Comments Add Comment

भरतपुर कोरोना अस्पताल : कर्मचारी नै चोरीमा, लाखौं घोटालाको आशंका

१५ वैशाख, चितवन । कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान राति कर्मचारीहरूले पोको पारेर लगेको भिडियो अनलाइनखबरले पाएको छ ।

अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियोमा प्रष्ट देखिन्छ ।

खनाल नेपाल निजामती कर्मचारी संगठन चितवनका जिल्ला अध्यक्ष हुन् भने बराल अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष हुन् । उनीहरूले स्टाण्ड  फ्यान, सर्जिकल मास्क, कम्प्युटरको स्क्रिन, स्यानिटाइजर, चप्पल, ग्लुस्टिक, साबुन, लामखुट्टे भगाउने धुप, बेगन लगायतका सामान तीन पोका बनाएर निकालेको देखिन्छ ।

सामान पोको पार्नेहरू बत्ती निभाएर स्टोर कोठाबाट बाहिरिन्छन् र केही समयपछि मोबाइलको लाइटको साहारामा अँध्यारो कोठामा पसेर करिब आधा घण्टा अगाडि तयार बनाएर राखेको पोको उठाउँछन् । अरू केही सामानहरू खोजेको जस्तो पनि देखिन्छ ।

वीरगञ्जका बिरामी सन्तोष यादवको मृत्यु भएसँगै विवादमा परेपछि यो कोरोना अस्पताललाई भरतपुर अस्पतालको शाखा बनाउने निर्णय गरिएको थियो । भरतपुर अस्पताल मातहत चलाउने सम्झौता नै भएको थियो गत चैत २१ गते । भरतपुर अस्पतालले वैशाख १ गते दिउँसो सामानहरूको विवरण बुझेको थियो । खनाल, बराल र तिवारीले चैत ३० गते राति ९.३० बजेसम्म बसेर सामानहरू उठाएका थिए ।

आरोपीहरूले सामान भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखामा लगेको दाबी गरेका छन् । महानगरका लेखापाल खनालले आफूहरूले सामान चोरी नगरेको दाबी गरे । राति मोबाइल बालेर सामान उठाउनुको कारण सोध्दा उनले भने, ‘दिउँसो नभ्याएर राति लैजानु परेको हो ।’

भरतपुर अस्पतालको स्टोर शाखा प्रमुख केशव सापकोटा कोरोना अस्पतालबाट केही थान मास्क र पीपीई मात्र ल्याएको बताए । ‘हामीले वैशाख १ गते स्टोर जिम्मा लिएपछि एक जना मान्छे पनि खटाएका छौँ’, उनले भने, ‘त्यसभन्दा अगाडिको कुरा हामी जान्दैनौँ ।’

भिडियोमा लेखापाल खनालले इलेक्ट्रिसियन सन्तोष कुमारलाई हात हालेको पनि देखिन्छ । कुमार जाइलागेपछि खनाललाई जोगाउन बराल बीचमा आएको देखिन्छ । पेस्की रकमको बिल नदिएपछि कुटपिट गरेको लेखापाल खनालले स्वीकार गरे ।

आर्थिक घोटलाको आशंका

गत ७ चैतबाट हतार-हतार सञ्चालन गरिएको भरतपुर कोरोना अस्पतालको नक्कल गर्दै बुटबल लगायतका स्थानमा अलग्गै कोरोना अस्पताल बने । तर, नमुना मानिएको अस्पताल नै अहिले अस्तव्यस्त बनेको छ । अस्पतालमा लाखौं अनियमितता भएको चर्चा चल्न थालेको छ ।

भरतपुर महानगरपालिकालाई अस्पताल सञ्चालन गर्न वागमती प्रदेश सरकारले चैत २० गते एक करोड दिएको थियो । त्यसअघि महानगरपालिकाको विपद् कोषबाट छ लाख ५० हजार लेखापाल खनालको नाममा पेस्की दिएको थियो । अडिट गर्ने, गराउने आर्थिक नियम ऐनअनुसार सामान खरिद र व्यवस्थापन गर्ने जिम्मा लेखापाल खनाल र अस्पतालका सदस्य सचिव डा. भोजराज अधिकारीलाई दिइएको छ ।

अस्पतालमा वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रुपैयाँ खर्च भएको देखिन्छ । कोरोना अस्पताल सञ्चालन कार्यदलको बैठकमा भने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले एक करोड २७ लाख खर्च भएको विवरण दिएको स्रोत बताउँछ ।

अस्पतालले दिएको जानकारीअनुसार अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार र औषधि तथा मेसिनरी खरिदमा ५२ लाख २८ हजार दुई सय १० खर्च भएको छ । यसमा तोकिएको ४५ लाखको सिलिङ नाघेर खर्च गरिएको छ ।

अस्पतालले कुन औषधि, कोबाट, कतिमा किनेको भन्ने खुलाएको छैन । पीपीई र एन-९५ मास्कमा चाहिँ भ्याटसहित ३४ लाख खर्च गरेको देखाइएको छ । ५२ लाखमध्ये १८ लाखको हिसाब अस्पतालले देखाएको छैन । पाँचवटा एसी र पङ्खा खरिदको खर्च ७४ लाखमा जोडिएको छैन ।

सार्वजनिक खरिद ऐनको खरिदसम्बन्धी व्यवस्थामा पाँच लाखसम्मको खर्चमा तीनवटा सप्लायर्ससँग दरभाउ पत्र मागेर सबभन्दा कम गर्नेसँग खरिद गर्न पाउने व्यवस्था छ । त्यसभन्दामाथि टेन्डरमा जानुपर्ने नियम छ । ७ चैतमा खुलेको अस्पतालमा १५ गते अधिकांश समान ल्याएको देखिन्छ । पीपीई र एन ९५ मास्क खरिदको न कोटेसन छ न त सम्झौता ।

नेपाली कांग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठ अस्पतालमा चोरी र घोटालाबारे महानगर प्रमुख रेनु दाहाल, भरतपुर अस्पतालका अध्यक्ष एवं कोरोना अस्पतालका सदस्य सचिव डा. भोजराज अधिकारी र भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी जानकार रहेको बताउँछन् । उनी भन्छन्, ‘हामीले संकटको बेला सामान चोर्ने र अनियमितता गर्नेमाथि छानबिन र कारबाहीको माग गरेका छौँ ।’

छानबिन समिति गठन

कोरोना अस्पतालको सामान चोरी र अनियमिता छानबिन गर्न सोमवार तीन सदस्यीय समिति गठन भएको छ । उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल समितिको संयोजक तोकिएका छन् । सदस्यमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक-एक जना रहनेछन् ।

समितिलाई छानबिन गरी एक हप्ताभित्र कार्यदलमा प्रतिवेदन बुझाउन भनिएको छ । भरतपुर अस्पतालले चोरीमा संलग्न भनिएका बराल र महानगरपालिकाले लेखापाल खनाल र स्वास्थ्य अधिकृत सुवेदीलाई फिर्ता बोलाएको छ ।

खरिदमा डाक्टर ‘मध्यस्थकर्ता’ !

कोरोना अस्पतालले खरिद गरेका पीपीई र एन-९५ मास्क खरिदमा अस्पतालकै चिकित्सक मध्यस्थकर्ता भएको पाइएको छ । उनीहरूले काठमाडौंका विभिन्न सप्लार्यससँग सम्पर्क गरी प्रचलित मूल्यभन्दा महँगोमा सामान किनेको देखिएको छ ।

नेसनल सर्जिकल हाउस, मेडिलाइन इक्युपमेन्ट सर्भिस, सम्बृद्धी गार्मेन्ट प्रा.लि. र महेश मेडिसिन्स प्रा.लि.बाट सामान खरिद भएको छ । दुई हजारदेखि २५ सयसम्म पर्ने पीपीईलाई छ हजार पाँच सयमा किनेको देखिन्छ ।

मूल्य बढी हालेर पनि भने जति परिमाणमा सामान नआएको अस्पताल स्रोत बताउँछ । स्रोतका अनुसार, क्वारेन्टाइन बनाइएको होटल गंगोत्रीले पनि यही मौकामा महानगरमा बिल पेश गरेको छ । उसले सुरुमा निःशुल्क उपलब्ध गराउने भनेको थियो ।

तीन डाक्टरले छाडे जागिर

सुरुदेखि नै कोरोना अस्पतालमा काम गरेका तीनजना डाक्टरले वातावरण नभएको भन्दै जागिर छाडेका छन् । अस्पताल प्रशासनमा पेश गरेको १० बुँदे माग पूरा नभएपछि उनीहरूले वैशाख ११ मा राजीनामा दिएका हुन् ।

तीमध्येका एक डाक्टरले खानै नपाएर काम गर्न आएको जस्तो व्यवहार भोगेको बताए । ‘हामीलाई १० दिनमा एउटा मास्क दिए, एक हजार थान सर्जिकल मास्क पानीमा भिज्यो भनेर अन्तै लगेर बाँडे’, उनी भन्छन्, ‘डाक्टरलाई सर्जिकल मास्क दिने, स्टोरका कर्मचारी एन ९५ मास्क लगाएर बस्ने । चस्मा पनि उसैले लगाउने रे । यस्तो लीला हेरेर बस्नै सकिएन ।’

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले अस्पतालले नै कोरोना अस्पतालको जिम्मा लिइसकेपछि सुविधा दिएर डाक्टर राख्न आवश्यक नभएको बताए । बाँकी रहेका स्वास्थ्यकर्मी र सफाइ कामदारको असार मसान्तसम्मको तलब महानगरपालिकाले दिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment