Comments Add Comment

रमजानले बढायो पाकिस्तानको चिन्ता

१५ वैशाख, काठमाडौं । पाकिस्तानले रमजान सकिएपछि मुलुकमा उल्लेख्य मात्रामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न सक्ने चेतावनी दिएको छ । पाकिस्तानले मस्जिद खोल्ने र सामूहिक नमाजको पढ्न पाउनुपर्ने माग पूरा गर्ने निर्णय गरेको एक सातापछि जनताहरूलाई यस्तो चेतावनी दिएको हो ।

पाकिस्तानको सरकारले सुरुमा रमजानको अवसरमा मस्जिद बन्द राख्ने र सामूहिक नमाज पढ्ने कार्यलाई रोक्ने निर्णय गरेको थियो। तर, इस्लामिक संगठनले यो प्रतिबन्ध हटाउन माग गरेसँगै पाकिस्तानले सुरक्षाको उपाय अपनाएर मस्जिद खोल्न पाउने बताएको थियो । अहिले पाकिस्तानको स्वास्थ्य प्रणालीको अवस्था पनि कमजोर छ। यस्तोमा स्थिति अनियन्त्रित हुन सक्ने आशंका बढेको छ ।

यो चेतावनी प्रधानमन्त्री इमरान खानका स्वास्थ्य मामिलाका विशेष सचिव डाक्टर जाफर मिर्जाले दिएका हुन् । शनिबार पाकिस्तानमा एक डाक्टरको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । यस्तोमा डाक्टर पनि सरकारले स्थानीय संक्रमण नियन्त्रणको लागि कुनै महत्वपूर्ण कदम नचालेको भन्दै चिन्तित बन्न पुगेका छन् ।

पाकिस्तानमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ हजार पाँच सय पुगेको छ । साथै, यो भाइरसको कारण दुई सय ६० मानिसको मृत्यु भइसकेको छ । डाक्टर जाफर मिर्जाले मानिसहरूलाई पसल जाने र मस्जिद जाने तालिका बदल्नु पर्ने बताएका छन् । उनले रमजानको पहिलो दिन स्थिति उत्साहजनक नरहेको बताएका हुन् ।

जाफरले रमजानमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने बताउँदै साँझपख पसलहरूमा अत्यधिक मात्रमा भिड हुने गरेको बताए । उनले मानिसहरूले यसरी भिड गर्नुहुँदैन भन्ने कुरा बझ्नुपर्ने बताए । यस्तो अवस्था जारी रहेको खण्डमा पाकिस्तानमा कोरोना भाइरसको अवस्था अनियन्त्रित हुने उनको भनाइ छ ।

यसअघि नै पाकिस्तान संकटमा रहेको उल्लेख गर्दै जाफरले सबै मानिसलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment