Comments Add Comment

सांसदद्वारा कोरोना रोकथाम पूर्वतयारीबारे अनुगमन 

१४ वैशाख, बुटवल । तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि गरेको पूर्वतयारीको बारेमा सांसदहरुको टोलीले अनुगमन गरेको छ । जिल्ला समन्वय समिति, रुपन्देहीको संयोजनमा राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुको टोलीले अनुगमन गरेको हो ।

सांसदहरुले कोरोना संक्रमण रोकथामका लागि नगरपालिकाले गरेका काम, क्वारेन्टाइन व्यवस्थापन, लकडाउन प्रभावितलाई बाँडिएको राहत, स्वास्थ्य चौकीको व्यवस्थापन, सचेतना अभिवृद्धिलगायतका विषयमा जानकारी लिएका थिए । साथैं उनीहरुले शंकरनगरस्थित तिलोत्तमा क्वारेन्टाइन तथा शंकरनगर स्वास्थ्य चौकीको स्थलगत अवलोकन गरी जानकारी लिएका थिए ।

त्यसअवसरमा नगर प्रमुख बासुदेव घिमिरेले स्वास्थ्य संस्थामा फिभर सेन्टर सञ्चालन, क्वारेन्टाइन व्यवस्थापन, राहत संकलन तथा वितरण, आइसोलेसन निर्माण, खाद्य बैंक स्थापना, लकडाउन कार्यान्वयनका लागि नियमित अनुगमन लगायतका बारेमा सांसदहरुलाई जानकारी गराएका थिए ।

त्यस क्रममा संघीय सांसद छबिलाल विश्वकर्माले कोरोना संक्रमण रोकथाममा तिलोत्तमाले गरेका क्रियाकलापहरु प्रशंसनीय रहेको बताउँदै सीमावर्ती क्षेत्र भएकाले अझै पनि सावधानी अपनाउनुपर्ने सुझाव दिए । कोरोना रोकथाममा जनप्रतिनिधि तथा सरकारी संयन्त्रबाट गरिएका क्रियाकलापले संघीयताको औचित्य पुष्टि गरेको उनको भनाइ छ ।

प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले राहतलाई वास्तविक लक्षित परिवारमा पुर्‍याउन सुझाव दिए ।

प्रदेश सरकारको कार्यक्रमअनुसार जिल्ला समन्वय समितिको संयोजनमा भएको अनुगमनमा राष्ट्रिय सभाका सांसद गोपाल भट्टराई, प्रदेश सांसद दधिराम न्यौपाने, तुल्सी चौधरी,रमा अर्याल,भोजप्रसाद श्रेष्ठ र डा.कृष्ण न्यौपानेको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment