Comments Add Comment

गोरखामा प्रहरीको भवन बनाउन कैलालीबाट २८ मजदुर ल्याइए

२३ वैशाख, गोरखा । जिल्ला प्रहरी कार्यालय भवन निर्माणको काम सुरु गर्न कैलालीबाट २८ जना मजदुरलाई गोरखा ल्याइएको छ । प्रशासन कार्यालयको समन्वयमा प्रहरीले उनीहरुलाई मंगलबार गोरखा ल्याएको हो ।

‘विकास निर्माणका काम सुचारु गर्ने भनेर सरकारले निर्णय गरिसकेको छ,’ एसपी ओमप्रसाद अधिकारीले भने, ‘केन्द्रले तोेकेको मापदण्ड भित्र रहेर काम गराउँछौं ।’ लकडाउनको समयमा कोरोना संक्रमणको जोखिम रहेको ठाउँबाट मजदुर ल्याएको भन्दै जिल्लावासीले असन्तुष्टि व्यक्त गरेका छन् ।

तर एसपी अधिकारीले ती मजदुरहरुलाई बाहिर निस्कन नदिइने बताए । ‘उनीहरुलाई निर्माण स्थल भित्रै क्याम्प खडा गरेर होम क्वारेन्टाइनको हिसाबले राख्छौ, खाद्यान्न लगायतका अन्य व्यक्तिगत प्रयोगको सामान पनि हामी भित्रै उपलब्ध गराउने व्यवस्था मिलाउँछौं,’ उनले भने । सामान्य स्वास्थ्यजाँच गराएर उनीहरुलाई जिल्ला ल्याइएको उनको भनाइ छ ।

भवन अभावमा कार्यालयभित्र खाने बस्ने ठाउँको समस्या भएको एसपी अधिकारीले बताए । ‘भएका पाँच वटा भवनहरु सबै भत्काएर नयाँ निर्माण सुरु हुँदै थियो, लकडाउनले गर्दा काम रोकियो, अहिले खाने बस्ने ठाउँको बिजोग छ, पुननिर्माणको काम चाँडै सके धेरै सहज हुन्छ,’ उनले भने ।

व्यारेक भवन समेत भत्काइएको हुदाँ अन्य सरकारी कार्यालयको भवनमा प्रहरी कर्मचारीहरु छरिएर सुत्नुपरेको उनले बताए । उनका अनुसार व्यक्तिको जग्गामा छाप्रो हालेर मेस चलाइएको छ । ‘डीएसपीको क्वाटरलाई हिरासत बनाएका छौ, पानी पर्दा झन् बिजोग भएर काम सुरु गर्न मजदुर ल्याएका हौं,’ उनले भने ।

ती मजदुरहरुको मंगलबार आरडीटी टेस्टबाट कोरोना परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘लकडाउन अघि उनीहरु प्रहरीकै भवन निर्माणको काममा थिए, घर गएर पनि उनीहरु होम क्वारेन्टाइनमै बसेका रहेछन्, कोरोना परीक्षण गरेर मात्र काममा लगाउँछौं,’ उनले भने । यसअघि पनि बिकास निर्माणको कामका लागी १६ जना मजदुर गोरखा ल्याइएको उनले बताए । उनीहरु मध्य ८ जना पाल्पा र ८ जना नुवाकोटका रहेका छन् । उनीहरुको पनि कोरोना परिक्षण नगरिएको प्रजिअ पौडेलले बताए ।

आफूहरुसँग लिखित सहमति नभइ सामान्य रुपमा मौखिक जानकारी गराएर मजदुर ल्याइएको गोरखाका नगर प्रमुख राजनराज पन्तले बताए । मजदुरहरुको आरडीटी टेस्ट र पीसीआर गराएर मात्र काममा लगाउन सुझाव दिएको उनले बताए । ‘यस्तो समयमा संक्रमण भएको जिल्लाबाट मजदुर ल्याएको भनेर बिरोधहरु आइरहेका छन्, आरडीटी टेस्ट गराएर काममा लागउन भनेका छौं, अहिले त्यही तयारी भइरहेको छ,’ उनले भने ।

फागुन महिनाबाट जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माण कार्य सुरु भएको हो । आउँदो फागुन मसान्तसम्ममा काम सक्नुपर्नेछ । कुल ८ करोड १ लाखमा पाँच वटा भवन निर्माणका लागी रोयल कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भएको एसपी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment