Comments Add Comment

समाचार संकलनका क्रममा चितवनमा दुई जना पत्रकार पक्राउ

१५ वैशाख, चितवन । प्रहरीले सोमबार चितवनमा दुई जना पत्रकारलाई नियन्त्रणमा लिएको छ ।भरतपुरको चौबिसकोठीमा समाचार संकलन गर्न पुगेका पत्रकार विनोदबाबु रिजाल र अर्जुन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पत्रकारको परिचय दिँदा समेत ड्यूटीमा खटेका प्रहरीले जथाभावी अपशब्द बोल्दै क्यामेरा नियन्त्रणमा लिने प्रयास गर्दै दुर्व्यवहार गरेको उनीहरूले बताएका छन् । प्रहरीले क्यामेरामा रहेको फोटो र भिडियो डिलिट गर्न समेत दबाब दिएको रिजालले बताए । प्रहरीले रिजालको ना ६४ प ३९८९ र अधिकारीको ना ४० प २०५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ। उनीहरूलाई अहिले भने प्रहरीले छाडेको छ ।

पत्रकारमाथि भएको दुर्व्यवहारको घटनाप्रति विभिन्न संस्थाहरूले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखा, प्रेस संगठन नेपाल चितवन, नेपाल प्रेस युनियन चितवनले विज्ञप्ति जारी गर्दै प्रहरी ज्यादतीको विरोध गरेका हुन् ।

महासंघका अध्यक्ष राधेश्याम खतिवडा, संगठनका संयोजक प्रकाश ज्ञवाली र युनियनका अध्यक्ष अनिल ढकालले विज्ञप्ति जारी गर्दै पत्रकारहरूमाथि धरपकड गरिनु दुःखद् भएको उल्लेख गरिएको छ ।

त्यसैगरी, चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले पनि प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment