Comments Add Comment

कोरोना संक्रमण देखिएसँगै दमकमा उच्च सतर्कता, सबैलाई घरमै बस्न मेयरको आग्रह

१२ वैशाख, काठमाडौं । झापाको दमकका ६२ वर्षीय वृद्धमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको छ ।

दमक नगरपालिकाले सतर्कता अपनाउन र घरमै बसिदिन नगरवासीसँग अनुरोध गरेको छ । मेयर रोमनाथ ओलीले अनलाइनखबरसँग भने, ‘एक जनामा संक्रमण देखिएको छ, हामीले कन्ट्याक्ट ट्रेसिङ लगायतका कार्य थालिसकेका छौं ।’

एक महिना अघि यूएईबाट आएका ३४ वर्षीय छोरामार्फत कोरोना भाइरस बुबामा सरेको देखिएकाले कन्ट्याक्ट ट्रेसिङ जटिल हुने देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । ‘घरका आमा, बुबा, छोरा र उहाँकी श्रीमतीलाई र्‍यापिड परीक्षण गरिए मध्ये श्रीमतीबाहेक तीनै जनालाई पोजिटिभ देखियो’, जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंले भने, ‘तर पीसीआर परीक्षण आमा र छोराको नेगेटिभ आएको छ ।’

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चारै जनाको आरडीटी परीक्षण गरिएको थियो । त्यसमा बुवाको मात्र पोजेटिभ रिपोर्ट आएको छ ।

कोरोना संक्रमित वृद्ध डाइबेटिजका रोगी थिए । त्यसैले आमाछोरामा कोरोनाको संक्रमण तेस्रो चरणमा पुगेर निष्क्रिय भएपनि बुवामा एक्टिभ भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

चार सय बढी स्वाब परीक्षण गर्ने तयारी

जनस्वास्थ्य कार्यालयका चापागाईंका अनुसार संक्रमित व्यक्तिले हिँडेको ठाउँको पहिचार गरेर विभिन्न व्यक्तिको पनि स्वाब परीक्षणका लागि धरान पठाउने तयारी भइरहेको छ । त्यसका लागि चार सय जनाभन्दा बढीको स्वाब संकलन गरिने उनले जनाए ।

इलाका प्रहरी कार्यालय, दमकका एक अधिकृतका अनुसार दमकमा बन्न लागेको भ्यू टावर नजिकै घर भएका कोरोना संक्रमित वृद्ध एक महिनाको अवधिमा पटकपटक बजारसम्म आएका छन् । लामो समय भइसकेकाले परीक्षण जटिल हुनसक्ने भन्दै सबैलाई घरभित्रै सेल्फ आइसोलेसनमा बस्न भनिएको छ ।

वृद्ध गाउँमै खेती किसानी गर्दै आएका थिए । उनी दमकभन्दा बाहिर गएको भने देखिएको छैन । उनी रोगी पनि भएकाले तत्काली कोशी अस्पताल पठाइएको जनाइएको छ ।

यसअघि र्‍यापिड परीक्षणमा नतिजा पोजेटिभ देखिने वित्तिकै सबैलाई आइसोलेसनमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment