News Summary
Generated by OK AI. Editorially reviewed.- शाहरुख खानले गौरीलाई पेरिस लैजाने वाचा गरी हनिमुनमा दार्जिलिङ पुर्याएको पुरानो किस्सा अवार्ड समारोहमा सुनाएका छन् ।
- शाहरुखले विवाहपछिको सुरुवाती दिनमा आर्थिक अवस्था कमजोर रहेको र विदेश जाने टिकट किन्ने पैसा नभएको भन्दै गौरीलाई पेरिस देखाउने सपना झुटो भएको बताएका छन् ।
- उनले राजु बन गया जेन्टलम्यानको गीत छायांकनका लागि दार्जिलिङ जाँदा गौरीलाई त्यहीँ पेरिस भन्दै लगेको खुलाएका छन् ।
श्रीमतीलाई हनिमुनमा पेरिस घुमाउने वाचा जोकोहीले गर्न सक्छ । तर, पेरिस लैजाने भन्दै दार्जिलिङ पुर्याउने आँट चाहिँ सबैले गर्न सक्दैनन् ।
बलिउडका बादशाह शाहरुख खानले भने त्यतिबेला यही गरेका थिए । गौरी खानलाई पेरिसमा एफिल टावर देखाउने सपना देखाएका शाहरुखसँग न विदेश जाने टिकट किन्ने पैसा थियो, न त त्यो वाचा पूरा गर्ने आर्थिक हैसियत ।
त्यसैले, उनले एउटा जुक्ति निकाले । पेरिस जाने भन्दै गौरीलाई दार्जिलिङ लगे ।
सुन्दा फिल्मी कथाजस्तो लाग्न सक्छ । तर, यो शाहरुख र गौरीको सुरुवाती संघर्षरत दिनको पुरानो किस्सा हो ।
आफूसँग पैसा नभएको अवस्थामा गौरीलाई गरेको वाचा र त्यसलाई पूरा गर्न नसकेपछि निकालेको उपायबारे शाहरुख आफैंले एउटा अवार्ड समारोहमा सुनाएका थिए ।
त्यतिबेला कार्यक्रम सञ्चालक विक्की कौशलले शाहरुख र गौरीको पुरानो तस्वीर देखाउँदै त्यसबारे सोधेका थिए ।
तस्वीर हेरेपछि शाहरुखले आफ्नो विवाह, त्यो बेलाको आर्थिक अवस्था र हनिमुनको योजनाबारे रमाइलो ढंगले खुलासा गरेका थिए ।
खल्तीमा पैसा थिएन
शाहरुख र गौरीको प्रेम सम्बन्ध सन् १९८८ मा सुरु भएको थियो । दिल्लीमा एउटा पार्टीमा भेट भएका उनीहरूबीचको सम्बन्ध क्रमशः गहिरिँदै गयो । अन्ततः सन् १९९१ अक्टोबर २५ मा उनीहरूले विवाह गरे ।
गौरीको माइतीको थर चिब्बर थियो । विवाहपछि उनी गौरी खानका रूपमा चिनिइन् ।

त्यतिबेला शाहरुख आजजस्ता चर्चित अभिनेता थिएनन् ।
न उनको नाममा स्टारडम थियो, न ठूलो कमाइको टुंगो । अभिनयको दुनियाँमा आफ्नो स्थान बनाउन संघर्ष गरिरहेका शाहरुखले गौरीसँग विवाह गरेपछि नयाँ जीवनको सुरुवात गरेका थिए ।
शाहरुखले उक्त अवार्ड समारोहमा आफ्नो त्यतिबेलाको आर्थिक अवस्थाबारे खुलाउँदै गौरी आफूभन्दा राम्रो आर्थिक पृष्ठभूमिको परिवारबाट आएको बताएका थिए । उनी आफैं भने आर्थिक रूपमा कमजोर थिए ।
तर, प्रेममा सपना देख्न पैसा चाहिँदैन । शाहरुखले पनि गौरीलाई एउटा सपना देखाए, विवाहपछि उनलाई पेरिस लैजाने र संसारकै चर्चित संरचनामध्ये एक एफिल टावर देखाउने ।
यसरी शाहरुखले सम्झिएका थिए, ‘मैले गौरीलाई विवाहपछि पेरिस लैजान्छु र एफिल टावर देखाउँछु भनेको थिएँ । तर, त्यो सबै झुट थियो । न मसँग पैसा थियो, न हवाई टिकट । तैपनि मैले कुनै न कुनै तरिकाले उनलाई विश्वास दिलाएँ ।’
उनको यो स्वीकारोक्तिमा हाँसो मिसिएको थियो । आज करोडौंको सम्पत्तिका मालिक बनेका शाहरुखको जीवनमा एउटा समय यस्तो पनि थियो, जतिबेला श्रीमतीलाई विदेश घुमाउने वाचा पूरा गर्न सक्ने अवस्था थिएन ।
वाचा त गरियो । अब पूरा कसरी गर्ने ?
शाहरुखसँग यसको सीधा उत्तर थिएन । तर, उनीसँग एउटा अवसर थियो । उनी राज कपुर सन्तोषी निर्देशित फिल्म ‘राजु बन गया जेन्टलम्यान’ को गीत छायांकनका लागि दार्जिलिङ जाँदै थिए ।
त्यही यात्रालाई उनले हनिमुनसँग जोड्ने योजना बनाए ।
उनले अवार्ड समारोहमा हाँस्दै सुनाएका थिए कि गौरीले विदेश खासै यात्रा नगरेकाले आफूले भनेको ठाउँ पत्याउने ठाने । त्यसपछि उनले दार्जिलिङलाई नै पेरिस भनेर गौरीलाई त्यहाँ लगे ।
उनले भनेका थिए, ‘मलाई लाग्यो, गौरी पनि विदेश गएकी छैनन् । त्यसैले मैले उनलाई पेरिस भन्दै दार्जिलिङ लगेँ।’
यसरी पेरिसमा एफिल टावर देखाउने वाचा गरेका शाहरुखले गौरीलाई दार्जिलिङको पहाडमा पुर्याए । विवाह भएको करिब २०–३० दिनपछि उनीहरूले त्यही यात्रालाई हनिमुनका रूपमा बिताए ।
शाहरुखको यो खुलासाले त्यतिबेला उपस्थित दर्शकलाई हँसाएको थियो । किनकि, पर्दामा रोमान्सका बादशाह बनेका अभिनेताको आफ्नै प्रेम जीवनमा यस्तो रमाइलो प्रसंग पनि रहेछ ।
संघर्षका दिनमा गौरीको साथ
शाहरुख र गौरीको सम्बन्ध रमाइलो किस्सामा मात्र सीमित छैन । उनीहरूको वैवाहिक जीवनको सुरुवात पनि संघर्षकै बीच भएको थियो ।
दिल्लीबाट मुम्बई पुग्दा शाहरुखसँग बलिउडमा स्थापित हुने ठूलो सपना थियो । तर, सपना देख्नु र त्यसलाई पूरा गर्नु फरक कुरा हो ।
नयाँ सहर, नयाँ परिवेश र फिल्म क्षेत्रमा आफ्नो स्थान बनाउनुपर्ने चुनौती उनीसामु थियो । गौरी पनि फिल्मी दुनियाँका लागि नयाँ थिइन् ।
शाहरुखले एक अन्तर्वार्तामा विवाहपछिका सुरुका केही वर्ष संघर्षपूर्ण रहेको बताएका थिए । उनका अनुसार मुम्बईमा बिताएका सुरुवाती दुई वर्ष उतारचढावले भरिएका थिए । गौरी राम्रै परिवारको भए पनि शाहारुखलाई उनले मुस्किल घडीमा पनि साथ दिइरहिन ।
उनले एउटा पुरानो घटना पनि सम्झिए । विवाहपछि उनीहरू मुम्बई आएको केही दिनमै गौरी परम्परागत पहिरन र चुरा लगाएर फिल्म सिटी पुगेकी थिइन् ।
शाहरुखको फिल्मको छायांकन चलिरहेको थियो, जसलाई हेमा मालिनीले निर्देशन गरिरहेकी थिइन् ।
त्यतिबेला मोबाइल फोनको सुविधा थिएन । छायांकन निर्धारित समयभन्दा लम्बिएपछि शाहरुखले गौरीलाई ट्याक्सी पठाएर आफू भएको ठाउँमा बोलाएका थिए ।
आफूसँग कारसमेत नभएको अवस्थामा उनले गौरीलाई पर्खिनुपरेकोमा माफी मागेका थिए ।
यी प्रसंगले शाहरुखको जीवनको त्यो पाटो देखाउँछन्, जुन आजको चमकधमकभन्दा बिल्कुल फरक थियो । अहिले उनीसँग नाम, दाम र प्रतिष्ठा छ । र, यहाँ आइपुग्दा उनले त्यस बखतका तीता पलहरु खोल्न हिच्किचाउँदैनन् ।
गौरीका लागि शाहरुखको प्रेम
शाहरुखले सार्वजनिक रूपमा गौरीप्रति आफ्नो प्रेम व्यक्त गर्न कहिल्यै कञ्जुस्याइँ गरेका छैनन् । उनीहरू लामो समयदेखि बलिउडका चर्चित जोडीका रूपमा परिचित छन् ।
सन् २०१८ डिसेम्बर १५ मा ईशा अम्बानी र आनन्द पिरामलको संगीत समारोहमा शाहरुख र गौरीले सँगै नृत्य गरेका थिए । गौरीले उक्त अवसरको तस्बीर सामाजिक सञ्जालमा राख्दै आफूहरू दशकौंपछि मञ्चमा सँगै आएको उल्लेख गरेकी थिइन् ।
उनले लगाएको फाल्गुनी पिककको पहिरनको पनि चर्चा गरेकी थिइन् । शाहरुखले त्यसको जवाफमा गौरीलाई ‘टाइमलेस’ भनेका थिए ।
पछि उनीहरू सँगै नाचेको विषयमा सामाजिक सञ्जालमा ट्रोलसमेत भए । तर, शाहरुखले आफूलाई जे मन लाग्छ, त्यही गर्ने र अरूले बनाएको छविअनुसार जीवन नबाँच्ने आशय व्यक्त गरेका थिए ।
आज फर्केर हेर्दा शाहरुख र गौरीको सम्बन्धमा पेरिसको वाचा र दार्जिलिङको यात्रा एउटा सानो तर रोचक सम्झना बनेको छ ।
पेरिसको सपना देखाएर दार्जिलिङ पुर्याएको त्यो प्रसंगमा शाहरुखको जुक्ति त थियो नै, उनीहरूको जीवनको सुरुवाती संघर्षको झल्को पनि थियो ।
प्रतिक्रिया 4