१८ वैशाख, काठमाडौं । औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि तलब पूरै पाउने भएका छन् । सरकारले गरेको निर्णयअनुसार चालु आर्थिक वर्षको वैशाख महिनामा तलबको ५० प्रतिशत रकम तत्कालै दिनुपर्ने भएको हो । बाँकी ५० प्रतिशत तलबको रकम लकडाउन खुलेर स्थिति सहज भएपछि क्रमशः भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने निर्णय सरकारले गरेको छ ।
वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले कुनै संगठित संस्थालाई तलब भुक्तानी गर्न समस्या भएमा बैङ्क तथा वित्तीय संस्थामार्फत सहुलियत दरमा कर्जा उपलब्ध गराउने र त्यसका लागि राष्ट्र बैङ्कमार्फत पुनर्कर्जाको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।
उद्योग व्यवसायीहरूले वैशाखमा सरकारलाई ५० प्रतिशत मात्रै तलब दिने वा सरकार, कामदार र रोजगारदाताले सबैले ३३.३३ प्रतिशत ब्यहोर्ने प्रस्ताव गरेका थिए । तर, सरकारले तत्काल आधा मात्रै तलब दिएपनि ऋण सहायता लिएर भएपनि मजदुरलाई सम्पूर्ण तलब खुवाउन बाध्यकारी व्यवस्था गरेको हो ।
सरकारले पूर्ण रुपमा बन्द भएका पर्यटनसँग सम्बन्धित प्रतिष्ठानले दैनिक तथा मासिक ज्यालादारीमा काम गर्नेहरूलाई पनि वैशाख महिनाको तलबको ५० प्रतिशत तुरुन्त भुक्तानी गरेर बाँकी भुक्तानीका लागि बैङ्कबाट ऋण सुविधा लिन भनेको छ ।
सहुलियत कर्जा लिन इच्छुक प्रतिष्ठानहरुले २०७६ पौष महिनामा सम्बिन्धत आन्तरिक राजश्व कार्यालयमा पारिश्रमिक भुक्तानीको स्रोतमा कर कटि्ट गरेको अग्रिम करको विवरण पेश गर्नुपर्नेछ । त्यसका आधारमा तलब खुवाउन असमर्थ ठूला उद्योग प्रतिष्ठानलाई सुहलियत कर्जा दिइने भएको छ ।
यसैगरी सरकारले समाजिक सुरक्षा कोषमा वैशाख र जेठ महिनमा रोजगारदाताले जम्मा गर्नुपर्ने योगदान रकम असार मसान्तसम्म जम्मा गर्न समय दिने सुविधा पनि दिएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4