Comments Add Comment

लेखराज भट्ट केपी ओलीतिर लाग्दा प्रचण्ड ढुक्क !

१७ वैशाख, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका सुदूरपश्चिमका पूर्वमाओवादी नेता लेखराज भट्ट केपी ओलीको गुटमा लागेको चर्चा मिडियामा व्यापक बनेको छ । मन्त्री भट्ट आफ्नो समूहतिर आएकोभन्दै ओली पक्षका नेताहरूले खुसियाली मनाइरहेका छन् ।

मन्त्री भट्ट आफ्नो गुटमा आएपछि अब संसदीय दलमा प्रधानमन्त्रीको बहुमत पुग्न सहज हुने भन्दै संस्थापन पक्षका सांसदहरूको हस्ताक्षर पनि संकलन गरिरहेका छन् ।
तर, भट्ट ओलीतिर लागेको चर्चा चलिरहँदा अध्यक्ष प्रचण्डले भने भट्टलाई आफूतिर तान्न खासै चासो देखाएका छैनन् ।

मन्त्री भट्ट केपी ओलीको गुटमा लागेको र बालुवाटारमा आयोजना गरिएको भेलामा समेत सहभागी भएको खबर आएपछि केही पूर्वमाओवादी नेताहरूले प्रचण्डलाई भनेका थिए, ‘भट्टजीसँग एकपटक अध्यक्षज्यूले कुरा गर्ने हो कि ?’

जवाफमा प्रचण्डले उनी ओलीतिरै लाग्दा पनि केही फरक नपर्ने बताएका थिए । प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो, ‘भट्टजीलाई म यता लाग्नोस् उता लाग्नोस् केही भन्दिनँ । पार्टी एउटै हो, जता लागे पनि हुन्छ । संकटको बेलामा आफ्नो भूमिका के कस्तो हुने भन्ने कुरा स्वयंले तय गर्नुपर्छ ।’

सुदूरपश्चिमका नेकपा नेता भट्ट ओलीतिर लागे पनि पूर्वएमालेका नेता भीम रावल आफूहरूसँग नजिक रहेको उदाहरण दिँदै प्रचण्डले पार्टीमा पूर्वगुटहरू एकैतिर हुनुभन्दा यसैगरी छ्यासमिस हुँदाखेरि नै एकताको भाव सञ्चार हुने बताएको एक नेताले बताए । ‘अब पूर्वगुटहरू एकै ठाउँ हुनैपर्छ भन्ने छैन,’ प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले अनलाइनखबरसँग भने, ‘विवेकका आधारमा जो जता लागे पनि हुन्छ ।’

मन्त्री भट्ट अहिले ओली नेतृत्वको सरकारमा छन् । सरकारमा भएको व्यक्तिले आफ्नै प्रधानमन्त्रीविरुद्धमा सार्वजनिकरुपमा बोल्न नैतिकताले दिँदैन । यस्तो अवस्थामा एकजना मन्त्रीले प्रधानमन्त्रीको बचाऊमा बोल्नु स्वाभाविकै भएको नेकपा नेताको भनाइ छ ।

भीम रावलको सेखी झार्ने मनसाय

उद्योगमन्त्री भट्ट ओलीसँग नजिक हुनुमा भीम रावल कारक रहेको नेकपा नेताहरू बताउँछन् । पछिल्लो दिनमा प्रचण्डले अब सुदुरपश्चिमको नेता भीम रावल नै हुने बताएपछि भट्ट प्रचण्डसँग रिसाएको नेकपाका एक नेताले बताए ।

‘अध्यक्ष प्रचण्डले पूर्वएमालेमा उपाध्यक्षसमेत भइसकेका भीम रावलसँग बढी संगत गर्न थालेपछि लेखराज भट्टले चित्त दुःखाउनुभएको हो,’ पूर्वमाओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘अर्कोतिर भीम रावललाई भित्तामा पुर्‍याउन चाहिरहेको केपी ओली पक्षले उनीविरुद्ध लेखराजलाई उचालेको हो । एउटा नेताविरुद्ध अर्कोलाई उचाल्ने ओली पक्षको विशेषता नै हो ।’

प्रभु साह ‘फ्याक्टर’

नेकपाभित्र अहिले प्रभु साह फ्याक्टर पनि चर्चामा छ । पूर्वमाओवादी नेता प्रभु साह केपी ओलीभन्दा माधव नेपालसँग बढी रिसाएका छन् । यही कारणले माधव नेपाल र प्रचण्ड नजिकिएको साहलाई मन परेको छैन ।

यो पनि पढ्नुहोस प्रभु साह भन्छन्- ओलीको विकल्प प्रचण्डमात्र हुन्

उनी ओली-प्रचण्ड एक भएर माधव नेपाललाई कर्नरमा पार्नुपर्छ भन्ने मान्यता राख्छन् । यसको कारण के हो भने जिल्ला र प्रदेशमा रहेको माधव नेपाल समूहसँग साहको अन्तरविरोध ।

माधव नेपालसँग दुरी रहेको बुझेपछि ओली पक्षले पूर्वमाओवादी नेता साहसमेत आफूनजिक आउने र उनका साथमा रहेका सांसदहरूको मत प्रधानमन्त्रीतिर थपिने आकलन गरेका छन् ।

यसैबीच नेकपाको प्रदेश २ का अध्यक्षसमेत रहेका साहले नेताहरूले द्वन्द्व हैन, एकता खोज्नुपर्ने बताउँदै प्रधानमन्त्री केपी ओलीको विकल्प नै खोज्नुपर्ने भए माधव नेपाल नभएर प्रचण्डलाई विकल्पका रुपमा अघि सार्नुपर्ने सार्वजनिक प्रतिक्रिया दिएका छन् ।

बादल अन्ततः प्रचण्डतिरै ?

यसैबीच अध्यादेश प्रकरणमा केपी ओलीले ऐतिहासिक काम गरेको भन्दै समर्थन जनाएका गृहमन्त्री रामबहादुर थापा बादलले पनि अन्ततः प्रचण्डकै खेमामा रहेको खुमलटार पुगेर स्पष्ट पारेका छन् ।

रामबहादुर थापा बादल र उनी निकट भनिएका देव गुरुङ र पम्फा भुसालसमेतले खुमलटार पुगेर आफूहरू प्रचण्डकै साथमा रहेको जनाउ दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

तर, आफू सरकारको गृहमन्त्री रहेकाले प्रधानमन्त्रीको आलोचनामा बोल्न नमिलेको बादलले प्रचण्डलाई बताएको स्रोतको दाबी छ ।

बादल केपी ओलीको पक्षमा लागि नै हाले पनि उनको समूहमा रहेका सांसदहरू पूर्वमाओवादी खेमामै रहने दाबी सो समूहमा नेताहरूको छ । तर, लेखराज र प्रभु साहको जस्तै, कतिपय स्थानीय अन्तरविरोधहरूले पनि काम गरेको नेताहरु बताउँछन् ।

जस्तो बादल समूहमा रहेका उदयपुरका सांसद सुरेश राई र माधव नेपाल निकट जगन्नाथ खतिवडाबीच अन्तरविरोध छ । यस्तो अन्तरविरोधले माथि हुने माधव-प्रचण्ड गठबन्धनलाई प्रभाव पार्ने ओली पक्षका नेताहरुको बुझाइ छ । उनीहरू सुरेश राई ओली पक्षमा लाग्न सक्ने तर्क समेत गर्छन् । पूर्वमाओवादी नेताहरू भने बादल समूहका कोही पनि ओलीको पक्षमा नलाग्ने दाबी गर्छन् ।

‘संसदीय दलमा बहुमतको अर्थ छैन’

नेकपाभित्र माधवकुमार नेपाल समूहका नेताहरू चाहिँ प्रधानमन्त्री निटस्थहरूले हस्ताक्षर संकलन गरेर संसदीय दलमा बहुमत देखाउनुको कुनै अर्थ नरहेको बताउँछन् । प्रधानमन्त्री ओली पार्टी अध्यक्षसमेत रहेकाले स्थायी कमिटीको बैठक फेस गर्नुपर्ने र पार्टी नेताहरूलाई कन्भिन्स गर्न सक्नुपर्ने नेपाल पक्षका नेताको भनाइ छ ।

यो पनि पढ्नुहोस ‘श्री ३ महाराजपछि केपी कमरेडलाई अवसर थियो’

केपी ओलीलाई पार्टीले नै प्रधानमन्त्री बनाएको हुनाले पार्टीले फिर्ता बोलायो भने संसदीय दलमा बहुमत देखाएर केही नलाग्ने स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन् ।

नेता पन्तले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘प्रधानमन्त्री भएको मान्छेले अन्तिमसम्म गलत काम नगरी वैधानिक ढंगले प्रतिरक्षा गर्ने कुरालाई म अन्यथा पनि ठान्दिनँ । तर, यो कुरा उहाँले सचिवालयको बैठक, स्थायी कमिटीको बैठकमा राख्नुपर्‍यो । हामी त्यहाँ आफ्ना कुराहरु राख्छौँ, उहाँले आफ्ना कुराहरू राख्नोस् । छलफल गरौँ, हामीलाई चित्त बुझाउनुभयो भने उहाँले प्रधानमन्त्री पनि चलाए भो, पार्टी अध्यक्ष पनि चलाए भो ।’

पन्त अगाडि भन्छन्– ‘तर, चित्त बुझेन भने त निकास दिने काम त उहाँको पनि हो नि । जसरी माधव नेपालजीले निकास दिनुभयो । ..अहिले उहाँसँग बहुमत छ कि छैन, मैले हिसाब गरेको छैन ।’

यो पनि पढ्नुहोस ‘श्री ३ महाराजपछि केपी कमरेडलाई अवसर थियो’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment