Comments Add Comment

जमाती को हुन् ? कोरोनासँग लडौं, समुदायसँग होइन

फाइल तस्वीर ।

विश्व समुदाय अहिले कोरोना भाइरस (कोभिड-१९) का कारण त्रसित छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म एक लाख ६० बढी व्यक्तिले ज्यान गुमाएको छ भने लाखौं व्यक्ति संक्रमित भएका छन्।

संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ । कोरोना संक्रमित भई उपचारपछि करिब छ लाख व्यक्ति पूर्णरूपमा निको हुँदै घर फर्किएका पनि छन् । जुन तपाईं हामीलाई कोरोना महामारीबाट लड्न प्रेरणा दिने सकारात्मक खबर हो ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिब एक महिनायता देशैभर लकडाउन जारी राखेको छ । सरकारले लकडाउन गर्दा जो जहाँ थिए त्यहीँ फसेका छन् । उनीहरूले भोग्नुपरेको समस्याबारे तपाईं-हामी कल्पना मात्र गर्न सक्छौँ।

कोरोना भाइरसले विश्वभर निम्त्याएको विपद्को दौरान कोरोना संक्रमण र लकडाउनसँग सम्बन्धित मुस्लिम समुदायसँग जोडिएर अनेकौं किसिमका कुराहरू आइरहेका छन् । लकडाउन अगाडि नै मस्जिदहरूमा आएर बसेका केही जमातीमा कोरोना पोजिटिभ पाइएपछि सारा मुस्लिम समुदायलाई जोडेर गलत प्रचारबाजी गरिनु दु:खद् र निन्दनीय कुरा हो ।

ज्यान र जहान सबैलाई प्यारो हुन्छ । यसर्थ, कसैले जानीजानी कोरोना फैलाए भनेर भनिनु गलत हो । जमात मुस्लिम समुदायको एउटा समूह मात्र हो, सिङ्गो मुस्लिम समुदाय होइन भन्नेबारे स्पष्ट हुनुपर्ने देखिन्छ। जमातीलाई धर्म प्रचारक भन्नु सरासर गलत कुरा हो । न त कुनै जमातीले धर्म प्रचार गर्छ, न यसले इस्लाम धर्म अपनाउन गैरमुस्लिमलाई आग्रह नै गर्छ ।

को हुन जमाती ?

इस्लाम धर्मका आधारभूत विषयहरूका बारे प्रशिक्षित हुन निस्किने एउटा समूहलाई जमात भनिन्छ । यसरी आफ्नो घरपरिवार, कारोबार छाडेर निस्किने जमाती सिक्ने र सिकाउने नियतले हिँड्छन् । यसरी निस्किने जमातीहरूको पनि छुट्टाछुट्टै समूहहरू हुन्छन् ।

जमातमा पुरुषहरू पाँच किसिमले समूहमा निस्किने गरे पनि नेपालमा धेरैजसो व्यक्ति तीन दिने, ४० दिने र चार महिने यात्रामा हिँड्ने गरेका छन् । जमातीको आफ्नै एउटा समूह हुन्छ र उक्त समूहलाई नेतृत्व गर्ने एक जना नेतासमेत छनोट गरिएको हुन्छ ।

यात्राकै क्रममा विभिन्न स्थानमा जाँदा त्यस्ता जमाती र स्थानीयबीच कुनै सम्बन्ध हुँदैन । स्थानीयबाट मस्जिद बस्ने अनुमति मात्र माग्ने गरिन्छ । जमात निस्केका व्यक्ति अधिकांश समय मस्जिदभित्र नमाज, जिक्र र सिक्ने सिकाउनेमा व्यस्त रहन्छन् । उनीहरूले आवश्यक भाँडाकुडा, स्टोभ र खाद्यान्न साथमै लिएर हिँड्छन् ।

तर, प्रायःजसो त्यस्ता जमातीलाई आफैँ खाना पकाउनु पर्दैन । किनकी, जुन गाउँमा जाँदा ती गाउँका व्यक्तिले पालैपालो प्रत्येक दिन उनीहरूका लागि खानपिनको व्यवस्था गरेको पाइन्छ । जमातीको खानपिनको व्यवस्था कुनै व्यक्तिले आफूखुसी गर्ने गर्छन् ।

यसरी निस्किने जमातीहरूले पवित्र ग्रन्थ कुरआनमा उल्लेख गरिए अनुसार जीवन व्यतित गर्न इस्लाम धर्मावलम्बीलाई उपदेश दिँदै हिँड्छन् । तीन दिनका लागि निस्किने जमातीहरू कुनै एक स्थानमै बसेर फर्किने गरेका छन् भने ४० दिन वा चार महिने यात्रामा निस्केका जमातीहरू विभिन्न स्थानमा जाने र समय अवधि पूरा गरेर मात्र फर्किने गरेका छन् ।

सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिकाको जाँजरमा गएको फाल्गुन पहिलो साता सम्पन्न तीन दिने इज्तेमा नेपाल, भारतसहित विभिन्न देशका गरी लाखौं मुस्लिम धर्मावलम्बीहरू सहभागी भएका थिए । सोही इज्तेमाबाट सयौंको समूहमा जमातीहरू निस्किए ।

कोभिड-१९ को प्रकोप बढेपछि भने जमातको नयाँ समूह निस्किएका छैनन् । तर, उक्त इज्तेमा वा लकडाउन हुनुअघिसम्म जमातमा निस्किएका जमातीहरू लकडाउनमा फसे । सरकारले लकडाउन गरेपछि जसरी दुई छाक टार्न हिँडेका मजदुरहरू फसे, त्यसरी नै नेपालका आन्तरिक तथा विदेशी जमातीहरू जो जुन मस्जिदमा थिए त्यहीँ फसे । यस्ता जमातीहरूका बारे लुकेर बसेको भन्नु, पक्राउ परे भन्नु अशोभनीय भाषा हुन् ।

अवज्ञा गर्नेलाई कारबाही गरियोस्

केही स्थानमा आदेश विपरीत भिडभाड गरेका कारण प्रहरीले बल प्रयोग गर्नुपर्ने परेको पाइएको छ । पटकपटक सम्झाउँदा समेत अटेरी गरेपछि मात्र प्रहरीले बल प्रयोग गरेको हुनुपर्छ । सरकारले लकडाउन किन गर्‍यो ? मस्जिदमा भिडभाड गर्दै नमाज नपढौँ किन भनेको हो ? भन्ने कुरा मुस्लिम समुदायसहित सबैले बुझ्नुपर्छ ।

सरकारले घरबाट ननिस्कन निर्देशन दिएको छ, जसलाई पूर्णरूपमा पालना गरौँ । घरमै नमाज पढौँ । यदि कुनै जमाती मस्जिदमा फसेको वा भारत अथवा तेस्रो मूलकबाट कोही आएका छन् भन्ने तुरुन्त स्थानीय प्रहरी प्रशासनलाई खबर गरौँ । क्वारेन्टाइन पठाउन सहयोग गरौँ ।

यति हुँदाहुँदै पनि यदि काहीँकतै जमाती होस् वा कुनै व्यक्ति जानीजानी लुकाउन खोजिएकै छन् भन्ने त्यस्ता व्यक्तिलाई कारबाही गरियोस् । प्रहरी प्रशासनको आग्रहलाई अवज्ञा गर्नेलाई पहिचान गर्दै कडा कारबाही होस् ।

कसैलाई रोग लाग्नु अपराध होइन न त पाप नै । त्यसैले कोही कोरोना संक्रमित भए भने कुनै धर्मसँग जोडेर पनि नबुझौँ । आपसी सद्भाव र भाइचारा कायम राखौँ ।

कुनै कोम (समुदाय) सँग नभई समाजका भाइरसहरूको पहिचान गरी दण्डित गर्दै सामूहिक रूपमा कोरोनासँग मिलेर लडौँ । जात,धर्म, लिङ्ग, धनी, गरिब भन्ने भेदभावविना केवल मानव जाति रक्षाको लागि एकजुट होऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment