३१ भदौ, अर्घाखाँची । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अर्घाखाँचीको अधिवेशनले नारायणप्रसाद खनाललाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले खनालको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति पनि निर्विरोध चयन गरेको अर्घाखाँची राप्रपाका पूर्वप्रवक्ता विनोद आचार्यले जानकारी दिए । थप अन्य पदाधिकारी तथा सदस्यहरूको नाम पछि सार्वजनिक गरिने उनले बताए ।
अध्यक्षमा सर्वसम्मत चयन भएका खनालले आगामी दिनमा पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जिल्लाका समसामयिक विषयमा पार्टीको भूमिका प्रभावकारी बनाउने बताएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन सत्रमा बोल्दै राप्रपाका केन्द्रीय उपाध्यक्ष ध्रुवबहादुर प्रधानले देशमा संकट परेका बेला सबै एकढिक्का हुन जरुरी रहेको बताएका थिए ।
उनले राष्ट्रिय हितका विषयमा एकता र सहकार्यको आवश्यकता औँल्याउँदै मुलुकको वर्तमान अवस्थालाई सम्बोधन गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
प्रधानले देशको राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थाबारे चर्चा गर्दै राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4