+
+

काठमाडौंको सडक विस्तार सुरु

रासस रासस
२०७७ वैशाख २२ गते १४:०८
फाइल तस्वीर

२२ वैशाख, काठमाडौं । कोभिड-१९ को जोखिम हुन नदिन जारी ‘लकडाउन’ पछि रोकिएका काठमाडौं उपत्यकाका विस्तारित सडक निर्माण सुरु भएको छ। कतिपय सडकमा कालोपत्र त कतिपयमा आवश्यक संरचना निर्माण थालिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

ढोहाहिटी-लेले, कर्मनासा खोला-गोदावरी कुण्ड, इमाडोल-लामाटार र जोरपाटी-सुन्दरीजल सडकमा निर्माण सुरु भएको हो। यी सडकमा रुख काट्ने, ह्विमपाइप हाल्ने, पर्खाल र पैदल यात्रु मार्ग निर्माणगायतका काम भइरहेको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए ।

चापागाउँ-ढोलाहिटी सडकमा दुईवटा ठेक्कामध्ये एउटामा काम भइरहेको र अर्कोमा नभएको आयोजनाले जनाएको छ । टाखेलबाट लेलेसम्मको खण्डमा अहिले आवश्यक पूर्वाधार निर्माण भइरहेको उनले बताए । यहाँ सडक निर्माणका लागि भित्ता खन्ने र आवश्यक स्थानमा पुर्ने काम भइरहेको छ । यो वर्ष लक्षित गरिएको जति भने गर्न नसकिने उनले बताए ।

सुन्दरीजल-जोरपाटी सडकमा दुईवटा ठेक्कामध्ये दुवैमा काम भइरहेको छ । यो सडकमा पनि संरचना निर्माणकै काम बढी भइरहेको छ ।

निर्माणाधीन इमाडोल-लामाटार सडकमा तीन ठेक्कामध्ये अहिले दुई ठेक्कामा काम भइरहेको छ । यो सडकमा पनि ह्विमपाइप बिच्छाउने काम भइरहेको छ भने गोदावरी सडकमा पैदलयात्रु मार्ग निर्माणकै काम भइरहेको छ ।

आयोजनाले चालु आवमा झण्डै आठ किमी सडक कालोपत्र र २५ किमी सडकमा पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको थियो । आंशिक रूपमा काम भइरहे पनि लक्ष्यअनुसार गर्न नसकिने आयोजनाको भनाइ छ ।

सरकारले ०७२ मा उपत्यकामा १० सडक विस्तार सुरु गरेको थियो । आयोजनाले काठमाडौंमा चार, ललितपुरमा पाँच र भक्तपुरमा एउटा सडक र दुई पुलको निर्माण सुरु गरेको थियो । तीमध्ये त्रिपुरेश्वर-कलंकी-नागढुङ्गा सडक निर्माण सम्पन्न भएर आवश्यक मर्मतको काम भइरहेको छ ।

चाबहिल-साँखु सडकमा पनि थोरै सडक मात्रै कालोपत्र बाँकी छ । निर्माणाधीन दुई पुलमध्ये बिजुलीबजारस्थित धोबीखोला पुल केही महिना पहिले नै निर्माण सम्पन्न भएर सञ्चालनमा छ भने तीनकुनेस्थित वाग्मती पुल अझै अलपत्र अवस्थामा छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?