Comments Add Comment

मातातीर्थ औँसी : लकडाउनले रोकेन श्रद्धा

११ वैशाख, काठमाडौं । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । मानिसहरू आफूलाई जन्म दिने आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै मनाइरहेका छन् ।

तर, कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन (अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन रोक) लगाएकाले यी कामहरु पनि प्रभावित भएका छन् । आमाको मुख हेर्ने दिन सधैं मेला लाग्ने काठमाडौंको मातातीर्थ पनि आज सुनसान छ । मातातीर्थ मन्दिर, जलासय लगायतका स्थानमा प्रवेश गर्ने गेट बन्द गरिएको छ । तर, आमाप्रतिको श्रद्धा गर्न केले पो रोक्न सक्छ र ? मानिसहरू गेट बाहिरैबाट हेरेर आमालाई सम्झिए ।

मानिसहरू बिहीबार बिहानै लकडाउनलाई बेवास्ता गर्दै तलै पूजाआजा गरे । मातातीर्थबाट पानी बग्दै आएको खोलामा भए पनि पूजा गरिरहेका मानिसहरू थिए । हातमा फलफूल, धुप, दीप लिएका केही मानिसहरू खोलामा थिए । मानिसहरूले राधाकृष्ण मन्दिरमा समेत पूजाआजा गरिरहेका देखिन्थे ।

हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन। तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो ।

आमासँगै भएकाहरूले बिहानै उठी नुहाइधुवाइ गरी आमालाई भेटेर मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिने गर्छन् । आमासँग टाढा भएकाहरू फोन अथवा भिडियोमा कुराकानी गरेर श्रद्धा व्यक्त गर्छन् ।

आमा नभएकाहरूले भने नजिकको तीर्थस्थलमा गएर आमाको नाममा पिण्ड तथा सिदा दान गर्छन् । आमा नभएकाहरू भेला भएर पूजा स्नान गर्ने, पूजा गर्ने, श्राद्ध गर्ने मातातीर्थ आज सुनसान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment