Comments Add Comment

सडकमै बनाइयो स्वचालित स्यानिटाइजिङ स्टेसन

१३ वैशाख, बुटवल । कोरोना भाइरसको संक्रमण रोकथामका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर प्रवेश गर्ने सिद्धार्थ राजमार्गको नाकामा स्वचालित स्यानिटाइजेसन स्टेसन बनाएको छ । उत्तरी प्रवेशद्वार योगिकुटीमा शनिबारदेखि स्यानिटाइजेसन स्टेसन सञ्चालनमा आएको हो ।

राजमार्गमा गुड्ने सवारी साधन र पैदल हिँड्दै गरेका मानिसको शरीरमा प्रवेशद्वारमाथि पाइपमा जडान गरिएका १२ वटा नोजलबाट स्वचालित रुपमा सेनिटाइजर स्प्रे हुन्छ । स्टेशनमा एक हजार लिटरको ट्यांकीमा नेपाल गुणस्तर चिन्ह प्राप्त लिक्विड क्लोरिन मिसाएर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको सेनिटाइजर बनाइएको छ । सो स्यानिटाइजर स्वचालित रुपमा पाइपमार्फत राजमार्गमा गुड्ने गाडी र हिँडडुल गर्ने मानिसहरुमा छर्किने व्यवस्था मिलाइएको छ ।

राजमार्गमा स्यानिटाइजेसन स्टेशन बनाइएको नेपालमै पहिलो भएको इन्जिनियर दीपक पाण्डेको दावी छ । ‘स्टेशनमा प्रयोग गरिएको प्यासिभ एन्फारेड सेन्सर (पीआईआर) ले ‘सि प्रोग्रामिङ ल्याङ्ग्वेज’ मार्फत १० मिटर दुरीमा सवारी साधन वा मानिस आएको थाहा पाउँछ र वान हर्सपावरको मोटर अन भइ स्वचालितरुपमा नोजलमार्फत १० सेकेण्डसम्म सेनिटाइजर लिक्विड स्प्रे (छर्कने) गर्दछ,’ इन्जिनियर पाण्डेले भने ।

‘चीनमा पनि यस्तै सेनेटाइजेसन स्टेशन बनाएर प्रयोग गरिएको थियो, यो कुरा युट्युबमा हेरेर आफै बनाइएको हो,’ पाण्डेले भने ।
उनका अनुसार स्यानिटाइजेसन स्टेशनमा आउने सवारी सधान वा मान्छेमा स्यानिटाइजर छर्किनका लागि मानवीय जनशक्ति खटिनु पर्दैन ।

स्टेशनमा सवारी साधनको गति कम गराउन स्पिड ब्रेकर राखिनुका साथै ब्यानर टाँगेर बिस्तारै चलाउन चालकहरुलाई सूचित गरिएको छ । जसले गर्दा सवारी साधनको सबै भाग राम्रोसँग स्यानिटाइज हुन्छ ।

शंकरनगर खानेपानी तथा सरसफाई संस्थाको एकलाख रुपैयाँ बढी लगानीमा स्यानिटाइजेसन स्टेशन बनाइएको हो । खानेपानी संस्थाका कार्यालय प्रमुख समेत रहेका इन्जिनियर पाण्डेलाई डेढ वर्ष अघि ‘गो-गो रोबर्ट’ बनाएर चर्चामा आएका तिलोत्तमा योगिकुटीका जुम्ल्याहा दाजुभाइ लब-कुश पन्थीले स्टेशनमा प्रयोग भएको सेन्सर सिस्टममा सहयोग गरेेका छन् । संस्थाकै कर्मचारी सुनिल गौतमले पनि प्राविधिक सहयोग गरेको इन्जिनियर पाण्डेले बताए ।

स्टेशनको उद्घाटन गर्दै तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरेले सवारी साधनमार्फत पनि मानिसमा कोरोना भाइरस संक्रमण हुन सक्ने भएकाले सवारी साधनमा स्यानिटाइजर छर्केर जोखिममुक्त बनाउन स्टेशन बनाइएको बताए । उनले अब छिट्टै दक्षिणी नाका कोटिहवामा पनि नगरपालिकाले स्यानिटाइजेसन स्टेशन बनाउने बताए ।

खानेपानी संस्थाका अध्यक्ष हरि तिवारीले सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकाको अनुरोध अनुसार एकलाख रुपैयाँ बढी खर्चमा संस्थाकै इन्जिनियरले स्टेशन तयार गरिदिएको बताए । स्यानिटाइजेसन स्टेशनमा दैनिकरुपमा सवारी साधनको प्रवेशका आधारमा सेनेटाइजर लिक्विड बनाइने हुँदा लागत क्रमशः बढ्ने अध्यक्ष तिवारीले बताए ।

कोरोना भाइरस संक्रमणको जोखिम रहँदासम्म नै स्टेशन सञ्चालन गरिने नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

इन्जिनियर पाण्डेले लकडाउनका बेला पनि मालसामान ढुवानी नरोकिने भएकाले नेपाल भारत सीमा क्षेत्रका भन्सार नाकाहरुमा पनि यस्ता स्यानिटाइजेसन स्टेशन राखेर कोरोनाको संक्रमणबाट जोगिन जरुरी रहेको सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment