Comments Add Comment

क्वारेन्टाइनमा बसेकालाई कोरोना परीक्षणबिनै घर पठाइयो   

फाइल तस्वीर

२४ वैशाख, सुर्खेत । गत वैशाख १७ गते सुर्खेतको लेकबेँसी नगरपालिकाले जीवनज्योति मावि दशरथपुरमा सञ्चालित क्वारेन्टाइनमा राखिएका आठ जनालाई कोरोना परीक्षणबिनै घर पठाइएको छ । नगरपालिकासँग भाइरल ट्रान्सफर्म मिडियम (भीटीएम) तथा स्वाब परीक्षण गर्ने प्रोसेसिङ किट नहुँदा १४ दिन क्वारेन्टाइन बसेकाहरुलाई अन्ततः परीक्षणबिनै घर फर्काएको हो । नगरपालिकाले परीक्षणबिनै घर पठाएपछि उनीहरुले आपत्ति जनाएका छन् ।

आरडीटी परीक्षणका लागि नगरपालिकासँग पर्याप्त किट थिएन । नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी कर्ण आचार्यका अनुसार किट अभावले आठमध्ये दुई जनाको मात्र परीक्षण गरियो । ती दुईको नतिजा नेगेटिभ आएपछि नगरपालिकाले बाँकी छ जनालाई पनि कुनै सम्भावित सङ्क्रमण नदेखिएको अनुमानका भरमा क्वारेन्टाइनबाट बिदाइ गर्‍यो । जसले थप जोखिम निम्त्याउन सक्ने चिन्ता गरिएको छ ।

स्वास्थ्यकर्मी आचार्यले किट आएपछि परीक्षण गर्ने शर्तमा घर पठाइएको बताए । सोही दिन सुर्खेतकै भेरीगङ्गा नगरपालिकाले पनि नौ जनालाई त्यसैगरी घर पठायो । नगर स्वास्थ्य संयोजक राजेश बुढाले सिन्धुपाल्चोकबाट आएका नौमध्ये एक जनाको मात्रै आरडीटी परीक्षण गरिएको बताए । ‘किट अभावका कारण एक जनाको मात्र जाँच गरेर घर पठाउनुपर्‍यो, जिल्ला स्वास्थ्य र प्रदेश सरकारसँग आग्रह गर्दासमेत पाइएन,’ उनले भने, ‘किटकै पर्खाइमा क्वारेन्टाइन अवधि पूरा भएकालाई समेत घर पठाउन सकेका छैनौँ ।’

आरडीटी किट अभावका कारण सुर्खेतमा एक सातादेखि कोरोना परीक्षण हुनसकेको छैन । तत्काल किट आउने सम्भावना नभएपछि क्वारेन्टाइनमा बसेकाहरुको सामूहिक नमुना परीक्षण गरेर घर पठाउनुपर्ने बाध्यता भएको स्वास्थ्यकर्मीको भनाइ छ । प्रदेश स्वास्थ्य निर्देशनालयले किट नआउँदासम्म ‘ग्रुप टेस्ट’ गर्नुको विकल्प नभएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment