Comments Add Comment

कोरोना रोकथाममा खटिने कस्ता जनशक्तिलाई कति भत्ता ?

२२ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरसको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जोखिम भत्ता दिने नयाँ नियम ल्याएको छ ।

‘कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश (२०७७) मा कोरोना रोकथाम तथा उपचारमा खटिने कस्ता जनशक्तिलाई कति जोखिम भत्ता दिने उल्लेख गरिएको छ ।

सरकारले कोरोना उपचारमा संलग्न जनशक्ति, विमानस्थललगायतका विभिन्न ठाउँमा सञ्चालन गरेको हेल्थ डेस्कका जनशक्ति, क्वारेन्टाइनमा कार्यरत जनशक्ति, प्रयोगशालामा कार्यरत जनशक्ति र स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका कार्यरत जनशक्तिलाई जोखिम भत्ता दिने गरी आदेश ल्याएको छ ।

उक्त आदेशअनुसार संक्रमणको शंका लागी आइसोलेसनमा राखिएका वा संक्रमित बिरामीको उपचारमा प्रत्यक्ष संलग्न जनशक्तिले तलब स्केलको शत प्रतिशत भत्ता पाउनेछन् । त्यस्तै कोरोनाको शंकास्पद संक्रमित र संक्रमित बिरामीको नमुना संकलन गर्ने जनशक्तिले पनि शतप्रतिशत भत्ता पाउनेछन् ।

प्रयोगशालामा कार्यरत जनशक्तिमध्ये प्रत्यक्ष रुपमा परीक्षण तथा प्रमाणीकरणमा संलग्न जनशक्तिले पनि तलब स्केलको शतप्रतिशत भत्ता पाउने छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त आदेश आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

गत ९ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो ।

आदेशअनुसार कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोनाविरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलब्ध हुनेछ ।

हेर्नुहोस् आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment