Comments Add Comment

तिब्बत सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपाल भित्रियो

१० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।

बुधबार नेपाल चीन व्यापारिक नाका तातोपानीमा चिनियाँ पक्षले स्वास्थ्य मन्त्रालयका वरिष्ठ विशेषज्ञ रोशन पोख्रेललाई उक्त सामग्री हस्तान्तरण गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

कोरोना रोकथामसँग सम्बन्धित करिब सवा ८ करोड रुपैयाँभन्दा धेरैको स्वास्थ्य सामग्री नेपालले बुझेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

प्राप्त सामग्रीमा १० हजार थान एन-९५ मास्क, १० हजार थान पीपीई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, पीसीआर मेसिन दुई थान, २० हजार थान टेस्टिङ किट र ५० थान वेट वाइप लगायत छ ।

चैत २८ गते तिब्बत सरकारको विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री ल्हासा हस्तान्तरण गरेकी थिइन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तिअनुसार यो चरणमा नेपाल ल्याइएको स्वास्थ्य सामग्री अनुदानमा पठाइएको हो ।

चिनियाँ दूतावासको विज्ञप्तिमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाललाई चीनको सद्भाव र सहयोग सधैं रहने उल्लेख छ । आगामी दिनमा सहकार्य र समन्वय बढाउँदै नेपाललाई सहयोग गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment