Comments Add Comment

स्मृति : पहिलोपटक भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा

रेशम गुरुङ र कपिलकिशोर श्रेष्ठ

१५ वैशाख काठमाडौं । भलिबल अहिले नेपालको राष्ट्रिय खेल हो । भौगोलिक हिसावले देशका सबै ठाउँमा सहजै खेल्न मिल्ने खेल भएकाले यो निकै लोकप्रिय पनि छ । तर अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने नेपालले भलिबलमा उल्लेख्य सफलता हात पार्न सकेको छैन ।

गत वर्ष नेपालको महिला टिमले बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन वुमन्स च्याम्पियनसिपको उपाधि जितेपछि भलिबलको चर्चा बढ्यो । त्यसअघि नेपालले २०१६ मा माल्दिभ्समा भएको पुरुष सेन्ट्रल जोनमा कास्य पदक जितेको थियो । अन्तर्राष्ट्रियस्तरमा नेपाली भलिबलको उल्लेख्य प्रदर्शन यही नै हो । नेपालको पुरुष भलिबल टिमले चार दशक लामो इतिहासमा पहिलोपटक सेन्ट्रल जोनमा तेस्रो स्थान हात पारेको थियो ।

राष्ट्रिय खेलकुद भएपछि पछिल्लो समय भलिबलको चर्चा बढेको छ । २०७४ साल जेठ ६ गते नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दियो । नेपाल भलिबल संघले पनि पछिल्ला दिनहरुमा भलिबल विकासमा पहल गरिरहेको छ ।

नेपालले भलिबलमा अन्तर्राष्ट्रिय म्याच खेल्न थालेको चाहिँ ४४ वर्ष भइसक्यो । सन् १९७६ मा नेपालको पुरुष भलिबल टिमले पहिलोपटक पाकिस्तान गएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो ।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता विशेष नै हुन्छ । खेलाडीहरुको उत्साह र जोश नै छुट्टै हुन्छ । पाकिस्तानसँग खेल्ने नेपालको त्यो पहिलो राष्ट्रिय भलिबल टिम टिम कस्तो थियो ? नेपाली टिमले कस्तो खेल्यो ? धेरैलाई चासो हुन सक्छ ।

०००

नेपालको भलिबल इतिहासबारे खासै जानकारीहरु भेटिदैन । वि.स. २०३० सालखि नै भलिबलको राष्ट्रिय प्रतियोगिता सुरु भएको थियो । त्यसको सात वर्षपछि महिला भलिबलको पनि राष्ट्रिय प्रतियोगिता हुन थाल्यो ।

२०३३ सालमा नेपाल भलिबल संघको औपचारिक गठन भयो । अनुपशमसेर राणाको अध्यक्षतामा संघ गठन भएको थियो । पाकिस्तानमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका टिमका सदस्य रहेका कपिल किशोर श्रेष्ठका अनुसार राणाकै पहलमा पाकिस्तान जाने अवसर जुरेको थियो ।

कपिल किशोर श्रेष्ठ

नेपालले सन् १९७६ मा पाकिस्तानमा काइदे आजम मोहम्मद अली अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको थियो । त्यतिखेर ८ जना खेलाडी टिममा थिए । नेपाली टिमको कप्तानमा ऋषी राज आचार्य थिए । श्रेष्ठका अनुसार टिममा रेशम गुरुङ, मधुसुदन राना, प्रकाश बहादुर सिंह, रवीन्द्र  श्रेष्ठ, प्रदिपबहादुर सिंह, महेन्द्रलाल श्रेष्ठ थिए । भलिबलको तेस्रो राष्ट्रिय प्रतियोगिता सकिएको थियो र त्यसैको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको थियो । टिम कोचमा प्रचण्डबहादुर सिंह थिए भने मधुशमसेर राना म्यानेजर थिए ।

‘भलिबलको राष्ट्रिय प्रतियोगिता तेस्रो संस्करणसम्म भएपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका थियौँ । त्यतिबेला छोटो समय भएकाले धेरै खेलाडीलाई बोलाउन पाइएन,’ श्रेष्ठले भने ।

प्रतियोगितामा ५ टिमको सहभागिता थियो । पेशावर र लाहोरमा गरी दुई ठाउँमा प्रतियोगिता भएको थियो । पाकिस्तान ए र पाकिस्तान बीसँगै चीन, श्रीलंका र नेपाल सहभागी थिए । दुवै ठाउँमा राउण्ड रोविनमा खेल भएको थियो । नेपालले ८ खेल खेलेको थियो ।

नेपाली टिममा सबै खेलाडी युवा थिए । नेपालको लागि त्यो अन्तर्राष्ट्रिय खेलको अनुभव लिने र केही सिक्ने मौकाको रुपमा मात्र रहेको श्रेष्ठले बताए ।

‘अरु ४ वटै टिम नेपालभन्दा धेरै राम्रा थिए । हामी अरु टिमका खेलाडीभन्दा युवा थियौं,’ श्रेष्ठले चार दशक अघिको टिमबारे भने, ‘कति टेक्निकहरु हामीले सिकेकै थिएनौँ । फ्लोटिङ सर्भिस र अट्याक कम्बिनेसन हामीले त्यही गएर थाहा पाएको हो ।’
अरु टिममा ५ जना स्पाइकर, १ जना सेटर हुन्थे । नेपालले भने त्यो बेला ४ जना स्पाइकर र २ जना सेटर खेलाएको थियो । नेपालले दुई ठाउँमा गरेर ८ खेल खेल्यो । नेपालले कुनै सेट नजिति सबै खेल हार्‍यो ।

‘हामीले कुनै पनि सेट जितेनौं, तर पाकिस्तानको अफिसियल र पब्लिकले धैरै माया दिए । युवा खेलाडीहरु अरुको अगाडि केटाकेटी जस्तै भए,’ श्रेष्ठले पुरानो क्षण सम्भिmए, ‘प्रमुख अतिथिले त्यतिबेला हामीलाई खुबै सान्त्वना दिएका थिए ।’

नेपाली खेलाडीको औसत उमेर नै त्योबेला २० भन्दा कम थियो । कप्तान ऋषिराज र मधुसुदन मात्रै उमेरले २० कटेका खेलाडी थिए ।

‘आउटडोर खेल भएकोले दर्शकहरु खेलाडिको नजिकै हुन्थे । खेल सकिनेबित्तिकै दर्शकहरु हामीसँग हात मिलाउन र अटोग्राफ माग्न आउँथे,’ श्रेष्ठले भने ।

नेपाली खेलाडीले पाकिस्तानमा माया पाउने अर्को कारण भाषा पनि थियो । नेपालीहरु हिन्दीमा बोल्न जान्ने, जुन पाकिस्तानीहरुले पनि बुझ्थे ।

‘हामीले उनीहरुले बुझ्ने भाषा बोल्ने भएकोले पनि हामीलाई उनीहरु माया गर्थे,’ श्रेष्ठले भने । ‘चीन र श्रीलंकाका खेलाडीहरुले भने बुझ्थेनन् ।’

पाकिस्तानमा खेलेपछि नेपालले एसियन गेम्स, दक्षिण एसियाली खेलकुद र एभिसी सेन्ट्रल जोन जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment