Comments Add Comment

क्वारेन्टाइनमा बसेकी किशोरीले जन्माइन् मृत शिशु   

फाइल तस्वीर

१२ वैशाख, ओखलढुङ्गा । उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित किशोरीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका-१ की १६ वर्षीया अविवाहित किशोरीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् ।

मंगलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी किशोरीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो । केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए। शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको उनको भनाइ छ ।

‘अघिल्लो दिन उदयपुरबाट आएको हुनाले क्वारेन्टाइनमा राख्ने भनेर ल्याइयो । भोलिपल्ट बच्चा पो जन्मियो । समय नपुगी जन्मिएर होला शिशु खासै स्वस्थजस्तो थिएन,’ उनले भने, ‘मृत शिशु प्रहरीको जिम्मा लगायौँ र आमालाई यहाँको स्वास्थ्य संस्थामार्फत अस्पतालमा सिफारिस गरिएको छ ।’ क्वारेन्टाइनमा बच्चा जन्माउने किशोरीलाई अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ । रक्तस्रावको केही समस्या भए पनि किशोरीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

कोरोनाको डरले शिशुको शव परीक्षण भने गरिएको छैन । आमा केही दिनअघि मात्रै उदयपुरबाट आएकाले कोरोनाको संक्रमण हुनसक्ने डरले परीक्षण नगरेको बुझिएको छ । शिशुको शव परीक्षण गरे/नगरेको विषयमा इलाका प्रहरी कार्यालय वरुणेश्वरका प्रहरी निरीक्षक श्रीप्रसाद राईले कुनै प्रतिक्रिया दिएनन् । ‘अविवाहित भनिएकी किशोरीले मृत शिशु जन्माएकी हुन् । अहिलेलाई यत्ति भनौँ । शिशुको शव परीक्षणलगायतका कुरा पछि गरौँला नत्र माथिल्लो निकायमा सोध्नुस्,’ प्रहरी निरीक्षक राईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment