+
+
Shares

उद्योग वाणिज्य महासंघ महानिर्देशकमा तिवारी नियुक्त

यो नियुक्तिसँगै महासंघमा तिवारीको पुनरागमन भएको छ । यसअघि उनले सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा सचिवालय नेतृत्व सम्हालेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री डा. गोपालप्रसाद तिवारीलाई १ असोज २०८३ देखि लागू हुने गरी महानिर्देशक नियुक्त गरेको छ ।
  • महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले बुधबार सचिवालयमा तिवारीलाई नियुक्तिपत्र प्रदान गर्दै उनको अनुभव र विश्वसनीयताले संस्थागत छवि उचाइमा पुर्‍याउने बताए ।
  • तिवारी यसअघि पनि २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशक रहिसकेका छन् र २५ वर्षभन्दा बढी आर्थिक नीति तथा पीपीपी क्षेत्रमा काम गरेका छन् ।

३१ भदौ, काठमाडौं । नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक नियुक्त गरेको छ ।

महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले सचिवालयमा बुधबार तिवारीलाई १ असोज २०८३ देखि लागु हुने गरी नियुक्तिपत्र प्रदान गरेका हुन् ।  तिवारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले तिवारीको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता र निजी क्षेत्रको वकालत सम्बन्धी व्यावहारिक अनुभव एक महत्त्वपूर्ण मोडमा महासंघमा जोडिएको बताए ।

‘नेपालको आर्थिक संरचनामा डा. तिवारीको गहिरो पकड, बृहत अन्तर्राष्ट्रिय अनुभव र सरोकारवालाको विश्वासले महासंघको संस्थागत छवि थप उचाइमा पुर्‍याउने छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो नीतिगत पैरवी अझ प्रभावकारी बनाउन, उच्च प्रभावकारी सुधारका कार्यसूची कार्यान्वयन गर्न र नेपाली उद्यमहरूका लागि गतिशील तथा विश्वव्यापी रूपमा प्रतिस्पर्धी वातावरण निर्माण गर्न उनको नेतृत्व महत्त्वपूर्ण सावित हुनेछ ।’

यो नियुक्तिसँगै महासंघमा तिवारीको पुनरागमन भएको छ । यसअघि उनले सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा सचिवालय नेतृत्व सम्हालेका थिए ।

बृहत आर्थिक नीति, लगानी सुधार तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) क्षेत्रमा २५ वर्षभन्दा लामो विशिष्ट अनुभव सहित उनी  महानिर्देशकको जिम्मेवारीमा आएका हुन् ।

तिवारीको व्यावसायिक यात्रा प्रमुख बहुपक्षीय संस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायसँग समेत जोडिएको छ । उनले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)/विश्व बैंक समूह, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा पछिल्लो समय यूएसएडको ‘तयार नेपाल’ परियोजनामा निजी क्षेत्र समन्वय निर्देशकका रूपमा कार्यकारी तथा सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।

तिवारीले यसअघि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) महानिर्देशक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वरिष्ठ प्राविधिक विज्ञ र नेपाल–जर्मन उद्योग वाणिज्य संघमा रणनीतिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।

उनी नेपाल आर्थिक संघका मानार्थ महासचिव, नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष, नर्वेस्थित फिल. डा. जान–यू. सान्डल इन्स्टिच्युटका सिनियर रिसर्च फेलो तथा त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर) अन्तर्गत सार्वजनिक नीति, सुशासन र भ्रष्टाचार विरोधी अध्ययन विभागका प्राध्यापक समेत हुन् ।

आफ्नो करियरको प्रारम्भिक चरणमा उनले कान्तिपुर मिडिया ग्रुप, द हिमालयन टाइम्स र स्पेस टाइम टुडेजस्ता प्रमुख राष्ट्रिय दैनिकमा वरिष्ठ आर्थिक पत्रकारका रूपमा समेत काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?