Comments Add Comment

मुग्लानमा बुबा हराए, घरमा आमा बितिन्, तीन बालबालिकाको बिचल्ली

१७ वैशाख, दिपायल । डोटीको सायल गाउँपालिका-२, लुसाकोटका कर्ण थापा उमेरले नौ वर्षका मात्र भए । विद्यालय जानु पर्ने, साथीभाइहरुसँग रमाउनुु पर्ने यो बालापन उनका लागि सपना जस्तै भयो । कर्णका लागि मात्रै होइन, उनका भाइ सात वर्षीय दीपक र पाँच वर्षीया बहिनी जानकीले पनि बालापनमा रमाउने रहर गुमाए ।

रोजगारीका लागि भनी पाँच वर्ष पहिले भारत छिरेका उनीहरुका बुवा शेरबहादुरको अत्तोपत्तो छैन । यही पीडाबीच आमा इशराले केही वर्षदेखि मानसिक सन्तुलन गुमाइन् । जेठो भएकाले भाइ-बहिनीका साथसाथै मानसिक सन्तुलन गुमाएकी आमाको पालन पोषणको जिम्मेवारी पनि कर्णको काँधमा आयो । छिमेकीको घाँस काटिदिने, गाईबस्तु चराइदिने काम गर्दै आएका कर्ण एक्लैले मात्र काम गरेर चार जनाको पेट पाल्न गाह्रो भयो । त्यसपछि उनका भाइ र बहिनी पनि काममा लागे ।

बुवाको अत्तोपत्तो नभए पनि मानसिक सन्तुलन गुमाएकी भएपनि आमा साथमा थिइन् । तर आमा पनि कहिल्यै नफर्किने गरी यो संसारबाट बिदा भइन् । मानसिक सन्तुलन गुमाएकी आमाको मृत्यु भएको आज १६ दिन पुग्यो । आमाको मृत्यु र बुवाको वेपत्ताले तीन भाइ-बहिनीहरुको थप बिचल्ली भएको छ । पढ्ने र खेल्ने उमेरका यी बालबालिकाहरुलाई भोको पेटका लागि अरुको काम गर्नु पर्ने र मागेर खानु पर्ने अवस्था आएको छ ।

भारतमा वेपत्ता भएका शेरबहादुरको खोजीका लागि आफन्तहरुबाट पटक-पटक प्रयास भयो । तर, उपलब्धी केही भएन । श्रीमान् काम गर्न भारत गएको केही समयपछि मानसिक सन्तुलन गुमाएकी इशरा घरभित्रै बस्ने, कसैसँग पनि नबोल्ने, एकोहोरो टोलाइराख्ने समस्यामा थिइन् । १६ दिनअघि स्थानीयले इशरालाई घरभित्रै मृत अवस्थामा फेला पारे ।

आमा-बुवा नहुँदा तीन बालबालिकाको साह्रै बिचल्ली भएको स्थानीय मानबहादुर वली बताउँछन् । उनी थप्छन्, ‘कर्ण पढाइमा राम्रै छन्, मागेर खानु पर्ने अवस्था भएपछि उनलाई पढ्ने समय निकाल्न गाह्रो छ ।’

घरमा कर्णकी ७५ वषर्ीया हजुरआमा राजु थापा छिन् । राम्रोसँग हिँडडुल पनि गर्न नसक्ने हजुरआमा सामाजिक सुरक्षा भत्ताबाट आएको पैसाले घर खर्च चलाउने गरेको बताउँछिन् । ‘आफू पनि आज मर्छु कि भोलि थाहा छैन,’ राजु भन्छिन्, ‘त्यसैमाथी तीन नाती-नातिनाको जिम्मा आइलाग्यो, अब मैले के गर्ने ?’

हजुरआमाले अझै हिम्मत भने हारेकी छैनिन्, न त कर्णले नै । अर्काको मेलापात भ्याएर पनि कर्ण र दीपक विद्यालय जान्छन् । हजुरआमाले उनीहरुलाई विद्यालय जान उत्प्रेरित गरिरहेकी छिन् । स्थानीय तेडी आधारभूत विद्यालयमा कर्ण कक्षा-३ र दीपक कक्षा-२ मा अध्ययन गरिरहेका छन् । बहिनी जानकीको पनि पढ्ने उमेर त भयो, तर विद्यालय जान सुरु गरेकी छैनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment