Comments Add Comment

प्रधानमन्त्रीको पक्षमा सांसदहरूको हस्ताक्षर संकलन

१७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरूले हस्ताक्षर संकलन सुरु गरेका छन् । अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका सदस्यहरूको हस्ताक्षर संकलन सुरु भएको हो ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि ओली पक्षीय सांसदहरूको भेला भएको छ । राजधानीबाहिर रहेका सांसदहरूलाई पनि काठमाडौं ल्याइँदै छ।

बुधबार साँझ ५ बजे बोलाइएको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको प्रस्ताव आउने भएकाले ओलीले संसदीय दलमा बहुमत जुटाएर दलको बैठक बोलाउन प्रस्ताव लैजान खोजेका छन् । एक सांसदले भने, ‘स्थायी कमिटी होइन, प्रधानमन्त्री चयन गर्ने संसदीय दलले हो । त्यसो भए संसदीय दलमै चुनाव गरौँ, म दलमै फेस गर्छु भन्नुहुन्छ प्रधानमन्त्रीले । प्रधानमन्त्री फेर्ने हो भने अब संसदीय दलको बैठक हुन्छ ।’

प्रधानमन्त्रीले पछिल्ला तीन/चार दिनयता लगातार सांसदहरूसँग भेटेर उनीहरूका कुरा सुनिरहेका छन् । सांसदहरूसँग प्रधानमन्त्रीले कमी/कमजोरी हटाउने, अबदेखि पार्टीसँग सल्लाह गरेर चल्ने तर हटाउन खोजिए सबै परिस्थितिको सामना गर्ने बताएका छन् ।

प्रधानमन्त्रीको पक्षमा प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी एक सय १५ जना सांसदले साथ दिने ओलीनिकट नेताहरूको दाबी छ । बुधबार बिहानसम्म सुदूरपश्चिम प्रदेशका नेकपाका १९ सांसदमध्ये १६ जना आफ्नो पक्षमा उभिएको उनीहरूको दाबी छ । तर, प्रचन्ड पक्षले भने  ९ जना सांसद आफूतिर रहेकाे दाबी गरेको छ ।

पूर्वएमालेका १२१ मध्ये ओलीको पक्षमा ७८ जना रहेको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो ।

यसबीचमा केही सांसदले प्रधानमन्त्री ओलीलाई भेटेरै वा अन्य नेतामार्फत खबर गरेर प्रधानमन्त्रीको पक्षमा रहेको जनाउँदा त्यो संख्या ९२ पुगेको ओलीनिकट नेताहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment