Comments Add Comment

दिल्लीबाट फर्किएको ४७ दिनपछि कोरोना संक्रमण पुष्टि

१४ वैशाख, विराटनगर । भारतको नयाँ दिल्लीमा आयोजित तबलिगी जमातमा सहभागी भएर फर्किएका एक पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

झापा बाह्रदशी-४ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चार दिनअघि परीक्षण गर्दा उनको शंकास्पद रिपोर्ट आएपछि आइतबार कोशी अस्पताल, विराटनगरमा पुन परीक्षण गरिएको थियो । त्यसमा उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय झापामा उपप्रमुख जीवन चौलागाईले जानकारी दिए ।

उनी मुस्लिम धर्मगुरू हुन् र, दिल्लीको निजामुद्दीनमा भएको धार्मिक सभामा सहभागी भएर २७ फागुनमा दिल्लीबाट ट्रेन र बस चढेर घर फर्किएका थिए । ‘दिल्लीको जमातीमा बसेर फर्किनु भएको रहेछ’ चौलागाईले भने ‘उहाँसँग अरु पनि आएका रहेछन् । उनीहरुको खोजी गर्दैछौं ।’

संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।

आइतबार नै वीरगञ्जमा पनि दुई जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

यससँगै कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । उनीहरु मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment