Comments Add Comment

मनकामना मन्दिरका पुजारीसँग तीन बन्दुक, शिकार खेल्ने सोख

१४ वैशाख, गोरखा । गोरखाको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापा मगरले सुरक्षाका लागि भन्दै लिएको बन्दुकले पशुपन्क्षीको शिकार गर्ने गरेको स्थानीयवासीले बताएका छन् । वैशाख ५ गते राति शहीद लखन गाउँपालिका-४ बक्राङको ढोडेनी जंगलमा स्थानीयले उनलाई बन्दुकसहित नियन्त्रणमा लिएका थिए । शिकार खेल्नकै लागि उनी त्यहाँ गएको स्थानीयको दाबी छ ।

पुजारी मगरले इजाजत लिएर लामो समयदेखि तीनवटा हतियार आफूसँग राख्दै आएका थिए । एकनाले भरुवा बन्दुक, २२ बोरको राइफल र १२ बोरको बन्दुक उनीसँग रहेकामा दुईवटा बन्दुक उनले शुक्रबार प्रहरीलाई बुझाएका छन् । पुजारीले सुरक्षा गरिदिन भन्दै आफ्नो साथमा रहेका दुईवटा बन्दुक इलाका प्रहरी कार्यालय मनकामनामा बुझाएको एसपी ओमप्रसाद अधिकारीले बताए ।

स्थानीयवासीले चाहिँ सुरक्षाका लागि लिएको बन्दुक मगरले शिकार खेल्न प्रयोग गर्दै आएको दावी गरेका छन् । उनी पशुपन्क्षीलाई निशाना साँध्न माहिर रहेको उनीहरु बताउँछन् । ‘पुजारी भनेर के गर्नु, उनी पहिलेदेखि नै शिकार खेल्दै हिँड्ने मान्छे हुन्,’ एक स्थानीयले भने, ‘मन्दिरको कामबाट फुर्सद पाउने वित्तिकै शिकार खेल्न हिँडिहाल्छन् ।’

विशेषगरी एकादशी र औंसीको समयमा पुजारी शिकार गर्न निस्कने गरेको उनले बताए । ‘औंसी र एकादशीमा मन्दिरबाट उनलाई छुट्टी हुन्छ । त्यो दिन चाँजोपाँजो मिलाएर लुकीछिपी शिकार गर्न गइहाल्छन्,’ उनले भने ।

साविकको मनकामना र बक्राङ गाविस पुजारीको शिकार खेल्ने अड्डा हुन् । उनले कालिज, दुम्सी, तित्रा, मृग लगायतका जनावरको शिकार गर्ने गरेको स्थानीयबासी बताउँछन् ।

वैशाख ५ गते शुक्रबार राति पनि पुजारी शिकार खेल्न बन्दुक बोकेर जंगल गएको ती स्थानीयले बताए ।

‘ताक्लुङ बेल्टमा मृग लागेको छ रे भनेर पुजारीसहितको टोली सेटिङ मिलाएर शिकार खेल्न गएका रहेछन्, तर स्थानीयले भेेटेर नियन्त्रणमा लिए,’ उनले भने, ‘पुजारीसँगै अन्य दुईजना भरुवा बन्दुक सहित जंगलमा गएका थिए, तर भाग्न सफल भए ।’

जनावरको लोकेशन पत्ता लगाउन अघिल्लो दिन अरुलाई जंगलमा पठाएर दोस्रो दिन उनी बन्दुक लिएर गएको उनले बताए । तर स्थानीयले भेटेर प्रहरीलाई खबर गरिदिएका थिए ।

रातको समयमा बन्दुकसहित जंगलमा भेटिएका पुजारीको साथमा रहेको ‘पोइन्ट टुटु’ नामक बन्दुक प्रहरीले नियन्त्रणमा लियो । तर पुजारी मगरलाई सामान्य तारेखमा छाडियो । स्थानीयका अनुसार पुजारीको दम्भ देखाउदै मगरले प्रहरीसँग पनि भनाभन गरेका थिए ।

लकडाउनको समयमा हतियारसहित फेला परेकाले प्रशासनलाई खबर गरिएको वडा नम्वर ४ का अध्यक्ष कृष्णबहादुर चेपाङ बताउछन् । ‘हामीले नियन्त्रणमा लिएपछि लाइसेन्सवाला हतियार सुरक्षाका लागि लिएर हिँडेको भन्नुभयो,’ वडाध्यक्ष चेपाङले भने, ‘लक डाउनको समयमा पनि महाराजा, सामन्त जस्तो हतियार लिएर गाउँले तर्साउँदै हिँड्न पाइदैन भनेर प्रहरीलाई खबर गरिदिएका हौं ।’ शिकार खेल्ने गरेको भन्ने सुने पनि आफूले भने नदेखेेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सुरक्षाका लागि राखेको हतियार दुरुपयोग भएको प्रमाणित नभएसम्म कारबाही गर्न नमिल्ने प्रतिक्रिया दिए । सुरक्षा चुनौति हेरेर एक व्यक्तिले चार वटासम्म हतियार राख्न पाउने भन्दै उनले थपे, ‘घटनाबारे छानविन भइरहेको छ, दुरुपयोग भएको प्रमाणित भएमा लाइसेन्स खारेज गर्न सक्छौं ।’

पुजारीले बोकेको हतियार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको गोरखा प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । ‘स्थानीयले शिकार खेल्न बन्दुक बोकेर गएको बेला नियन्त्रणमा लिएको भनेका छन्, त्योबारे अनुसन्धान हुदैछ,’ उनले भने, ‘पुजारीलाई हामीले तारेखमा छाडेका छौं ।’

ग्रह काट्न जंगल गएको हुँः पुजारी

पुजारी मगरले भने आफू ‘ग्रह काट्न’ त्यो रात जंगल पुगेको बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘चैतमा ग्रह काट्नुपर्ने थियो, जुठो परेर मिलेन । अनि वैशाख ६ गते शनिबार ग्रह काट्नका लागि शुक्रबार राति बास बस्ने गरी जाँदै थिए, त्यही बेला स्थानीयले समातेर शिकार खेल्न आएको भनेर निहुँ खोजे ।’

इजाजतप्राप्त भएकाले उक्त हतियार आफूले सधैं बोक्ने गरेको उनी बताउँछन् । घर बाहिर जहाँ जाँदा पनि हतियार बोक्ने गरेको भन्दै मगरले शिकार भने नगरेको दाबी गरे ।

‘शिकार खेलेको भए के-के शिकार गरेँ त्यो पनि त भन्नुपर्‍यो, प्रमाण ल्याउनुपर्‍यो, त्यसै आरोप लगाउन मिल्दैन,’ उनले भने ।
तर, स्थानीयले भने सुरक्षाका लागी इजाजत प्राप्त गरेका बन्दुक जथाभावि पड्काएर गाउँले त्रसित बनाउने गरेको गुनासो गरेका छन् ।

‘सुरक्षाका लागि दिएको बन्दुकले पशुपन्छी मार्दै हिड्ने अधिकार पुजारीलाई कसले दियो ? गाउँले नै त्रसित हुने गरी बन्दुक पड्काउदै शिकार खेल्दै हिड्नेलाई कारबाही किन भएन ?’ एक स्थानीयवासीले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment