Comments Add Comment

वीरगञ्जमा संक्रमित भेटिए, संक्रमणको स्रोत भेटिएन

२२ वैशाख, वीरगञ्ज । तीन जना भारतीय नागरिक निको भएर डिस्चार्ज भइसके तर उनीहरूमा देखिएको कोरोना भाइरस (कोभिड-१९) को स्रोत पत्ता लागेको छैन ।

त्यसपछि एक सफाइकर्मीमा कोरोना देखियो । उनको कन्ट्याक ट्रेसिङ भइरहँदा आइतबार वीरगञ्ज–३ छपकैयाका ३६ वर्षीय युवकमा कोभिड-१९ संक्रमणको पुष्टि भयो ।

उनको ट्राभल हिस्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङ थालिएको छ । तर, संक्रमितको प्रत्यक्ष सम्पर्कमा पुगेको र संक्रमण फैलिएको ठाउँमा गएको ट्राभल हिस्ट्री नभएका कारण उनी कसरी संक्रमित भए भन्ने यकिन हुन सकेको छैन ।

यसअघि संक्रमण देखिएका सफाइकर्मी पनि वडा नं ३ कै हुन् तर उनीहरूबीच प्रत्यक्ष सम्पर्क भएको देखिँदैन । यद्यपि ३६ वर्षीय संक्रमित वडामा राहत वितरणसम्बन्धी छलफलका लागि आयोजना गरेको सर्वदलीय बैठक र वैशाख १० गते वडामा भएको राहत वितरण कार्यक्रममा सहभागी भएको खुलेको छ ।

वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले त्यसको पुष्टि गरेका हुन् । तर, संक्रमित सफाइकर्मी र उनको प्रत्यक्ष भेटघाट भए नभएको जानकारी नभएको बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त पनि संक्रमितको शंकास्पद ट्राभल हिस्ट्री नदेखिएको बताउँछिन् । ‘लकडाउन अघि कहिलेकाहीँ रक्सौल गएका रहेछन्, मस्जिद पनि जाने गरेका रहेछन् । लकडाउन सुरु भइसकेपछि सरसफाइकर्मी संक्रमितसँग राहत वितरण कार्यक्रममा भेट भएको तर प्रत्यक्ष होइन भन्ने छ’ उनले भनिन् ‘बाहिरको ट्राभल हिस्ट्री देखिएन ।’

ट्राभल हिस्ट्रीबारे थप बुझ्ने र कन्ट्याक्ट ट्रेसिङलाई निरन्तरता दिने उनले बताइन् । उनका अनुसार सोमबार संक्रमितको परिवारका सदस्य १७ जना, ससुरालीका १० जना र छरछिमेकका गरी ३२ जनाको थ्रोट स्वाब संकलनको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment