३१ भदौ, खोटाङ । खोटाङमा श्रम संस्कृति पार्टी प्रवेश गरेका गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष पदमुक्त भएका छन् ।
२०७९ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भूबलराज राई र केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष तुलाराम राई पदमुक्त भएका हुन् ।
निर्वाचन आयोगले बुधबार सूचना जारी गर्दै दल त्याग गरी अन्य दलमा प्रवेश गरेको आधारमा यी दुई जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।
तत्कालीन नेकपा एकीकृत समाजवादी हाल नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा समाहित भएको छ । नेकपाले केन्द्रिय समितिको निर्णयसहित आयोगमा जानकारी दिएपछि गाउँपालिका उपाध्यक्ष भूबलराज र वडाध्यक्ष तुलारामको पद रिक्त भएको हो ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दल सम्वन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले दुई जनप्रतिनिधिको पद स्वत: रिक्त भएको आयोगको सूचनामा उल्लेख गरेको छ ।
यसअघि, श्रम संस्कृति पार्टीमा प्रवेश गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राई र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका वडाध्यक्ष जेफर राई पदमुक्त भइसकेका छन् । दिनेश एमाले र जेफर कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
यस्तै, रास्वपामा प्रवेश गरेका खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका वडा सदस्य प्रदीप आचार्य पनि पदमुक्त भएका छन् । आचार्य एमालेबाट वडा सदस्य निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4