Comments Add Comment

‘टान’ पश्चिमाञ्चलद्वारा ट्रेकिङ मजदुरलाई राहत

१४ वैशाख, पोखरा । ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल शाखाले ट्रेकिङ क्षेत्रमा कार्यरत ८६ जना मजदुरलाई राहत उपलब्ध गराएको छ ।

प्रति व्यक्ति १४ सय रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको टान पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले जानकारी दिए । लकडाउनका कारण ट्रेकिङ क्षेत्रमा कार्यरत मजदुरहरुको जीविकोपार्जनमा समस्या देखिन थालेपछि राहत वितरण सुरु गरिएको उनले बताए ।

एउटा कम्पनीमा आवद्ध २ जना ट्रेकिङ मजदुरको नाम सिफारिस गर्न आग्रह गरिए बमोजिम राहत वितरण गरेको उनले बताए । ‘करिब ४३ वटा कम्पनीले आफ्ना गाइड, पोर्टरको नाम दिनु भएको थियो,’ उनले भने, ‘त्यही अनुसार राहत वितरण गरेका छौं ।’

‘ट्रेकिङमा होटल, रेस्टुरेन्टमा जस्तो मासिक तलबमा काम हुँदैन । उनीहरुले पाउने भनेकै दैनिकीका आधारमा ज्याला हो,’ अध्यक्ष भुजेलले भने, ‘यो समयमा मासिक ज्याला बुझ्ने भन्दा ट्रेकिङका पोर्टरहरुलाई समस्या देखिएको छ ।’ उनले ट्रेकिङमा प्रायः भरियाहरु ग्रामिण भेगका रहेको र उनीहरुले आफ्नो हकअधिकारबारे थाहा नपाउँदा पनि विभिन्न निकायबाट प्राप्त हुने राहतबाट पनि वञ्चित हुनु परेको दाबी गरे ।

संस्थाले नेपाल पर्यटन बोर्डबाट पर्यटन क्षेत्रमा कार्यरत ५ सय ५६ जना कामदारलाई तत्काल राहत उपलब्ध गराउनसमेत माग गरेको जनाएको छ ।

टान पश्चिमाञ्चलले आइतबार नै पोखरा महानगर र वडा नम्बर ६ लाई ५०/५० हजार रुपैयाँ सहयोग गरेको छ । संस्थामा हाल करिब १५ सय जना अनुमति प्राप्त गाइड तथा पोर्टर आवद्ध छन् । संस्थामा १ सय ८० ट्रेकिङ कम्पनी आबद्ध भएको अध्यक्ष भुजेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment