
२२ वैशाख, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरोना भाइरस (कोभिड-१९) चिनियाँ प्रयोगशालामा बनेको ‘पर्याप्त प्रमाण’ रहेको दाबी गरेका छन् । आइतबार एक अन्तर्वार्तामा उनले यस्तो दाबी गरेका हुन् । यद्यपि, उनले आफ्नो आरोप पुष्टि गर्ने कुनै प्रमाण भने दिएका छैनन् ।
कोरोना भाइरसको उत्पत्तिलाई लिएर अमेरिका तथा चीनबीच आरोपप्रत्यारोप चलिरहेका बेला अमेरिकी विदेशमन्त्रीले पुनः चीनमाथि आरोप लगाएका हुन् ।
उत्कृष्ट विशेषज्ञहरूले यो भाइरस बनाएको र यसमा शंका गर्नुपर्ने कुनै कारण नभेटेको पोम्पेओको भनाइ छ ।
यसअघि गत बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो भाइरस चिनियाँ प्रयोगशालामा निर्माण गरिएको प्रमाण आफूहरूसँग रहेको बताएका थिए । चीन, डब्ल्यूएचओ र अन्य केही संक्रमक रोग विशेषज्ञहरूले यो भाइरस मानव निर्मित नरहेको बताइसकेका छन् ।
सन् २०१९ को अन्तिममा चीनको वुहानबाट निस्किएको कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म ११ लाख ५० हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ६७ हजारभन्दा बढीको मृत्यु भएको छ ।
स्रोत : द गार्जियन
प्रतिक्रिया 4