Comments Add Comment

कोरोनाले बढ्यो अमेरिकाको खर्च, ३० खर्ब डलर ऋण आवश्यक

२३ वैशाख, काठमाडौं । अमेरिकाले सन् २०२० को दोस्रो त्रैमासमा ३० खर्ब डलरको ऋण जरुरी रहेको बताएको छ । कोरोना भाइरस (कोभिड-१९) सँग सम्बन्धित राहत प्याकेजले अमेरिकाको बजेट उल्लेख्य मात्रामा बढेसँगै उक्त ऋण आवश्यक देखिएको अमेरिकाको वाणिज्य मन्त्रालयले बताएको छ ।

अमेरिकाले दोस्रो त्रैमासको लागि दिन लागेको ऋण अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि अमेरिकालाई सन् २००८ को वित्तीय संकटमा सबैभन्दा बढी ऋण आवश्यक परेको थियो । यससँगै अमेरिकाको ऋण दुई सय ५० खर्बसम्म पुगेको छ । सन् २०१९ मा अमेरिकाले १२ खर्ब ८० अर्ब डलर ऋण लिएको थियो ।

स्वास्थ्य सेवा र प्रत्यक्षरुपमा मानिसहरूलाई राहत प्रदान गर्न अमेरिकाले ३० खर्ब डलरको राहत प्याकेजलाई अनुमति दिइसकेको छ । एक आकलनअनुसार यो राहत प्याकेज मुलुकको अर्थतन्त्रको १४ प्रतिशत हो । महामारी फैलिएसँगै अमेरिकाले कर उठाउने समयसीमा अप्रिल १५ बाट बढाउने निर्णय गरेको थियो । यसले सरकारलाई थप आर्थिक भार परेको हो ।

अमेरिकी संसदको बजेट कार्यालयले गतमहिना अमेरिकाको बजेट घाटा ३७ खर्ब डलरसम्म पुग्न सक्ने बताएको छ। साथै अमेरिकाको समग्र ऋण पनि अर्थतन्त्रको जीडीपीको एक सय प्रतिशतभन्दा बढी पुग्न सक्ने बताइएको छ ।

गतसाता अमेरिकी केन्द्रीय बैङ्क फेडेरल रिजर्वका अध्यक्ष जेरोम पावेलले लकडाउनको कारण धेरै मानिसको रोजगारी गुमेको कारण अहिले खर्च बढाउनु जरुरी रहेको बताएका थिए ।

अमेरिकालाई ऋण दिनेमा जापान, चीन र बेलायत सबैभन्दा अगाडि छन् । चीनसँगको तनावको कारण पछिल्लो समय अमेरिकाको ऋण लिने स्थिति प्रभावित बनेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment