Comments Add Comment

संविधानविद् भन्छन्– अहिले बामदेव गौतम प्रधानमन्त्री बन्न सक्नुहुन्न

१८ वैशाख, काठमाडौं । अन्तरविरोधका बीच बालुवाटारमा बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको कुरा सार्वजनिक भएको छ ।

सचिवालय सदस्यहरूले आफ्नो राजीनामा मागेपछि प्रधानमन्त्रीले गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउने धारणा राखेका हुन्। संविधानतः भने प्रधानमन्त्रीको प्रस्ताव र गौतम प्रधानमन्त्री बन्ने कुरा दुवै गलत भएको संविधानविद्हरू बताउँछन् ।

संविधानविद्हरू डा. विपिन अधिकारी, डा. भीमार्जुन आचार्य र चन्द्रकान्त ज्ञवाली विद्यमान कानुनी व्यवस्थाअनुसार वामदेव गौतम प्रधानमन्त्री बन्न असम्भव रहेको बताउँछन् ।

अहिलेकै अवस्थामा वामदेव गौतम कसरी प्रधानमन्त्री बन्न सक्लान् ? सुनौं संविधानका जानकारहरूको तर्क :

डा. विपिन अधिकारी, संविधानविद्

संविधानले प्रतिनिधसभालाई प्रधानमन्त्री बन्ने बनाउने ‘प्रिभेलेज’ दिएको छ । प्रतिनिसभामा नभएका व्यक्ति प्रधानमन्त्री बन्ने कल्पना पनि गरिएको छैन ।

राष्ट्रियसभामा लगेर पनि प्रधानमन्त्री बनाउने कुरा पनि सुनिन्छ । तर, यो पनि राम्रो कुरा होइन । उहाँलाई निर्वाचनमा जनताले अस्वीकृत गरेको हो । त्यो निर्वाचनको चक्र सकिएको छैन ।

राष्ट्रिय सभामा लगेर मात्रै पनि पुग्दैन । संविधान नै संशोधन गर्नुपर्छ । न यो अहिलेको प्राथमिकता हो, न त यस्तो प्रचलन नै छ । बरु उहाँ (वामदेव) ले अर्को निर्वाचनका लागि तयारी गर्दा राम्रो हुन्छ। चुनावै जितेर आउनुभयो भने त कसैले विरोध पनि गर्दैन ।

चुनाव हारे पनि तिकडम गरेर प्रधामन्त्री बन्छु भन्नु राम्रो होइन । संविधान संशोधनै गर्ने हो भने त मधेसी, आदिवासी जनजाति, दलितका मुद्दा छन् । ती समुदायका कुरालाई बेवास्ता गर्ने तर एउटा व्यक्तिका लागि संविधान संशोधन गर्ने भन्ने हुनै सक्दैन ।

संविधान संशोधन गर्ने नै हो भने पनि त्यसका लागि टास्क फोर्स बनाउनुपर्ला, पर्याप्त छलफल हुनुपर्छ ।

प्रधानमन्त्रीले यस्तो विषय प्रस्ताव नै गर्नुहुँदैनथ्यो भन्ने लाग्छ । अस्थिरता निम्त्याउने प्रस्तावमा जानु सही होइन ।

डा.भीमार्जुन आचार्य, संविधानविद्

संवैधानिकरुपमा आजको दिनसम्म बामदेव गौतम प्रधानमन्त्री बन्ने भन्ने कुरा सम्भव छैन । भोलि चमत्कारै भयो भने के हुन्छ भन्न सकिँदैन ।

विद्यमान कानुनअनुसार प्रधानमन्त्री बन्नका लागि सांसद हुनैपर्छ । राष्ट्रिय सभाको सांसद बने पनि प्रधानमन्त्री बन्न सम्भव देखिँदैन ।

प्रतिनिधि सभा सदस्य हुने हो भने प्रधानमन्त्री बन्न नपाउने होइन । तर, उहाँ समानुपातिकबाट प्रतिनिधिसभामा जाने अवस्था छैन । किनभने उहाँको समानुपातिकको सूचीमा नाम गएकै छैन ।

राजनीतिक निकास निकाल्दा पनि संविधानसम्मत त हुनुपर्छ । संविधानमा नभएको कुरा प्रधानमन्त्रीले पनि बोल्न मिल्दैन ।

यदि संविधानमै नभएको कुरा बोल्नुभएको छ भने त्यो कार्यान्वयन गर्नका लागि होइन । मेरो विचारमा यो एउटा प्रोपोगाण्डा हो । विषयान्तर गर्नका लागि मात्रै यस्तो प्रस्ताव आएको होला भन्ने लाग्छ ।

डा. चन्द्रकान्त ज्ञवाली, संविधानविद्

को प्रधानमन्त्री बन्ने भन्ने कुरामा छलफल गर्नुअघि त प्रधानमन्त्री पद रिक्त हुनुपर्ला नि । प्रधानमन्त्रीज्यूले राजीनामा दिएको छैन, फौजदारी अभियोग लागेको छैन, अविश्वासको प्रस्ताव पनि दर्ता भएको छैन ।

जहाँसम्म वामदेव गौतमको कुरा छ, विद्यमान कानुनअनुसार उहाँ प्रधानमन्त्री बन्न सक्नुहुन्न । किनभने, प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्‍यो । संसदीय दलको नेता बन्न सांसद हुनुपर्‍यो । सांसद हुन चुनाव जित्नुपर्‍यो । समानुपातिकबाट सांसद बन्न बन्दसूचीमा नाम हुनुपर्‍यो ।

राष्ट्रियसभाबाट जाने हो भने संविधान संशोधन गर्नुपर्‍यो । अर्थात् उहाँ संवैधानिक रुपमा हेर्दा उहाँलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला छैन ।

यो पनि पढ्नुहोस केपी ओलीको प्रस्ताव : वामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment