१० वैशाख, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएका ७८ वर्षीय एक पुरुषलाई रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा पठाइएको छ ।
बर्दघाटको चिसापानी स्थित सामुदायिक अस्पतालमा दुई पटक र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि उनलाई थप परीक्षणका लागि भैरहवा पठाइएको थियो । उनको थ्रोट स्वाबको नमुना संकलन गरी पीसीआर टेस्टका लागि पठाइएको थियो ।
बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले उनको स्वाब परीक्षणको रिपोर्ट नआए पनि हाल बुटवल स्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिए ।

७ जनाको परिवार रहेको उनको परिवारमा अन्यमा सदस्यहरूमा भने र्यापिड टेस्टमा रिपोर्ट नेगेटिभ आएको छ । ज्ञवालीले उनका परिवारको अन्य सम्पूर्ण सदस्यलाई उनकै घरमा सुरक्षित रुपमा क्वारेन्टाइनमा राखिएको बताए ।
बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाले अहिलेसम्म बर्दघाटमा एक सय ३४ जनामा आरडीटी टेस्ट गर्दा एक जनामा मात्र पोजेटिभ देखिएको जनाएको छ ।
दोस्रो र तेस्रो कोरोना संक्रमितसँगै एउटै हवाइ जहाजमा रहेका दुई जनाको भने र्यापिड टेस्ट गर्दा नेगेटिभ देखिएको भन्दै थ्रोट स्वाब गरिएको छैन । उनीहरूलाई घरमा नै क्वारेन्टाइनमा राखिएको ज्ञवालीले बताए ।
बर्दघाट नगरपालिकामा एक सय ३४ जना विदेशबाट आएको तथ्यांक भए पनि १३ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको थियो । तीमध्ये १० जना घर फर्किसकेका र ३ जना क्वारेन्टाइनमा रहेका बर्दघाटका स्वास्थ्य शाखा प्रमुख ज्ञवालीले जानकारी दिए ।