ्चालन भएका छन्, स्थानीय स्रोत साधन उपयोग गरी ती कामका लागि स्थानीय श्रमिक प्रयोग हुनेछन्’ उनले भने ।

विकास निर्माणमा बाधा हुनुका साथै निर्माणमा खटिने मजदुरलाई पनि समस्या हुने निश्कर्षसहित यस्ता आयोजना सुरु गरेको प्रदेश सरकारको भनाइ छ ।

अहिले मोरङको दर्बेशा धनपालथानमा सडक, केशलिया खोलाको पुल र डाँस खोलामा पुल निर्माणको काम शुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए ।

उनले अन्य आयोजनाको काम पनि अगाडि बढाउन ठेकेदारहरुसंग छलफल भएको बताए ।

मंगलबारदेखि प्रदेशको गौरवको सडक घिनाघाट–विराटचोक सडक, किसानचोक–टाँडीसहित एक दर्जन बढी पुल, पुलेसा र सडक योजनाको काम शुरु गर्ने तयारी भएको श्रेष्ठले जानकारी दिए ।

प्रदेश सरकारले चालु आर्थिक बर्षबाट प्रदेशमा २ करोडदेखि डेढ अर्बसम्मका ३ सय बढी अयोजना सञ्चालन गरेको छ । जसमा ७५ भन्दा बढी पुल, ६२ वटा सडक र कतिपय खानेपानी, सिञ्चाई, शहरी विकासका आयोजना रहेका छन् ।

ती सबै बहुबर्षीय ठूला आयोजना यही आर्थिक बर्षमा ठेक्का लागेर केही आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् भने केहीको निर्माण भर्खरै सुरु भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment