News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा अहिलेसम्म ९ वटा उजुरी परेका छन् ।
- समिति सभापति बोधनारायण श्रेष्ठले गोप्य नभएका उजुरी अध्ययन गर्ने र गोप्य उजुरी आगामी बैठकमा खोल्ने बताए ।
- उजुरी दिने समय कात्तिक १९ गतेसम्म छ, र न्याय परिषद्ले असोज २० मा चार उच्च अदालतका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस गरेको थियो ।
१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् ।
सोमवार बसेको समितिको बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन् । उनका अनुसार प्रस्तावित न्यायाधीशहरूको सुनुवाईका लागि हाल उजुरी संकलन गर्ने प्रक्रिया जारी रहेको छ ।
प्राप्त उजुरीमध्ये सबै जना प्रश्तावित न्यायाधीशविरुद्ध दुई–दुईवटा, दुई जना जनाविरुद्ध तीन/तीन वटा र एक जनाविरुद्ध एक वटा उजुरी परेको जानकारी दिए । सभापति श्रेष्ठले गोप्य नरहेका उजुरीहरूको अध्ययन प्रक्रिया अघि बढाइने जानकारी दिए ।
‘यो न्यायधीशको सुनुवाइको प्रक्रिया अगाडि बढिरहेको छ, उजुरीको प्रक्रिया अगाडि बढिरहेको छ, हाल उजुरीहरू कलेक्सन भइरहेका छन् । अहिलेसम्म टोटलमा हाम्रो ९ वटा उजुरीहरू प्राप्त भएको छ । यो सबैजनाको लागि २ वटा उजुरी, अनि १ जनाको लागि ३ वटा, अनि १ जनाको लागि १ वटा, फेरि अर्को १ जनाको लागि ३ वटा उजुरी आएको कुरा पनि तपाईंलाई जानकारी गराऊँ,’ उनले भने ।
गोप्य रूपमा प्राप्त भएका उजुरी भने समितिको आगामी बैठकमा खोलेर अध्ययन गरिने उनको भनाइ छ । उजुरी अध्ययनपछि आगामी बैठकबाट प्रश्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
‘हामीले जति पनि गोप्य भनिएको छैन, गोप्य नभएकोलाई हामी अध्ययन गर्छौँ । गोप्य भनेकोलाई चाहिँ यसको अर्को बैठक बसेर फेरि त्यो उजुरी हामी खोल्छौँ र अध्ययन गर्छौँ । सुनुवाइको प्रक्रियालाई अगाडि बढाउँछौं,’ उनले भने ।
उजुरी दिने समय कात्तिक १९ गतेसम्म तोकिएको छ । गत असोज २० मा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
यसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
प्रतिक्रिया 4