Comments Add Comment

ओम्नी समूहसँगको स्वास्थ्य सामग्री खरिदबारे लेखा समितिले छानबिन थाल्यो

१४ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा भएको भनिएको अनियमिताबारे छानविन थालेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य सामाग्री खरिदको सम्झौता गरेको थियो ।

तर ओम्नीले पहिलो लट सामान ल्याएसँगै सम्झौता विवादमा पर्यो । विना प्रतिस्पर्धा महंगो मूल्यमा खरिद गरेको भनेर प्रश्न उठेपछि सरकारले हतारहतार सम्झौता रद्द गरिएको थियो ।

लेखा समिति सभापति भन्छन्- समितिले यो विषयलाई यतिकै छोड्नेवाला छैन, गहिरोसँग अनुसन्धान हुन्छ

यसबारे छानविन गर्न आवश्यक देखिएको लेखा समितिको ठहर छ । समितिले यसका लागि खरिद प्रक्रियामा भएको सबै कागजपत्र सात दिनभित्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई पत्र काटेको छ ।

‘सञ्चारमाध्यम र सार्वजनिक रुपमा औषधि खरिदमा प्रश्न उठपछि हामीले पनि चासो दियौं । समिति सदस्यहरुका बीचमा अनौपचारिक कुराकानी भयो । र यसमा लागेका आरोपहरुबारे सत्यतथ्य बाहिर ल्याउनुपर्छ भनेर छानविनको थालेका छौंं,’ लेखा समिति सभापति भरत कुमार शाहले अनलाइनखबरसँग भने ।

कागजपत्र आएपछि विस्तृत अध्ययन सुरु गर्ने समिति सभापति शाहले बताए । उनी भन्छन्, ‘कागज हेरेर के भएको हो भन्न सक्छौं । समितिले यो विषयलाई यतिकै छोड्नेवाला छैन । गहिरोसँग अनुसन्धान हुन्छ ।’

मन्त्रालयको जवाफ आएपछि सामाजिक दुरी कायम गरेर समितिको बैठक बोलाउने तयारी रहेको उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment