Comments Add Comment

विकास बोर्ड अध्यक्षका लागि भुवनदेखि सोहितसम्मको तयारी

गत मंसिरदेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि चलचित्रकर्मीहरूले आ-आफ्नो तर्फबाट तयारी सुरु गरेका छन्। मंसिर २९ गते बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधनपछि रिक्त रहेको बोर्डमा नयाँ नेतृत्वको लागि आवेदन आह्वान भएसँगै चलचित्रकर्मीहरू यसको तयारीमा जुटेका हुन् ।

नायक निखिल उप्रेतीले बोर्ड अध्यक्ष बन्नका लागि आन्तरिक तयारी गरिरहेको चर्चा छ। तर, निखिल मात्र होइन अन्य केही नाम चलेका कलाकारदेखि नयाँ पुस्ताका कलाकारसमेत बोर्ड अध्यक्ष बन्नका लागि दौडधुपमा छन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि नायक भुवन केसीले पनि तयारी गरिरहेका छन् । चलचित्र क्षेत्रको विकास र विस्तारका लागि आफू उल्लेखनीय काम गर्न सक्ने केसीले दाबी गर्दै आएका छन् । अहिले उनी चर्चित चलचित्रकर्मीको साथ पनि मागिरहेका छन् ।

यस्तै, नायक शिव श्रेष्ठको नाम पनि बोर्ड अध्यक्षका लागि चर्चामा छ । निर्देशक दयाराम दाहाल त बोर्ड अध्यक्ष बन्नका लागि लामो समयदेखि नै दौडधुपमै छन् ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा राम्रै सम्बन्ध रहेकाले पनि दयारामको सम्भावना पनि बलियो रहेको चलचित्रकर्मीहरू चर्चा गर्छन् । दाहालसँग चलचित्र विकास बोर्डको सदस्य पदमा रहेर काम गरिसकेको अनुभव  छ ।

कलाकार सोहित मानन्धर पनि बोर्ड अध्यक्ष बन्नका लागि दौडधुपमा छन् । अष्टनारायण हलका मालिक समेत रहेका सोहित बोर्ड अध्यक्षमा युवापुस्ता आउँदा नयाँ शैलीको काम हुने तर्क गर्छन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष पद केही समयदेखि रिक्त छ । नेपाल सरकारले केही दिन अगाडि मात्र बोर्ड अध्यक्ष बन्नका लागि आवेदन दिन सूचना जारी गरेको थियो ।

चलचित्र विकास बोर्डमा योग्यताका आधारमा भन्दा पनि राजनीतिक आस्था र शक्तिकेन्द्रसँग निकट भएको आधारमा अध्यक्ष नियुक्त हुने भएकाले पनि जसले बढी लबिङ गर्न सक्यो उसकै पल्ला भारी हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment