Comments Add Comment

विराटनगर महानगरपालिकाले पठाएका यात्रु काठमाडौं भित्रिए

प्रहरीले रोकेका यात्रुहरु सडक किनारमा बसिरहेका छन् । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

१५ वैशाख, काठमाडौं । विराटनगरबाट ७ वटा बसमा आएका केही यात्रुहरू काठमाडौं प्रवेश गरेका छन् । नागढुंगा नाकामा यात्रुहरूको व्यक्तिगत विवरण टिपेर र शरीरको तापक्रम जाँचेर काठमाडौं उपत्यका प्रवेश गराइएको हो ।

मोरङ-काठमाडौं समाजका अध्यक्ष मुरारी कोइरालाले अनलाइनखबरसँग भने, ‘सबैको नाम, ठेगाना, सम्पर्क नम्बर टिपेर, ज्वरो नापेर, सम्बन्धित वडा र स्थानीय प्रहरीको निगरानीमा रहने गरी प्रहरीले छाडेको छ ।’

विराटनगर महानगरपालिकाले सात वटा बसमा करिब एक सय ६० जनालाई राखेर काठमाडौं पठाएको थियो । सोमबार बिहानै नागढुंगा नाकामा आइपुगेका उनीहरूलाई प्रहरीले रोकेको थियो ।  प्रहरीले केहीलाई रोक्ने र केहीलाई छाड्ने गरेको छ । प्रहरीले रोकेका यात्रुहरू सडक किनारमा बसिरहेका छन् ।

ना ६ ख ९१४०, ना ७ ख ९५४, ना ७ ख ९५५, ना ८ ख ८००१, ना ८ ख ८००२, ना ५ ख ६८८ र ना ५ ख ८००४ नम्बरका बसहरू विराटनगरबाट यात्रु लिएर काठमाडौं आएका हुन् । ती बसहरूबाट काठमाडौंमा रोकिएका विराटनगरका बासिन्दालाई लैजाने योजना महानगरपालिकाको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंका बासिन्दालाई पठाएको बताएका छन् । उनले भने, ‘हामीले समन्वय गरेर, सबैको स्वास्थ्य जाँचेर नै पठाएका हौँ ।’

विराटनगर महानगरपालिकाले सोमबार बिहान पनि चन्द्रनिगाहपुरदेखि इलामसम्मका ३८५ जना यात्रुहरूलाई पठाएको छ ।

अन्य स्थानबाट आएकाहरूलाई विराटनगर प्रवेश गर्नुअघि निबुवा भन्ने स्थानमा रोकेर, उनीहरूको व्यक्तिगत विवरणको रेकर्ड राखेर प्रवेश दिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment