Comments Add Comment

प्रधानमन्त्री ओलीलाई कार्यशैली सुधार्न नेकपा मसालको सुझाव

१७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालले प्रधानमन्त्री  केपी  शर्मा  ओलीलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिएको छ ।

वैशाख १४ गते बसेको पोलिट्ब्युरो समितिको भिडियो बैठकले प्रधानमन्त्री ओलीको व्यक्तिगत र स्वेच्छाचारी प्रकारको कार्यशैलीले कार्यशैलीले सरकारको सम्पूर्ण कार्यप्रणालीमा नकारात्मक असर पारेको र अव्यवस्था तथा विग्रहको स्थिति पनि उत्पन्न भएको ठहर गरेको छ ।

‘हाम्रो पार्टीले त्यसप्रकारको कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ’ बैठकपछि महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सरकारले ल्याएको र पछि फिर्ता लिएको दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रधानमन्त्रीको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैलीको प्रतिनिधिमूलक घटना भएको मसालले बताएको छ ।

‘त्यसप्रकारको कार्यशैली अन्य विषयहरूमा पनि बारम्बार देखा पर्ने गरेको छ र त्यसबाट देशलाई काफी हदसम्म नोक्सान पुग्ने गरेको छ’ मसालले भनेको छ ।

सरकारको कार्यशैलीको आलोचना गरे पनि सरकारलाई दिएको समर्थन भने यथावत रहेको मसालले जनाएको छ । नेकपा मसालको तर्फबाट प्रतिनिधिसभामा एक जना सांसद रहेका छन् ।  मसालले विदेशमा रहेका नेपालीको हित र मानवअधिकारको संरक्षणको लागि प्रभावशाली प्रकारले पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

भारतको होटल तथा असंगठित क्षेत्रमा काम गर्ने नेपालीले रोजगारी वा आम्दानीका स्रोत गुमाएको भन्दै उनीहरूको अवस्थाप्रति सरकारले ध्यान दिनुपर्ने मसालले बताएको छ । सरकारले सम्बन्धित देशसँग सम्बन्ध कायम गरे उनीहरूको खाने बस्ने व्यवस्था गर्नुपर्दछ वा नभए नेपालमा ल्याएर राहत दिनुपर्ने मसालको भनाइ छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण संवैधानिक परिषदले संवैधानिक अंगहरुमा नियुक्ति गर्न नसकेको भन्दै मसालले यसमा उपयुक्त निकास खोज्न सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment