Comments Add Comment

काठमाडौं महानगरपालिकाकामा एक हजार बढीको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

१३ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिका क्षेत्रभित्र बसोबास गर्दै आएका र उनीहरूको सम्पर्कमा रहेका एक हजार १६ जनाको र्‍यापिड डाइनोस्टिक टेस्ट गरेको छ ।

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै काठमाडौँ महानगरपालिकाले सुरुमा वडा नम्बर-५ का ३९ जनाको र्‍यापिड टेस्ट गराएको थियो ।

त्यसपछि निरन्तर रुपमा टेस्ट गर्दै आएको महानगरपालिकाले आजसम्म ३२ वटै वडामा र्‍यापिड टेस्ट गरिसकेको छ । टेस्ट गरेका सबैको रिपोर्ट नेगेटिभ आएको महानगरपालिकाले जानकारी दिएको छ ।

आज मात्रै पनि वडा नम्बर ११, १२, १६, २५, २८, २९, ३० र ३२ का एक सय १५ जनाको र्‍यापिड टेस्ट गरिएको काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २०७६ फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका, कोरोना लक्षणको शंका लागेकालगायत व्यक्तिहरूको संक्रमणको अवस्था पत्ता लगाउन परीक्षण गरेको जानकारी दिए ।

‘हामीले आजसम्म ३२ वटै वडाका एक हजार १६ जनाको र्‍यापिड डाइनोस्टिक टेस्ट सम्पन्न गरेका छौँ । अझै पनि परीक्षणका क्रममा कोही छुटेका छन् र त्यस्तो जानकारी कसैलाई छ वा त्यस्तो व्यक्ति महानगरपालिका भित्र आएर बसोबास गरिरहेको कसैले देख्नुभएको छ भने सम्बन्धित वडा कार्यालय वा नजिकको प्रहरीमा खबर गर्नुहोला,’ प्रमुख शाक्यले भने, ‘हामीहरूको तत्काल परीक्षण गरेर उहाँलाई, उहाँको परिवारलाई र समग्र महानगरवासीलाई नै कोरोना संक्रमणको भयबाट मुक्त गराउन चाहन्छौँ ।’

काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले अहिलेसम्म ६२ हजार दुई सय बढीलाई राहत वितरण गरेको र १८ हजार चार सय ६३ जनालाई खाना खुवाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

…अब त के बाँचुला र ?

Advertisment